कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपिल : विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर

संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न आग्रह

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Appeal from 25 central members to the Congress leadership: Hold talks with supporters of the special general convention

काठमाडौँ — कांग्रेस संस्थापन पक्षकै २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न नेतृत्वलाई अपिल गरेका छन् । विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न  सभापति शेरबहादुर देउवासँग उनीहरूले अपिल गरेका हुन् ।  

ललितपुरको कुपन्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गर्दै सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेको हो । 

‘कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अत: माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरूरी रहेको जोड दिँदै उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् ।

समूहले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेको थियो । समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । सो सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

कान्तिपुर

Link copied successfully