बैतडीमा सबै दलले टुंग्याए उम्मेदवार

कांग्रेस, एमाले, नेकपा, रास्वपालगायत दलहरुले उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

माघ ५, २०८२

मोहन चन्द

All parties finalize candidates in Baitadi

बैतडी — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा सबै दलले उम्मेदवारी टुंग्याएका छन्।

एमाले बैतडीले दामोदर भण्डारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। भण्डारी २०७० को संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भइ चौथो पटकको उम्मेदवार हुन लागेका हुन्। उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन्।

कांग्रेसले जिल्ला सभापति तथा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। जिल्लाबाट एकल सिफरिस भएका सभापति चन्द प्रतिनिधिसभाको टिकट ल्याएर आइसकेको कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका भट्ट एमाले बैतडीका संस्थापक नेता पनि हुन् । एमालेबाट छुट्टिएपछि उनी एकीकृत समाजवादीमा आवद्ध थिए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीलाई उम्मेदवार बनाइएको छ । भण्डारी २०७४ मा कांग्रेसबाट र २०७९ मा स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचन लडेका हुन् । यी दुवै  निर्वाचनमा भण्डारी पराजित भएका थिए । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully