देउवाको ‘किल्ला’मै दरार, अछाम कांग्रेसका ५२ मध्ये २७ प्रतिनिधि विशेष महाधिवेशनमा हिँडे

लामो समयदेखि सभापति शेरबहादुर देउवा समूहको पकडमा रहेको अछाम कांग्रेसमा पार्टीभित्रको पछिल्लो तरंगले कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको चर्चा हुन थालेको छ।

पुस २५, २०८२

मेनुका ढुंगाना

Cracks in Deuba's 'fortress', 27 out of 52 Achham Congress representatives leave for special general convention

What you should know

अछाम — कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विशेष अधिवेशनको संघारमा पार्टीभित्रको शक्ति संघर्ष सतहमा देखिन थालेको छ । यसको प्रभाव जिल्लादेखि वडा तहसम्मख स्पष्ट देखिन थालेको छ।

लामो समयदेखि सभापति शेरबहादुर देउवा समूहको बलियो पकड मानिँदै आएको अछाम कांग्रेसमा पार्टीभित्रको पछिल्लो तरंगले कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको चर्चा हुन थालेको छ।अछामका करिब ५० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

जिल्ला अधिवेशनदेखि महासमिति, महाधिवेशन प्रतिनिधि छनोटसम्म सधै‌ं देउवा समूहकै बर्चस्व रहँदै आएको अछाम कांग्रेसमा यसपाली फुट देखिएको छ। अछाममा विगतका अधिवेशनमा देउवा समूह कै दुई टिम बीच प्रतिस्पर्धा देखिन्थ्यो । यसपाली भने जिल्लामा रहेका देउवाका पुराना सारथीले पनि साथ छोड्न थालेका छन् ।

कांग्रेस अछामका पूर्वजिल्ला सभापति एवं महासमिति सदस्य भरतकुमार स्वाँरले सभापति देउवासँग लामो समयदेखिको राजनीतिक सहकार्य अन्त्य भएको बताएका छन् । स्वाँरले अब देउवा पक्षमा नभइ कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएको बताए। अछाम क्षेत्र नम्बर १ का २६ जना महाधिवेशन प्रतिनिधि मध्ये १६ जना विशेष महाधिवेनको पक्षमा रहेको उनले दाबी गरे । ‘विशेष महाधिवेशनको पक्षमा पहिले १८ जनाले हस्ताक्षर गरेका थिए । दुई जना भने अनुपस्थित हुने देखिएको छ,’ उनले भने,‘धेरै साथीहरु काठमाडौं पुग्नुभएको छ । कतिपय बाटोमा हुनुहुन्छ ।’

स्वाँरका अनुसार उनले २०३३ सालदेखि देउवालाई नेता मानेर सक्रिय राजनीति गर्दै आएका थिए। ‘करिब पाँच दशकसम्म देउवालाई साथ दिएको हो । राजनीतिक जीवनको उर्बर समय त्यही नेतृत्वलाई बलियो बनाउन खर्चिएको छु,’ स्वाँरले भने,‘हामीले देउवालाई मानिरहन पर्ने तर देउवाले बेवास्ता गर्ने प्रक्रिया चलिरह्यो । अन्तमा धार परिवर्तनको अवस्थामा पुगेँ ।’

२०४८ सालमा देउवा गृहमन्त्री रहँदासम्म नेतृत्व र कार्यकर्ता बीच घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै स्वाँरले त्यो समय कार्यकर्ताको पहुँच सहज रहेको बताए । त्यसपछि क्रमशः अवस्था फेरिँदै गएको उनले बताए। ‘नेतृत्व र कार्यकर्ता बीच दूरी बढ्दै गएको, कार्यकर्ताको आवाज र पहुँच केन्द्रसम्म पुग्न छाडेको धेरै भइसक्यो। यही दूरीका कारण असन्तुष्टि बढ्दै गयो ।  अन्ततः देउवा लाइन छोड्ने निर्णयमा पुग्यौं,’ उनले भने । व्यक्ति विशेषको पक्षमा नभई पार्टीको सुधार र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने उद्देश्यले विशेष महाधिवेशनको पक्षमा उभिएको उनले बताए।

अछाम क्षेत्र नम्बर २ मा रहेका २६ जना महाधिवेशन प्रतिनिधि मध्ये अहिलेसम्म ११ जना विशेष महाधिवेशनको पक्षमा खुलेको महाधिवेशन प्रतिनिधि पदमराज अधिकारीले बताए । ‘१९ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । त्यो बीचमा केहीले फिर्ता लिएका छन् । अहिले १० जना खुलेरै काठमाडौंको यात्रामा छन् । केही साथीहरु थपिन सक्छन्,’ उनले भने । २०४८ सालदेखि देउवालाई साथ दिँदै आए पनि अब कांग्रेसभित्र नेतृत्व परिवर्तनको बेला आएको उनले बताए ।

लामो समयदेखि देउवा कित्तामा रहेर कांग्रेसको राजनीति गर्दै आएका महाधिवेशन प्रतिनिधि बेदप्रकाश तिमिल्सैनाले विशेष महाधिवेशनका लागि काठमाडौंको यात्रामा रहेको बताए।

महामन्त्री गगन थापाले उठाउँदै आएका पार्टी सुधार, जवाफदेहिता, पारदर्शिता र नेतृत्व परिवर्तनको मुद्दाले प्रतिनिधिहरूलाई आकर्षित गरेको उनले बताए । थापा केन्द्रीय नेता भए पनि स्थानीय तहका समस्या बुझ्ने नेताको छवि बनाउँदै आएको उनको बुझाइ छ । ‘कांग्रेस बलियो बनाउनका लागि नयाँ नेतृत्व चाहिन्छ । त्यसका लागि उपयुक्त पात्र गगन थापा हुन् । थापाको नेतृत्व पार्टीका लागि मात्रै होइन, देशकै लागि आवश्यक छ,’ उनले भने । 

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully