रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट उम्मेदवार बन्दै

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग छलफल गरेपछि आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको सुधनले बताए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Sudhan Gurung, who has joined the Rashtriya Swayamsevak Sangh (RSS), is running as a candidate from Gorkha 1.

काठमाडौँ — जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आइतबार रास्वपा केन्द्रीय कार्यालय पुगेर गुरुङ पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेको बताउँदै सुधनले गोरखाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताएका छन् । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग छलफल गरेपछि आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको सुधनले बताए । 'आज रास्वपामा प्रवेश गरेँ । रास्वपाको टिकटमा गोरखा १ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार हुन्छु,' गुरुङले भने 'निर्वाचन तयारी थालिसकेँ । गोरखा निर्वाचन क्षेत्रमा जाँदैछु ।'

गुरुङ हामी नेपाल एनजीओको संस्थापक हुन् । उनी भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा सहभागी थिए । त्यसपछि सरकार गठन लगायतका गतिविधिमा पनि उनी संलग्न थिए । 

त्यसपछि रास्वपासँग बालेन्द्र शाह र कुलमान घिसिङलाई एकता गराउन पनि भूमिका खेलेका थिए । आइतबार बालेन्द्र शाहलाई रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा सुधनले नै गाडीमा राखेर गएका थिए ।

सुधन गोरखा जिल्लाका स्थानीय हुन् । उनी आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका हुन् ।

कान्तिपुर

Link copied successfully