विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएका केन्द्रीय समिति भंग गर्ने, अर्को निर्वाचन गर्नेजस्ता प्रस्तावले पार्टीमा एकता, संवाद र सहमतिको बाटोलाई कमजोर बनाएको उनको भनाइ छ ।
काठमाडौँ — कांग्रेस प्रवक्ता प्रकाशसरण महतले पार्टीमा संवाद र सहमतिको बाटो कमजोर बन्दै गएको बताएका छन् ।
उनले अवैधानिक रुपमा बोलाइएको विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएका केन्द्रीय समिति भंग गर्ने, अर्को निर्वाचन गर्ने जस्ता प्रस्तावले पार्टीमा एकता, संवाद र सहमतिको बाटोलाई कमजोर बनाएको बताए ।
केहीबेरअघि कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'पार्टी सभापति र कार्यवाहक सभापतिले समझदारी जुटाउन पहल गरिरहनुभएको छ। यस्तो बेलामा उहाँहरूले अवैधानिक रुपमा बोलाइएको भेलामा केन्द्रीय समिति भंग गर्ने, नयाँ निर्वाचन गर्ने जस्ता प्रस्ताव लगेपछि त्यसले संवाद र सहमतिको बाटोलाई कमजोर बनाउँदै लगेको छ,' उनले भने, 'उहाँहरू नै विभाजनको बाटोमा अघि बढेको अवस्थामा संवाद र सहमतिको अर्थ रहँदैन ।'
उनले विधानले केन्द्रीय कार्यसमितिले मात्रै विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको र केन्द्रीय कार्यसमितिले तत्काल विशेष महाधिवेशन नबोलाउने निर्णय गरेर नै नियमित महाधिवेशनको मिति तोकिएको दाबी गरे।
'उहाँहरूले बहुमतको कुरा गर्नुभएको छ। तर त्यसको आधिकारिकता पुष्टि भएको छैन। बहुमत भन्दैमा बहुमत भइहाल्ने होइन,' उनको भनाइ छ।
उनका अनुसार सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवादको विषयका सन्दर्भमा निरन्तर पहल गरिरहेका थिए। देउवाले सोमबार बिहान आफ्नो समूहका शीर्ष नेताहरूसँग छलफल गरेका थिए भने नेता शेखर कोइरालासँग पनि संवाद गरेका थिए ।
