कांग्रेस विशेष महाधिवेशन : बन्द सत्रसहित आजको कार्यतालिका
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको हो।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुनेछ। आजको बन्द सत्रको सुरुवातमा विशेष महाधिवेशनको कार्यविधि निर्माण गर्ने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरी चार वटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पनि बृहत् छलफल हुनेछ। यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताए।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकाले मतदान गर्न नपर्ने पोखरेलको धारणा छ। यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकाले उनीहरू बिहान ८ बजेदेखि सुरु भएको दर्ता प्रक्रियामा सहभागी भएका हुन्। उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको हो।
सम्बन्धित समाचार
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि, वैधानिक संकटमा सभापति देउवा
