शर्माको प्रतिवेदनमा युवा असन्तोष, जेनजी आन्दोलन, सुशासन र कांग्रेसको पुनर्निर्माणका लागि सोच, कार्यशैली र राजनीतिक संस्कारमा आमूल परिवर्तनको आवश्यकता औंल्याइएको छ ।
What you should know
काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनमा पेस गरेको प्रतिवेदनले कांग्रेसको वर्तमान अवस्था, जनआक्रोशको कारण र भावी राजनीतिक यात्राका लागि आवश्यक दिशानिर्देश अघि सारेको छ ।
प्रतिवेदनमा युवा–केन्द्रित असन्तोष र जेनजी आन्दोलनलाई गम्भीरतापूर्वक समीक्षा गरिएको छ । जनआक्रोश बाहिरी शक्ति वा अचानक उत्पन्न घटना नभई राजनीतिक, आर्थिक, सामाजिक र शासकीय कमजोरीको उपज भएको निष्कर्ष निकालिएको छ । कांग्रेसले नागरिकको असन्तुष्टि समयमै चिन्न र सम्बोधन गर्न नसकेको स्वीकार गर्दै त्यसबाट पाठ सिक्नुपर्ने उल्लेख छ ।
महामन्त्री शर्माले कांग्रेसलाई पुनर्निर्माण र पुनःपरिचय गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । पुरानै नाम, झण्डा र चिह्न कायम राख्दै सोच, कार्यशैली र राजनीतिक संस्कारमा नवीनता ल्याउनुपर्ने उनको जोड छ । ‘पुराना बानीले नयाँ भविष्य बनाउन सकिँदैन’ भन्ने सन्देशमार्फत आत्मपरिवर्तन अपरिहार्य भएको प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदनमा पछिल्ला वर्षहरूमा सरकार परिवर्तनको निरन्तरता, नीतिगत अस्थिरता, भ्रष्टाचार, प्रशासनिक झन्झट र आर्थिक सुस्तताले जनविश्वास कमजोर बनाएको उल्लेख छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र संघीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई स्पष्ट रूपमा सूचीबद्ध गर्दै सुशासनबिना समुन्नति सम्भव छैन भन्ने निष्कर्ष निकालिएको छ ।
कांग्रेस नेतृत्वमा बनेका सरकारले कानुन र संस्था निर्माण गरे पनि कार्यान्वयन कमजोर भएको स्वीकार गर्दै अब योग्यता, पारदर्शिता र प्रतिस्पर्धामा आधारित नियुक्ति प्रणाली लागू गर्नुपर्ने प्रतिवेदनको प्रस्ताव छ । संवैधानिक निकाय, नियामक संस्था र कूटनीतिक नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनले नेपाली कांग्रेसका ऐतिहासिक उपलब्धिहरू—लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापना—स्मरण गर्दै ती उपलब्धिलाई वर्तमान सन्दर्भमा सुदृढ बनाउने जिम्मेवारी पार्टीकै काँधमा रहेको उल्लेख गरेको छ । विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर नपार्ने र समकालीन असन्तोषलाई सम्बोधन गर्ने सन्तुलित मार्ग कांग्रेसले लिनुपर्ने निष्कर्ष निकालिएको छ ।
