जिल्ला सभापति, दुवै क्षेत्रका क्षेत्रीय, चार प्रदेश समिति तथा १० पालिकाका सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्।
गोरखा — कांग्रेस गोरखाले महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलाई पौष २७ र २८ गते हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेको छ। जिल्ला सभापति, दुवै क्षेत्रका क्षेत्रीय, चार प्रदेश समिति तथा १० पालिकाका सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्।
कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र नम्बर २ का सभापति गोविन्द गुरुङ, चार वटै प्रदेश क्षेत्रीय सभापतिले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका हुन्।
‘पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, पार्टीको आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीका विषयमा महत्त्वपूर्ण निर्णय लिन र यस अवसरमा गोरखा जिल्लाबाट निर्वाचित महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि र पार्टीका सबै तहका साथीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, गोरखाका ११ पालिकामध्ये १० पालिकाका पार्टी सभापतिले पनि विशेष महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका छन्। गोरखा नगरपालिका बाहेकका १० पालिकाका सभापतिले संयुक्त विज्ञप्ति मार्फत विशेष महाधिवेशनमा सहभागिताका लागि आह्वान गरेका हुन्।
