महाधिवेशन कार्यविधिमा केन्द्रीय कार्यसमिति भंग गर्ने र नयाँ कार्यसमिति चयन गर्ने लगायत प्रस्ताव पेस हुने उल्लेख छ।
What you should know
काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत अहिले भृकुटीमण्डपस्थित हलमा बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेस गरेका छन् भने अर्का महामन्त्री थापाले पनि प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
बन्दसत्रले पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ। जसमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन लगायतका व्यवस्था छन्।
उक्त कार्यविधिमा उल्लेख भएअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्नेछन्। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ को निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ।
कतिपय नेताहरूले विशेष महाधिवेशनमा नीतिबारे मात्रै छलफल हुने जनाइरहेका बेला महाधिवेशनको हलमा प्रस्तुत कार्यविधिले भने नयाँ नेतृत्वको चयनको बाटो खुलाएको हो । एक नेताका अनुसार बन्दसत्र जारी रहँदा पार्टीमा नेताहरूबीच संवाद र सहमतिको प्रयास नभए महाधिवेशन नयाँ कार्यसमिति चयनको बाटोमा अघि बढ्नेछ।
'संवादको प्रयास भएन । हामी बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागलाई सुनुवाई नगर्दा यो अवस्था आएको हो,' ती नेताले भने। बन्द सत्र चलिरहँदा पार्टी नेतृत्वले सहमतिको मध्यमार्गी प्रस्ताव नल्याए आफूहरू विधानको व्यवस्थाबमोजिम अघि बढ्ने बताए।
यता पार्टीका प्रवक्ता प्रकाशसरण महतले अब संवाद र सहमतिको बाटो कमजोर बन्दै गएको बताएका छन्। उनले अवैधानिक रुपमा बोलाइएको विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएका केन्द्रीय समिति भंग गर्ने, अर्को निर्वाचन गर्ने जस्ता प्रस्तावले पार्टीमा एकता, संवाद र सहमतिको बाटोलाई कमजोर बनाएको बताए ।
केहीबेरअघि कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'पार्टी सभापति र कार्यवाहक सभापतिले समझदारी जुटाउन पहल गरिरहनुभएको छ। यस्तो बेलामा उहाँहरूले अवैधानिक रुपमा बोलाइएको भेलामा केन्द्रीय समिति भंग गर्ने, नयाँ निर्वाचन गर्ने जस्ता प्रस्ताव लगेपछि त्यसले संवाद र सहमतिको बाटोलाई कमजोर बनाउँदै लगेको छ । उहाँहरू नै विभाजनको बाटोमा अघि बढेको अवस्थामा संवाद र सहमतिको अर्थ रहँदैन ।'
बन्दसत्र अन्तर्गत महामन्त्रीहरूले प्रतिवेदन पेस गरिसकेपछि समूहगत छलफल गर्ने कार्यसूची छ। त्यसपछि टोली नेताहरूले समूहको निष्कर्षमा हलमा सुनाउनेछन्। त्यसपछि नयाँ नेतृत्व चयन गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्ने नेताहरुको भनाइ छ।
विशेष महाधिवेशनका लागि मंगलबारसम्म हल बुक गरिएको छ ।
