कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेपछि पार्टी विधानको धारा १७ (२) बमोजिम आह्वान गरिएको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ, संस्थापन पक्षले प्रतिनिधिलाई रोक्न निकै कोसिस गरे पनि आइतबार साँझसम्म ५६.१२ प्रतिशत प्रतिनिधि उद्घाटन सत्रमा उपस्थित भए, जसमा संस्थापनका कतिपय नेतासमेत विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
What you should know
काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशनमा संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका नेताहरूदेखि पुराना नेताहरू पनि खुलेर लागेका छन् । संस्थापनपक्षले महाधिवेशनका लागि काठमाडौं नआउन दबाब दिँदै आए पनि जिल्लाजिल्लाबाट बहुमत (आइतबार साँझसम्म ५६.१२ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
विशेष महाधिवेशनमा सहभागी हुनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकट भनिएकाहरू मात्र छैनन्, पुराना नेतादेखि संस्थापन र कतै पनि नखुलेका शेखर कोइराला पक्षका नेताहरू पनि सहभागी भएका छन् । सभापति देउवाले नियमित महाधिवेशन नगरेपछि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित माग गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको आह्वान गरेका थिए । सभापतिसहित संस्थापन समूहका नेताले विशेष महाधिवेशन गर्न नखोजेपछि महामन्त्रीद्वयले नै आह्वान गरेर नयाँ रूपमा अघि बढ्न खोजेपछि संस्थापन पक्षले प्रतिनिधिहरूलाई रोक्न निकै कोसिस गरेको थियो ।
महाधिवेशनमा खुल्ने संस्थापनका नेताहरूमध्ये एक हुन्, फरमुल्लाह मन्सुर । २०७८ पुसमा भएको कांग्रेसको महाधिवेशनमा उनी सभापति देउवाको कोटाबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी लामो समयदेखि सभापति देउवाको खेमामा रहँदै आएका थिए । तर आइतबार उनी विशेष महाधिवेशनमा खुलेनन् मात्र, कांग्रेस अब गगन र विश्वप्रकाशको युगमा प्रवेश गरेको दाबी गरे । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै फरमुल्लाहले जेन–जी विद्रोहपछिको स्थितिलाई अब दुई महामन्त्रीले पूरा गर्ने पनि बताए । आन्दोलनपछि आफूहरूले सभापतिलाई सम्झाउन खोजे पनि सम्भव नभएको भन्दै उनले थपे, ‘सभापतिलाई अझै अवसर छ, बन्दसत्रमा आएर नयाँ उचाइ हासिल गर्न आग्रह गर्छु ।’
मन्सुरमात्र होइन, विशेष महाधिवेशनका पक्षमा उदयशमशेर राणा पनि उभिए । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित उनी पनि देउवानिकट नेताका रूपमा परिचित थिए । तर उनले आइतबार भृकुटीमण्डपमा उपस्थित भएर जारी विशेष महाधिवेशन नै अहिलेको आवश्यकता भएको बताए । संस्थापननिकट अर्जुन जोशी, राजन केसी, नानु बाँस्तोला, पुष्पा भुसाल, हृदयराम थानी, डिला संग्रौला र चतुरबहादुर चन्द पनि विशेष महाधिवेशनमा सहभागी भए ।
त्यस्तै, कुनै समय देउवाकै कोटाबाट लेखा समितिको सभापतिसमेत भएका भरत शाह पनि खुलेरै विशेष महाधिवेशनको पक्षमा देखिए । रूपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दै आएका पूर्वअर्थराज्यमन्त्री समेत रहेका शाह यस पटक पनि संस्थापनबाट प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका थिए । तर उनी सभापति देउवालाई छोडेर विशेष महाधिवेशनका पक्षमा खुलेका छन् ।
देउवाको गृहजिल्लामै असन्तुष्टि
कांग्रेसको विशेष महाधिवेशनका लागि सभापति देउवाको गृहजिल्ला डडेलधुराबाट समेत प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । महाधिवेशन प्रतिनिधि जनकराज चटौतसहित सम्पन्नराज भट्ट र मनकुमारी थापा पनि डडेलधुराबाट विशेष महाधिवेशनमा सहभागी भएका छन् । डडेलधुराबाट सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधि रहे पनि विशेष महाधिवेशनका लागि आइतबार तीन जना मात्र काठमाडौं आइपुगे पनि अझै ३–४ जना थपिन सक्ने बताइएको छ ।
पार्टीभित्र आन्तरिक रूपान्तरणको आवश्यकता तीव्र रूपमा महसुस भइरहेको भन्दै चटौतले सुरुमा आफू एक्लै विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आएको दाबी गरे । ‘अहिलेसम्म तीन जना सहभागी भइसकेका छौं । अझै ३–४ जना आउनुहुन्छ । तर उहाँहरूको नाम अहिले नै नखुलाऔं, एक किसिमको दबाब छ,’ चटौतले भने ।
शेखर खुलेनन् तर उनी पक्षका नेता खुले
अघिल्लो महाधिवेशनमा गगन पक्षको सभापतिका उम्मेदवार शेखर कोइराला यस पटक कतै पनि खुल्न सकेनन् । सभापतिमा देउवासँग पराजित भएपछि शेखर–गगन समूह भनेर संस्थापनसँग लड्दै आएका थिए । तर विशेष महाधिवेशनमा भने उनले आफूलाई कतै उभ्याउन सकेनन् ।
उनले केही दिनदेखि दुवै पक्षलाई मिलाउन सभापति देउवासँग निरन्तर संवादमा रहे पनि आफू भने कतै खुलेनन् । आइतबार जारी गरेको भिडियो सन्देशमा पनि उनले कसैको पक्षधरता लिएनन् । उनले विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको दाबी गरे । उनले कांग्रेसमा कतैबाट विभाजनको प्राविधिक वा भावनात्मक सन्देश प्रवाह नहोस् भन्दै आफ्नो मत राखे पनि कुनै पक्षमा खुलेनन् ।
तर शेखरनिकट केही नेताहरू भने विशेष महाधिवेशनमा पुगेर सम्बोधन नै गरे । जसमा एक हुन्, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की । उनी शेखरकै कोटामा मुख्यमन्त्री भएका थिए । तर यस पटक कार्कीले आफूलाई अलग कित्तामा उभ्याए । त्यस्तै, नवलपरासीबाट निर्वाचित उद्योगी विनोद चौधरीले पनि विशेष महाधिवेशनस्थलमा पुगेर सम्बोधन गरेका छन् । उनी विगतमा संस्थापन र कोइराला दुवै निकट मानिन्थे । त्यस्तै, शेखरनिकट मानिने मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सुनिल शर्मा पनि खुलेर विशेष महाधिवेशनको पक्षमा उभिए । लामो समयदेखि कोइराला खेमामा रहँदै आएका गुल्मी–१ बाट निर्वाचित चन्द्र भण्डारी पनि विशेष महाधिवेशनकै पक्षमा खुलेका छन् ।
कसले के भने ?
२०५९ मा शेरबहादुर देउवाले कांग्रेस विभाजन गर्दा उनलाई साथ दिएका नेता गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा उभिन आइपुगेका छन् । ‘यहाँ कसैले हठ गरिराख्न हुँदैन । विधि र विधानअनुसार अगाडि बढ्न दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ,’ विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले थपे, ‘विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ पार्टीलाई एकताबद्ध गर्नका लागि विशेष महाधिवेशनले गर्ने निर्णय सभापति देउवाले कार्यान्वयन गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । यसअघि नै उनले विगतमा देउवालाई साथ दिएकोमा अहिले पश्चाताप लागिरहेको बताइसकेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले उद्घाटन गरेको विशेष महाधिवेशनमा देउवा पक्षमा रहँदै आएकी नेतृ पुष्पा भुसाल पनि सामेल भइन् । पार्टीलाई थप कमजोर हुन नदिनका लागि विशेष महाधिवेशन आह्वान गरिएको तर्क गर्दै उनले थपिन्, ‘कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ । कांग्रेसको यो कुरुक्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौं, हामी कृपा मान्दैनौं । हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौं ।’ उनले कांग्रेसलाई अब वाम गठबन्धनबाट मुक्त गराउनुपर्ने धारणा राख्दै नेपाली जनताको कांग्रेस बन्नुपर्ने बताइन् । भनिन्, ‘कांग्रेसलाई अब दुबो जस्तै फैलिने पार्टी बनाउन यो महाधिवेशनले ऊर्जा दिन जरुरी छ ।’
उद्योगपति तथा केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वयले सुरुवात गरेको पार्टी रूपान्तरणको यात्रालाई निर्णायक ठाउँमा पुर्याउन आग्रह गरे । थापा र शर्माको नेतृत्वमा कांग्रेसले नेपाललाई विकासको खुड्किलोमा पुर्याउनुपर्ने चौधरीको भनाइ थियो । ‘कांग्रेस कमसेकम जेन–जीका भावना बोकेको पार्टीका रूपमा उभिन चाहन्छ । यो पार्टीले राजनीति पेसा हैन, समाजका लागि रूपान्तरण गर्ने महत्त्वपूर्ण प्लाटफर्म हो भन्नेलाई खुला हृदयले भित्र्याउन चाहन्छ,’ चौधरीले भने, ‘कांग्रेसले राजनीतिको रूपान्तरण मात्र गर्दैन, देशै रूपान्तरण गर्छ ।’
शेखर पक्षका नेता सुनिल शर्माले पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरे । ‘यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केगाडदेखि सोलुखुम्बुको गाउँबाट आएका यी प्रतिनिधि अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ?,’ उनले सभापति देउवालाई प्रश्न गरे । उनले पार्टीको तल्लो तहका सामान्य क्रियाशील सदस्यदेखि केन्द्रीय नेता र महामन्त्रीसम्मको भावनालाई नेतृत्वले उपेक्षा गरेको बताए । ‘यी मासुम अनुहारहरूले के भन्छन् ? सामान्य कार्यकर्तादेखि महामन्त्रीसम्मका यी अनुहार देख्दा तपाईंहरूलाई कस्तो लाग्छ ?’ उनले नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाए ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहेका कांग्रेस बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि कांग्रेस ‘कोमा’मा रहेको टिप्पणी गरे । ‘झन्डै चार महिना कांग्रेस कोमामा थियो । कोमामा रहेका कांग्रेसीलाई वायु दिएर जस–जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो, सबैलाई सम्मान गर्दछु । अब कांग्रेस यो देशको अभिभावक पार्टी बन्दै छ । इतिहासमा सधैं यो देशलाई अभिभावकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो । त्यसलाई लयमा फर्काउने अभियानका अभियन्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहन्छु,’ चन्दले थपे, ‘देशले ठूलो परिवर्तन खोजेको छ । अन्य दुई ठूला दलहरूले परिवर्तनको आवाज दिन सकेनन् । समयसापेक्ष मुलुकलाई अगाडि बढाउन कांग्रेसले मात्र सक्छ भन्ने अठोट र विश्वासका साथ हामी यहाँ आएका छौं ।’
नेता महेश आचार्यले पार्टीमा नयाँ पुस्ताको उदयलाई स्वाभाविक र स्वागतयोग्य प्रक्रियाका रूपमा चित्रण गरे । उनले महामन्त्रीद्वय थापा र शर्मालाई ‘भोलिको कांग्रेस’को संज्ञा दिए । भने, ‘मेरो शुभकामना छ– दुई महामन्त्रीलाई, उहाँहरू भोलिका कांग्रेस हुन् । शेरबहादुरजी र उहाँको पुस्ता हिजोका कांग्रेस हुन् । हिजोको कांग्रेसलाई पनि मेरो सम्मान छ ।’ देशभरबाट आएका कार्यकर्ताहरूको उपस्थितिलाई नयाँ नेतृत्वप्रतिको आशाका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताए । उनले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले गरेका कमजोरी र समस्याहरूको पहिचान गरेर आगामी दिनमा त्यस्तो हुन दिँदैनौं भन्ने संकल्प गरेर २१ फागुनको निर्वाचनमा जानका लागि हामीले विशेष महाधिवेशन बोलाएका हौं,’ उनले भने । शर्माले २३ र २४ भदौमा भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताए ।
त्यस्तै कांग्रेसमा महाधिवेशन नै सबैभन्दा ठूलो भएको बताउँदै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता, नीति र विधान बदल्न सक्ने बताए । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हलले गरेको निर्णय मानेर अघि बढ्नुपर्ने पनि बताए । ‘कांग्रेसमा महाधिवेशनभन्दा ठूलो केही पनि छैन । महाधिवेशनले चाह्यो भने नेता छान्छ र नेता बदल्छ । महाधिवेशनले चाह्यो भने नीति छान्छ र नीति बदल्छ, महाधिवेशनले चाह्यो भने विधान बदल्छ,’ थापाले भने । पार्टीको विशेष महाधिवेशनको नेतृत्व लोभ र लालच लिएर नगरेको पनि उनको भनाइ थियो ।
महामन्त्री थापाले सभापति देउवालगायतका नेताहरूलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन् । उनले विशेष महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई पनि आग्रह गरेका छन्, ‘भोलिको समय छ, ठन्डा दिमागले सोचौं । पार्टीका नेताहरू भोलिको कार्यक्रममा आउनुहुन्छ भन्ने अपेक्षा गर्छौं । आउने नआउने उहाँहरूको मर्जी । निर्णय गर्ने तपाईं (महाधिवेशन प्रतिनिधि) हरूको मर्जी ।’ पार्टीलाई ठीक ठाउँमा ल्याउनका लागि अहिले विशेष महाधिवेशनको आयोजना गरेको थापाले बताए । ‘पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि हामी हार्न तयार छौं । कांग्रेस ठीक भएमा देश ठीक ठाउँमा उभिन्छ,’ उनले थपे । थापाले कांग्रेसभित्र कुनै ‘बा’ नभएको र त्यसले नबोल भन्दैमा बोल्न छोड्नुपर्ने कोही पनि नभएको बताएका छन् ।
विशेष महाधिवेशनमा बोल्दै महामन्त्री थापाले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदा मान्छेको पार्टी हो ।’ उनले कांग्रेसमा कुनै प्रश्न नमरेको जिकिर गर्दै थपे, ‘जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा पनि प्रश्न गर्न सक्दैन ।’ उनले पार्टीमा कोही मालिक र कोही दास नभएको भन्दै सबै बराबर भएको बताए । उनले यो पार्टीभित्रको संघर्ष भएको पनि बताए ।
