सबै कांग्रेस कार्यकर्तालाई समेटेर जानेछौँ : गगन थापा

पार्टी महाधिवेशनमा नेताले निर्वाचनपछि देउवाको आशीर्वाद लिने बताउँदै सत्य, संविधान र कानुनको पक्षमा कांग्रेस रहेको स्पष्ट पारे।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

We will include all Congress workers: Gagan Thapa

काठमाडौँ — नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गरी सबै कांग्रेस कार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले धैर्यताका साथ पार्टीलाई अघि बढाइने स्पष्ट पारे । आफू सत्यताको पक्षमा उभिएकाले निर्वाचन आयोग, संविधान र कानुनले यही कांग्रेसलाई आधिकारिक रूपमा चिन्ने उनको भनाइ थियो ।

उनले भने, 'सत्यको पक्षमा उभिने कांग्रेस यही हो । हामी कोहीसँग डराउनु हुँदैन । नेपाली कांग्रेस र हामीले आफ्नै मर्यादा कायम राख्नुपर्छ । सामाजिक सञ्जालमा कसैप्रति नकारात्मक टिप्पणी नगर्नुहोला ।'

निर्वाचनपछि पार्टी एकताको सन्देश दिँदै थापाले भने, 'निर्वाचन सकिएपछि शेरबहादुर देउवाको आशीर्वाद लिन जानु नै छ ।'

उनले संस्थापन पक्षले कांग्रेसका कार्यकर्तालाई अलमल्याउन नसक्ने दाबी पनि गरे ।

'हामीलाई हलमा अल्झाएर निर्वाचन आयोग गएर देशभरिका कार्यकर्तालाई अलमल्याउने प्रयास सफल हुँदैन,' उनले भने, 'सबै साथीहरूलाई धैर्यता राख्न आग्रह गर्दछु ।'

कान्तिपुर संवाददाता

Link copied successfully