पूर्वउपसभापति विमलेन्द्र निधि भन्छन्- केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाएन भनेपछि बोलाएन, बोलाउने नबोलाउने अधिकार केन्द्रीय समितिको हो ।महामन्त्रीहरूले केन्द्रीय समितिको निर्णयलाई पालना गर्नुपर्छ, तथाकथित विशेष महाधिवेशन स्थगित गर्नुपर्छ।
What you should know
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित माग गर्दा पनि संस्थापनले विशेष महाधिवेशन नबोलाएपछि कांग्रेस यतिबेला द्वन्द्वमा फसेको छ । महामन्त्रीद्वयको अग्रसरतामा आइतबारबाट दोस्रो विशेष महाधिवेशन सुरु हुँदै छ । तर, सभापति र उनी पक्षधरका नेताहरूले यसको वैधानिकतालाई चुनौती दिएका छन् ।
विशेष महाधिवेशनले के गर्ला र सभापति पक्षका नेताहरूको भूमिका कस्तो रहला भन्ने प्रश्न छ । यसै सन्दर्भमा पूर्वउपसभापति विमलेन्द्र निधिसँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपाने र राजेश मिश्रले गरेको कुराकानी :
कांग्रेस विषम परिस्थितिमा देखिन्छ । यस्तो अवस्था कसरी आइपुग्यो ?
महामन्त्रीद्वयले आह्वान गरेर विशेष महाधिवेशन बोलाउनका लागि हस्ताक्षर अभियान चलाए । त्यसपछि विशेष महाधिवेशनको आयोजना गर्ने भनेर तम्सिएका छन् । त्यसैले विषम परिस्थिति आएको हो । २३ र २४ भदौको राजनीतिक दुर्घटनापछि एउटा विषम परिस्थिति देशकै अगाडि आएको हो । त्यसपछि पार्टीका लागि ल्याइयो । विशेष महधिवेशनको आयोजना अराजनीतिक र असान्दर्भिकका कारणले भयो । यो पार्टीको विधानअनुसार छैन ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पनि छैन । नियमित महाधिवेशनका लागि दोस्रो पटक कार्यतालिका आएको छ । पहिला पुसको मिति ल्याइयो । अहिले २८–३१ वैशाख २०८३ का लागि निर्धारित छ । नियमित महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले तय गरिसकेको छ । त्यसको बाबजुद विशेष महाधिवेशन गराउनैपर्छ भन्ने हठ लिएर गराउन खोजिएको छ । त्यसले पार्टीमा विषम परिस्थितिको निर्माण गरेको हो । यसका लागि महामन्त्रीद्वयको सबैभन्दा बढी जिम्मेवारी देख्छु । उनीहरूकै कारणले पार्टीभित्र विषम परिस्थिति सिर्जना भएको हो ।
विशेष महाधिवेशनको व्यवस्था पार्टीकै विधानमा छ । त्यसलाई बोलाउनु अराजनीतिक वा विधानविपरीत कसरी हुन्छ ?
यो अराजनीतिक नै हो । पार्टीको कुनै पनि संगठनका पदाधिकारीले समग्र पार्टीको नेतृत्वमा पुग्ने आकांक्षा राख्नु ठूलो कुरा होइन । सामान्य नै हो । तर, त्यसका लागि एउटा प्रक्रिया हुन्छ । त्यसको चयनका लागि केही पद्धति र प्रक्रिया निर्धारित छ । त्यसलाई अनुसरण नगरीकन कसैले म हुनुपर्छ, आफैं घोषणा गर्छु भनेर त हुन्न नि । त्यो अराजनीतिक व्यवहार हो ।
विशेष महाधिवेशनको माग र त्यसलाई बोलाउने प्रक्रिया कसरी विधानअनुसार भएन त ?
विधानको १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्यो भने तीन महिनाभित्र गर्नुपर्ने हुन्छ भनिएको छ । त्यो स्विकार्छु । तर, त्यतिमात्र पर्याप्त होइन । विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा दर्ता गराइएको पत्रमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनको माग गरिएको छ । विशेष महाधिवेशनको मात्रै माग गरिएको होइन । उहाँहरूले पत्र दर्ता गराउने बेलामा नियमित महाधिवेशन नै लेख्नुभएको देखिन्छ । त्यही टाइप गर्नुभएको छ । पछि दर्ता गर्ने बेलामा अचानक सम्झेर ‘एरो’ दिएर माथि विशेष शब्द थपिएको छ । त्यसले के देखाएको छ भने विशेष महाधिवेशन नै उहाँहरूको सर्वोपरी एकमात्र माग होइन । विकल्पसहितको हो ।
१५ मंसिरको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतिबाट नियमित महाधिवेशनको निर्णयपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो । पुसमा नियमित महाधिवेशन गर्ने तोकिए पनि सम्भव भएन । त्यसैले कार्यतालिका संशोधन गरिएको हो । त्यो नै वैधानिक र राजनीतिक तरिका हो । देशमा जुन खालको राजनीतिक परिस्थितिको सिर्जना भएको छ । त्यसको समाधानका लागि प्रतिनिधिसभाको निर्वाचन अपरिहार्य छ ।
२१ फागुनमा निर्धारित निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्छ । त्यो नै सबभन्दा राजनीतिक रूपले आवश्यक विषय हो । निर्वाचनबाट वैध सरकारको गठन गर्नु नै सबभन्दा महत्त्वपूर्ण राजनीतिक कुरा हो । त्यसबाहेकका सबै विषय अराजनीतिक हो । कांग्रेस जस्तो लोकतन्त्रवादी पार्टीले अहिले निर्वाचनकै लागि सबभन्दा बढी ध्यान दिनुपर्छ । समय र शक्तिको खर्च निर्वाचनका लागि गर्न सक्नुपर्छ । त्यो नै राजनीतिक कार्य हो । त्यता नलाग्नु भनेको अराजनीतिक हो ।
अर्को कुरा विधानमा विशेष महाधिवेशन गर्ने कुरा लेखिएको भए पनि कार्यविधि के हुने, एजेन्डा के हुने, कुन विषयमा छलफल गर्ने त्यसबारे लेखिएको छैन । त्यो निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिको छ । उहाँहरूले नीति, नेतृत्व र कार्यसमितिको परिवर्तन भनिरहनुभएको छ । त्यो कार्यका लागि वैशाखमा महाधिवेशन तोकिएको छ । नेतृत्व परिवर्तन कहिले गर्ने ? कार्यसमितिको निर्वाचन कहिले हुने ? ती विषय नियमित महाधिवेशनबाट गर्ने भनेर केन्द्रीय कार्यसमितिले भनिसकेको छ ।
नेतृत्व भनेको सभापति हो । कांग्रेसको विधानअनुसार पार्टीको नेता र नेतृत्व भनेकै सभापति हो । बोलचालको भाषामा सबै तहका व्यक्तिलाई नेता भने पनि कांग्रेसको विधानले नेता भनेर उपसभापति वा महामन्त्री वा केन्द्रीय सदस्यलाई नेता भन्दैन, सभापतिलाई मात्रै मान्छ । नेतृत्व परिवर्तन भनेको सभापतिको परिवर्तन नै हो । अहिले शेरबहादुर देउवा सभापति हुनुहुन्छ । उहाँको परिवर्तनको कुरा हो । त्यो त, महाधिवेशनको प्रक्रियाबाट चुनाव भएरै हुन्छ ।
महाधिवेशनका लागि वैशाखमा समय निर्धारित भइसकेको छ । १५औं महाधिवेशनमा उहाँले सभापतिमा उम्मेदवारी दिन पाउनु हुन्न । त्यसकारण नेताको परिवर्तन हाम्रो पार्टीमा अरू पार्टी जस्तो अप्ठ्यारो होइन । सहज विषय हो । नेतृत्व परिवर्तनका लागि ढोका खुला छ । प्रक्रियाहरू उपलब्ध छन् । त्यही भएर अहिले जबर्जस्ती गर्न खोजिएको कार्य विधिसम्मत होइन । प्रक्रियासम्मत पनि छैन । यो विशेष महाधिवेशन महामन्त्रीहरूको काम, कर्तव्य र अधिकारमा पर्दैन । महामन्त्रीहरूको मातहतमा केन्द्रीय कार्यालय हो । तर, महाधिवेशन आह्वान र सञ्चालन गर्ने अधिकार महामन्त्रीहरूको छैन । यो अधिकार केन्द्रीय कार्यसमितिको मात्रै छ । त्यसकारण यो अवैधानिक, अराजनीतिक र प्रक्रियाविपरीत पनि हो ।
तपाईंले वैशाखमा महाधिवेशन गर्ने र त्यसबाट नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ । तर, महामन्त्रीहरूले २३ र २४ भदौको आन्दोलनको भावनाअनुसार चुनावअगावै पार्टीको नेतृत्वमा परिवर्तन हुनुपर्ने र नयाँ नेतृत्व लिएर गए मात्र पार्टीलाई चुनावमा लाभ हुने भनिरहनुभएको छ नि ?
प्रतिनिधिसभाको चुनाव राष्ट्रिय सरोकारको विषय हो । चुनावमार्फत राष्ट्रिय राजनीति, संविधान र लोकतान्त्रिक गणतन्त्रलाई ट्र्याकमा ल्याउन जरुरी छ । त्यसकारणले निर्वाचनलाई सर्वोपरी प्राथमिकता दिउँ भन्ने हामीले सुरुदेखि भन्दै आएका छौं । निर्वाचनभन्दा पहिला कुनै किसिमको अधिवेशन हुनुहुँदैन । त्यो कुरा केन्द्रीय समितिमा पटक–पटक भनेका छौं । शेरबहादुरजीले कार्यवाहक सभापति तोकिसक्नुभएको छ ।
पार्टी यथावत् छँदै छ । सबै चुनावमा होमिनुपर्छ भन्दै आएका हौं । चुनावमा पार्टीलाई विजयी बनाऔं । क्षतिग्रस्त संविधानलाई पूर्ण स्वस्थ बनाउन निर्वाचन जरुरी छ । निर्वाचनअगाडि पार्टीको समय र शक्ति अन्यत्र खर्च नगरौं भन्दै आएका छौं । पार्टीको नेतृत्व फेरिने, अर्को व्यक्ति सभापति बन्ने प्रक्रिया अवरुद्ध छैन । त्यसकारण उहाँहरूको भनाइसँग हामी सहमत छैनौं । त्यो परिपक्व विचार होइन । विधिसम्मत विचार होइन ।
पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनावमा जान सकिँदैन । त्यसले फाइदा पुग्दैन भन्ने उहाँहरूको भनाइ छ नि ?
त्यो अपरिपक्व कुरा हो । त्यसमाथि अहिले उहाँको नेतृत्वमा त गइराख्या छैनौं । नेतृत्वले लाभहानि हुने होइन, पार्टीको विचार तथा प्रक्रियाले निर्धारण गर्ने हो । कुनै एक जनाको नाउँ, कुनै एक जनाको अनुहारबाट चुनाव जितिँदैन । अहिले त्यो सम्भव छैन । समग्र पार्टी र विचारको सक्रियताको भूमिका रहन्छ । मतदाताको रुझान र रुचि निर्णायक हुने हो । जनकपुर, विराटनगर, डडेलधुरा वा सुर्खेतका मतदाताले के रुचि राख्छन्, त्यसैअनुसार हुने हो । एक जना व्यक्तिका नामबाट त हुने होइन । जुनसुकै उमेर, लिंग वा समुदायको भए पनि एक जना व्यक्तिले फरक पार्ने होइन । मतदाताले आफ्नो रुचिअनुसार अधिकारको प्रयोग गर्छन् । त्यसबाट निर्धारण हुन्छ ।
एकथरीले तपाईंसहित केही नेताहरूले विशेष महाधिवेशनको निरन्तर विरोध गर्दै आएकाले कांग्रेसमा यो परिस्थिति निम्तिएको भन्छन् नि ?
हामी विधानसम्मत कुरा गर्दै छौं । पार्टीमा हामी जिम्मेवार छौं । त्यसकारण विधानसम्मत कुरा उठाएका हौं । राजनीतिकसम्मत प्रक्रिया र परिपक्व अभ्यासलाई हामी अवलम्बन गर्दछौं ।
पार्टीर्को निर्णयमा वर्तमान पदाधिकारीहरूभन्दा पूर्वपदाधिकारीहरू हाबी हुन मिल्छ ?
वर्तमान पदाधिकारीहरू कर्तव्यनिष्ठ भएनन् । विधानसम्मत चलेनन् । महामन्त्रीहरूलाई पार्टीको नेतृत्व गर्ने अधिकार विधानले दिएको छैन । महामन्त्रीहरूको काम, कर्तव्य, अधिकार सभापतिले दिएको निर्देशनअनुसार काम गर्नु हो । सभापतिलाई सहयोग गर्नु हो । विधानमै लेखेको छ । सभापतिलाई दैनिक कार्यसञ्चालनमा सहयोग गर्नु नै उहाँहरूको दायित्व हो । त्यसको अलावा केन्द्रीय समितिको निर्णय, महासमितिको निर्णय, महाधिवेशनको निर्णयलाई कार्यान्वयन गराउनु र गर्नु नै हो । महामन्त्रीको काम नेतृत्व दिने होइन । त्यसकारण महामन्त्रीहरूले आफ्नो जिम्मेवारीको कार्यसम्पादन गर्नुभएको छैन । केन्द्रीय समितिको निर्णय र सभापतिको निर्देशनअनुसार चल्नुपर्छ ।
विशेष महाधिवेशनका लागि देशैभरबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् । अर्कोतिर संस्थापनपक्षले पार्टीको छुट्टै कार्यक्रम तय गरेको छ । यो परिस्थितिमा निकास के त ?
एक मात्रै निकास हो– महामन्त्रीहरूले केन्द्रीय समितिको निर्णयलाई पालना गरेर जानुपर्छ । तथाकथित विशेष महाधिवेशन स्थगित गरेको घोषणा गर्नुपर्छ । २१ फागुनको चुनावमा सबै होमिने र त्यसपछि पार्टीको आन्तरिक विषयलाई निकास निकालौंला भनेर उहाँहरूले भन्नुपर्छ ।
विशेष महाधिवेशन बोलाउनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका भनिन्छ । त्यसलाई पार्टीले अस्वीकार गरेर जान मिल्छ ?
५४ प्रतिशत हो भन्ने कुराको आधार के ? त्यसको सनाखत भएको छ ? म ५४ प्रतिशतले हस्ताक्षर गरेका हो भन्ने पत्याउँदिनँ । मेरो जानकारीमा त्यो हस्ताक्षर ४० प्रतिशत पनि पुग्दैन । त्यही भएर सनाखत गरिनुपर्थ्यो । अब त्यसका लागि समय नै छैन । त्यही भएर निर्वाचन पछि गर्ने हो ।
विशेष महाधिवेशनमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू उपस्थित भएर बहुमतबाट निर्णय लियो भने नि ?
उपस्थिति भनेको भीडबाट हुने होइन । महाधिवेशन प्रतिनिधिबाहिरका मानिसहरूको भीड जम्मा गरेर बहुमत भयो भन्नुसँग मतलब छैन । मान्छे जम्मा हुनु एउटा कुरा हो । तर, महाधिवेशन प्रतिनिधि त्यहाँ ४० प्रतिशत पनि जम्मा हुँदैनन् ।
विधानअनुसार विशेष महाधिवेशनको माग भएपछि केन्द्रीय समितिले तीन महिनाभित्र किन बोलाएन त ?
केन्द्रीय समितिले बोलाएन भनेपछि बोलाएन । बोलाउने नबोलाउने अधिकार केन्द्रीय समितिको हो ।
तर विधानले त तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । विधानलाई केन्द्रीय समितिले नजरअन्दाज गरेर जान मिल्छ ?
ठीकै छ, बोलाएन । बाध्यता छैन । सबै रीत पुगेपछि बोलाउने हो । रीत नै पुगेको थिएन । ४० प्रतिशतले हस्ताक्षर गर्यो भन्नुले मात्रै हुँदैन । एजेन्डा पनि हुनुपर्यो । केन्द्रीय समितिले निर्णय पनि लिनुपर्यो । केन्द्रीय समितिले निर्णय लिएको छैन । दर्ता गराउनासाथ हुँदैन । अधिकार भए पनि रीत नपुगेकाले त्यसले मान्यता पाएन ।
सबै पार्टी चुनावमा होमिँदै छन् । यस्तो बेलामा कांग्रेसको आधिकारिताको विवाद आयोगमा अल्झिने त होइन ?
हामी पनि उम्मेदवारी मनोनयन र निर्वाचनकै तयारीमा छौं । देशैभरका साथीलाई यो लफडामा नलाग्न र राजनीतिक द्वन्द्वमा नफस्न आग्रह गर्छु । बडो दुःखका साथ मैले भन्नुपर्छ पार्टी र लोकतन्त्रलाई कमजोर बनाउन चालिएको अभियान हो, यो । यसमा साथीहरूलाई नलाग्न र चुनावमा होमिन अपिल गर्छु ।
विशेष महाधिवेशन बोलाउने र त्यसमा संलग्नलाई पार्टीले अनुशासनको कारबाही गर्ला त ?
त्यो विषयमा अहिले बोल्नु आवश्यक छैन । पार्टीलाई कुन बेला के आवश्यक पर्छ । त्यसअनुसार निर्णय लिन्छ ।
![Special General Convention is apolitical: Bimalendra Nidhi [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/bimalendra-nidhi-1112026023121-1000x0.jpg&w=1001&h=0)