विशेष महाधिवेशन पक्षधरले सार्वजनिक गर्यो भेला हुने स्थान

जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरूका लागि भेला हुने छ वटा स्थान तोकेको छ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Special General Convention supporters announce meeting location

काठमाडौँ — २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरूका लागि भेला हुने छ वटा स्थान तोकेको छ।

समितिले विज्ञप्ति जारी गर्दै कुन–कुन जिल्लाबाट आएका प्रतिनिधि कहाँ भेला हुने भन्ने स्थान छुट्ट्याएको हो।

समितिले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, पद्मोदय–शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोललाई भेला हुने स्थानका रूपमा तोकेको छ। जारी विज्ञप्तिमा तोकिएका स्थानमा भेला भएर महाधिवेशन स्थल भृकुटीमण्डप पुग्न भनिएको छ।

संस्थापन पक्ष तयार नभएको अवस्थामा पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने निर्णय अगाडि बढाएका हुन्। गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको थियो।

गत २९ असोजमा पेस गरिएको निवेदनमा समयमा नियमित महाधिवेशन नभए मात्र विशेष महाधिवेशन हुनुपर्ने माग गरिएको थियो। तर १५ मंसिरमा नियमित महाधिवेशनको तालिका सार्वजनिक भइसकेपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षको तर्क छ।

कान्तिपुर

Link copied successfully