कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधिको नाम दर्ता, छ स्थानबाट जुलुस निकालिँदै

काठमाडौँका विभिन्न ६ स्थानबाट निस्किने जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि दिउँसो १ बजेपछि औपचारिक उद्‌घाटन कार्यक्रम सुरू हुनेछ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Congress Special General Convention: Names of delegates registered at Bhrikuti Mandap, processions being taken out from six locations

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । केहीबेर अघिदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ भने विशेष महाधिवेशनको उद्‌घाटन सत्रअघि काठमाडौँका विभिन्न ६ स्थानबाट र्‍याली निकालिँदै छ।

उद्‌घाटनसत्र दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन आयोजक समितिका अनुसार उद्‌घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्‌घाटन कार्यक्रम सुरू हुनेछ।

उद्‌घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

यस्तो छ जुलुस निस्कने रुटः

रुट नम्बर १

जम्मा हुने स्थान : सुन्धारा

सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन्। काठमाडौँ निर्वाचन क्षेत्र ८,९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर २

जम्मा हुने स्थान : रत्नपार्क

नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौँको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता रत्नपार्कको जुलुसमा सहभागी हुनेछन्। यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशन स्थल पुग्नेछ।

रुट नम्बर ३

जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस

बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता यस रुटमा सहभागी हुनेछन्। काठमाडौँका क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा रहने छन् । जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ४

जम्मा हुने स्थान : शंकरदेव क्याम्पस

भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौँ निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता यस जुलुसमा सहभागी हुनेछन्।

यो जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ।

रुट नम्बर ५

जम्मा हुने स्थान : कमलपोखरी

काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भएर चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन्।

रुट नम्बर ६

जम्मा हुने स्थान : कुपण्डोल

ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।

विशेष महाधिवेशन

कान्तिपुर

Link copied successfully