विशेष महाधिवेशन : गगन–विश्वको अग्निपरीक्षा

यदि कांग्रेसजनहरू दास र जिउँदो लास होइनन् भने लोकतन्त्र र कांग्रेसको भविष्यका लागि अहिले गगन–विश्वलाई साथ दिनु अपरिहार्य छ ।

पुस २५, २०८२

गेजा शर्मा वाग्ले

Special General Assembly: The Test of the Universe

What you should know

विशेष कि नियमित महाधिवेशन तथा निर्वाचनअगाडि कि पछाडि महाधिवेशन भन्ने विषयमा बहस र विवाद भइरहेको घडीमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ ।

१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भइसकेको कारणले मंसिरभित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने थियो । तर सभापति शेरबहादुर देउवा र संस्थापन पक्षले षड्यन्त्रपूर्वक विलम्ब गरेको कारणले घोषित मितिमा पनि महाधिवेशन गरिएन । जेन–जी विद्रोहपछि राष्ट्रिय राजनीतिमा विषम र असाधारण परिस्थिति सिर्जना भएको कारणले तत्कालै विशेष महाधिवेशन गर्नुपर्थ्यो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लिखित माग गरेपछि अनिवार्य रूपमा गर्नुपर्ने थियो ।

तर केन्द्रीय समितिमा प्राविधिक बहुमतको आडमा विशेष महाधिवेशन नगरेपछि लोकतन्त्रवादी पार्टीको छविमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ । एकातिर विधानलाई समेत चुनौती दिँदै विशेष महाधिवेशन गरिएन । अर्कोतिर विधानअनुसार 

आह्वान गरिएको विशेष महाधिवेशनलाई संस्थापन पक्षले विज्ञप्ति जारी गर्दै चेतावनीपूर्ण चुनौती मात्रै दिएको छैन, पार्टी विभाजन हुने प्रोपोगान्डासमेत गरिएको छ । के विशेष महाधिवेशन भए कांग्रेस विभाजित हुन्छ ? यदि हुन्छ भने उक्त प्रावधान विधानमा किन राखियो ? यदि कांग्रेस लोकतन्त्रवादी पार्टी हो भने विधानअनुसार सञ्चालन हुनु पर्दैन ? के सभापति र केन्द्रीय समितिलाई विधानविपरीत निर्णय गर्ने अधिकार हुन्छ ? भन्ने जस्ता जटिल अनन्त प्रश्नहरू उठेका छन् । यस लेखमा विशेष महाधिवेशनको ऐतिहासिक सन्दर्भ, विद्यमान परिदृश्य र विधानका आधारमा वस्तुनिष्ठ विश्लेषण गरिएको छ ।

विषम परिस्थिति, विशेष महाधिवेशन

विशेष महाधिवेशनबारे बहस गर्दा २०१४ सालको विशेष महाधिवेशनको सन्दर्भ प्रासंगिक हुनेछ । २००७ सालमा प्रजातन्त्र स्थापना भएको ८ वर्षसम्म पनि निर्वाचन नभएको कारणले सिर्जना भएको अत्यन्त प्रतिकूल अवस्थामा तत्कालीन सभापति सुवर्णशमशेरको प्रस्तावमा २०१४ मा विशेष महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट बीपी कोइराला सभापति भएपछि कांग्रेसले नयाँ जीवन पाएको थियो । बीपीको नेतृत्वमा चुनावमा गएको कांग्रेसले २०१५ को निर्वाचनमा दुई–तिहाई हासिल गरेको थियो । २०१४ मा जस्तै कांग्रेसलाई पुनर्जीवन दिन अहिले पनि विशेष महाधिवेशन अपरिहार्य छ । समय, सन्दर्भ र कालखण्ड फरक भयो । तर उद्देश्य, आवश्यकता र सान्दर्भिकता समान छ ।

कांग्रेसकै नेतृत्वमा २००७ मा प्रजातन्त्र स्थापना भएको थियो, २०४६ मा बहुदलीय लोकतन्त्र स्थापना भएको थियो र २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान मात्रै होइन, ऐतिहासिक संविधानसभामार्फत २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको थियो । तर २२ भदौसम्मको प्रमुख शक्ति कांग्रेसलाई किन जेन–जी आन्दोलनले विस्थापित गर्‍यो ? यस्तो अवस्था कसरी सिर्जना भयो ? पार्टीको मूल नेतृत्वले जिम्मेवारी लिनु पर्दैन ? यसबारे आत्मसमीक्षा र आत्मचिन्तन गर्नु पर्दैन ? विगतका गल्ती–कमजोरीप्रति क्षमायाचना गर्दै आत्मालोचना गर्नु पर्दैन ? पार्टीको नीति र नेतृत्वबारे गम्भीर छलफल गरी ठोस निष्कर्षमा पुग्नु पर्दैन ? यी समग्र विषयमा छलफल गरी निष्कर्षमा पुग्ने सर्वोच्च निकाय महाधिवेशन होइन ? त्यसैले विशेष महाधिवेशन विधानको दृष्टिले वैधानिक छ, राजनीतिक दृष्टिले आवश्यक छ र जनता तथा कार्यकर्ताको समर्थनको दृष्टिले वैधता हासिल गरिसकेको छ ।

असफल प्रमाणित भइसकेको नीति तथा रणनीतिलाई केन्द्रीय समितिले पटकपटक अनुमोदन गर्दै आएको छ । केन्द्रीय समिति सभापति र ‘प्रभावशाली’ नेताहरूको लाचार छाया हुँदै आएको छ । अहिलेका ज्वलन्त विषयमा छलफल गरेर ठोस निष्कर्षमा पुर्‍याउने राजनीतिक हैसियत र नैतिक धरातल मूल नेतृत्व र केन्द्रीय समितिले गुमाइसकेको छ । त्यसैले विद्यमान विशिष्ट र विषम परिस्थितिमा विशेष महाधिवेशनको विकल्प छैन । यदि कांग्रेस विधिसम्मत रूपमा सञ्चालन हुँदैन भने लोकतन्त्रवादी भएको दाबी गर्ने नैतिक अधिकारसमेत गुमाउने छ । यदि महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र पारित नयाँ नीतिबिना चुनावमा गयो भने कल्पनातित क्षति हुनेछ ।

नयाँ नीति, नयाँ नेतृत्व

जेन–जी विद्रोहको मागमध्ये पार्टीमा पुस्तान्तरणसहितको नयाँ नेतृत्व प्रमुख हो । अहिले केन्द्रदेखि वडासम्म जनता र जेन–जी पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व विकास र हस्तान्तरण गर्नुपर्ने समय हो । केवल देउवा मात्रै होइन, विगत लामो समयदेखि नेतृत्वपंक्तिमा रहेका तथा पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकी अलोकप्रिय भएका दोस्रो र तेस्रो पुस्ताका नेतालाई पनि अनिवार्य बिदाई गर्नु आवश्यक छ । विगतमा जस्तो वरिष्ठता, मर्यादाक्रम र वंशजका आधारमा होइन, भिजन, छवि र लोकप्रियताका आधारमा नेतृत्व विकास र हस्तान्तरण गर्नुपर्छ । उक्त निष्कर्ष कुनै पुस्ता विशेषप्रतिको आग्रह होइन, जनता र युवा पुस्ताको भावनाका आधारमा निकालिएको निष्कर्ष हो । अहिलेको असफलता कांग्रेसको होइन, नेतृत्वको असफलता भएको वास्तविकतालाई सबै कांग्रेसजनहरूले आत्मसात् गर्नु आवश्यक छ । किनभने गालिवको चर्चित कवितांशजस्तै दाग अनुहारमा छ, ऐना पुछेर हुँदैन ।

अहिलेका जटिल चुनौती सामना गरी देश, जनता र पार्टीको नेतृत्व गर्न सक्ने स्वच्छ छवि भएको भिजनरी, संघर्षशील र ऊर्जाशील नेतृत्व आजको आवश्यकता हो । भिजन, आत्मविश्वास र इच्छाशक्ति भएको नेतृत्वका लागि संकट भनेको अर्को अर्थमा अवसर पनि हो । यदि पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण गरी युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिएन भने यथास्थितिमा कांग्रेसको भविष्य अन्धकार मात्रै होइन, औचित्यसमेत नरहन सक्छ । त्यसैले कांग्रेस पुनर्गठन र रूपान्तरणका लागि महाधिवेशन र पुस्तान्तरणसहितको नयाँ नेतृत्व पहिलो र अनिवार्य सर्त हो । गौरवशाली र संघर्षपूर्ण इतिहास मात्रै पर्याप्त छैन । सुखद भविष्यको प्रत्याभूति गर्ने पार्टी र नेतृत्व जनताको चाहना हो । त्यसैले जनता इतिहास र अतीतमुखी होइन, भविष्यमुखी तथा जनतामुखी पार्टी र नेतृत्वको खोजीमा छन् ।

केवल नयाँ नेतृत्व मात्रै होइन, नयाँ युगका लागि नयाँ भिजन, नयाँ विचार, नयाँ नीति र नयाँ एजेन्डा पनि अंगीकार गर्नु आवश्यक छ । राजनीतिक विचारधारा र सैद्धान्तिक वर्गीकरणका दृष्टिले कांग्रेस लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी र बहुलवादी पार्टी हो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन् । तर २१ औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चुनौतीहरू उन्नाइसौं र बीसौं शताब्दीभन्दा जटिल र पेचिलो हुँदै गएका छन् । उक्त चुनौती सामना गर्न हालसम्म अनुसरण गर्दै आएका सिद्धान्त, विचार र नीतिबारे गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी समयानुकूल परिभाषित तथा पुनःपरिभाषित गर्नु आवश्यक देखिएको छ । कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाजको स्पष्ट मार्गचित्र जनतासमक्ष पेस गर्नु आवश्यक छ । यो विशेष महाधिवेशनले समुन्नत नेपाल र नयाँ कांग्रेस बनाउने संकल्प गर्नुपर्छ ।

अहिले जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् । प्रत्यक्ष र तत्काल अनुभूत गर्ने आर्थिक विकास, विधिको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, पारदर्शिता, उत्तरदायित्व जनताका प्राथमिकता हुन् । अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि जनमुखी नीति र डेलिभरी खोजिरहेका छन् । यदि देश र जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन । त्यसैले शास्त्रीय सिद्धान्तवादी भन्दा गतिशील विचार र नीतिप्रधान कांग्रेस आजको आवश्यकता हो । नयाँ नेतृत्व र नयाँ नीतिका आधारमा कांग्रेस जनतामा जानुपर्छ । होइन भने जनताबाट बहिष्कृत हुने निष्कर्ष कांग्रेसजनहरूलाई अप्रिय र कठोर लागे पनि वास्तविकता यही नै हो ।

उक्त वास्तविकतालाई आत्मसात् गर्दै गगनले कांग्रेसको सिद्धान्त, विचार र नीतिलाई समयानुकूल परिभाषित तथा पुनःपरिभाषित गर्नु आवश्यक भएको विचार व्यक्त गर्दै आइरहेका छन् । कांग्रेसमा सैद्धान्तिक–वैचारिक ‘डिपार्चर’ गर्ने बहस आवश्यक थियो । गगनको प्रस्ताव र प्रयास कति सार्थक होला ? त्यो भविष्यमा देखिएला । तर कांग्रेसको सैद्धान्तिक–वैचारिक बहसमा गगनले सशक्त हस्तक्षेप गरेका छन् । ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ प्रारम्भमा गगनको अवधारणा थियो । यो अहिले कांग्रेसको आधिकारिक अवधारणा भएको छ । कांग्रेसमा सैद्धान्तिक–वैचारिक तथा नीतिगत दृष्टिले गगनले कति सार्थक हस्तक्षेप गरेका छन् भन्ने यो जीवन्त उदाहरण हो ।

गगन–विश्वको अग्निपरीक्षा

जेन–जी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्माआलोचना गरी क्षमायाचनासहित गगन–विश्वले कांग्रेस पुनर्गठन र रूपान्तरणको पहल गरेका छन् । पार्टीमा रूपान्तरणकारी र परिवर्तनकारी धारको वकालत तथा नेतृत्व गर्दै आएका छन् । यदि उनीहरूको प्रस्तावअनुसार कांग्रेसमा नेतृत्व परिवर्तन भएको भए सम्भवतः २३–२४ भदौको दुर्घटना हुने थिएन । विगतमा उनीहरूले प्रयास नगरेका होइनन् । तर सार्थक र परिणाममुखी भएनन् । त्यसैले उनीहरूले अब निर्णयक र परिणाममुखी संघर्ष गर्नुपर्ने घडी आएको छ । जनता र पार्टीका कार्यकर्ताको यही भावनालाई आत्मसात् गर्दै गगनले १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन गर्ने प्रयास गरे । तर आफू महामन्त्री निर्वाचित भए पनि मूल नेतृत्व परिवर्तन गर्न सफल भएनन् । संसदीय दलको निर्वाचनमा पनि देउवालाई चुनौती दिए । तर फेरि पनि असफल भए ।

गगन–विश्वको विचार र पहलले आशाको सन्देश दिएको छ, जनताको विश्वास बढ्दै गएको देखिन्छ । तर उनीहरूसँग समय भने सीमित छ । गगन–विश्वले अहिले चुनौतीपूर्ण र जोखिमपूर्ण कदम उठाएका छन् । अब उनीहरूमाथि थप चौतर्फी आक्रमण हुनेछ । तर अब गगन–विश्वलाई विगतमा जस्तो असफल हुने छुट छैन । पार्टी पुनर्गठन तथा रूपान्तरण गरी नयाँ कांग्रेस बनाउने कठिन जिम्मेवारी इतिहासले उनीहरूलाई सुम्पिएको छ । कांग्रेसका लागि यो महाधिवेशन अन्तिम अवसर हो भने गगन–विश्वका लागि अन्तिम परीक्षा हो । त्यसैले लामो र चुनौतीपूर्ण राजनीतिक यात्रामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदै आएका गगन–विश्वका लागि यो केवल अन्तिम परीक्षा मात्रै होइन, अग्निपरीक्षा हो । अहिले अग्निपरीक्षाका लागि बलिवेदीमा नै उत्रिएको देखिन्छ ।

राजनीति भनेको केवल सत्ता होइन, सिद्धान्त हो । केवल सम्झौता होइन, संघर्ष हो । सत्ता र सम्झौताको राजनीति सहज हुन्छ । तर सिद्धान्त र संघर्षको राजनीति कठिन र चुनौतीपूर्ण हुन्छ । गगन–विश्वले सुविधा, सम्झौता र सत्ताको भन्दा सिद्धान्त, संघर्ष र विचारको चुनौतीपूर्ण मार्ग अवलम्बन गरेको देखिन्छ । एउटा राजनीतिज्ञमा सपना, संकल्प र संघर्ष चाहिन्छ, त्यो गगन–विश्वको अनुहारमा प्रतिबिम्बित भएको देखिन्छ । गगन–विश्वको सहकार्यमा नै कांग्रेस र देशको भविष्य अन्तर्निहित छ । यदि कांग्रेसजनहरू दास र जिउँदो लास होइनन् भने लोकतन्त्र र कांग्रेसको भविष्यका लागि अहिले गगन–विश्वलाई साथ दिनु अपरिहार्य छ । पार्टीको सिद्धान्त र नीतिलाई तिलाञ्जली दिएर सत्ताका लागि राजा त्रिभुवनसँग आत्मसमर्पण गरेपछि आफ्नै दाजु तथा २००७ सालको क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइरालाको विरुद्धमा विद्रोह गरी बीपीले कांग्रेस बचाएको इतिहास स्मरण गर्दै उपयुक्त निर्णय लिनुपर्ने घडी हो । अहिले विशेष महाधिवेशन गरेर कांग्रेसको अस्तित्व जोगाउने कि निर्वाचनपछि महाधिवेशनका नाममा अवशेष रहेको अस्थिपञ्जरको समाधिस्थ गर्ने ? अहिलेको यक्ष प्रश्न यही हो ।

गगन–विश्वको जोडी र केमेस्ट्री

पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चहरूमा गगन–विश्वबीच एक–अर्काप्रति सम्मान, आत्मीयता र घनिष्ठतापूर्ण सम्बन्ध प्रतिबिम्बित भएको देखिन्छ । गगन–विश्वबीच सहकर्मी, सहयात्री र सहयोद्धाको सम्बन्ध भएको प्रतीत हुन्छ । त्यसैले गगन–विश्वको जोडी मात्रै जमेको छैन कि केमेस्ट्री पनि मिलेको देखिन्छ । गगन–विश्वका धेरै विशेषता साझा छन् भने केही परिपूरक र विशिष्ट पनि छन् । जनता र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरी आफ्ना विचार स्पष्ट रूपमा राखी कन्भिन्स गर्न सक्ने कुशल वक्ता गगन–विश्व दुवै लोकप्रिय र जनतामुखी छन् । गगन–विश्व दुवैले लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील, बहुलवादी र समावेशीकरणवादी धारको नेतृत्व गर्छन् भने जनताप्रति उत्तरदायी भएर राज्य तथा पार्टी सञ्चालन गर्ने संकल्प गर्दै आइरहेका छन् ।

राष्ट्रिय राजनीतिदेखि पार्टीका आन्तरिक मामलामा गगनले साहसिक, जोखिमपूर्ण र रणनीतिक निर्णय लिन्छन् । तर विश्वले परिस्थिति र परिणामको विश्लेषण गरी कार्यनीतिक आयामलाई प्राथमिकता दिन्छन् । गगन रणनीतिक दृष्टिले दृढतापूर्वक अडान लिन्छन् भने कार्यनीतिक दृष्टिले लचक हुने विश्वको छवि बनेको छ । गगनको प्रस्तुति सैद्धान्तिक र व्याख्यात्मक हुन्छ, विश्वको सूत्रात्मक । गगनको विद्रोह र जुझारुप्रधान व्यक्तित्व छ भने विश्वमा शालीनता र भद्रताप्रधान । गगनको पहिचान संघर्षप्रधान छ, विश्वको समन्वयकारी । गगन विचारप्रधान छन्, विश्व भावनाप्रधान । गगनको प्राथमिकता नीति र नेतृत्व छ भने विश्वको रुचि पार्टी साहित्य र कार्ययोजना । त्यसैले नेतृत्व र व्यक्तित्व दुवै दृष्टिले गगन–विश्व एक–अर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन् ।

पार्टी सदस्यता, ल्याटरल इन्ट्री, क्रियाशील सदस्यहरूबाटै नेतृत्व छनोट, जुनसुकै तहको जनप्रतिनिधि हुन क्रियाशील सदस्यहरूबीच प्राइमरी इलेक्सन (प्राथमिक निर्वाचन) जस्ता इन्ट्री पोलिसी (प्रवेश नीति) मा गगनको प्राथमिकता छ भने विश्वको एक्जिट पोलिसी (अवकाश नीति) मा । स्मरणीय छ, ज्ञान, योग्यता, क्षमता र अनुभवका आधारमा विशेष प्रक्रियामार्फत पार्टीमा भूमिका दिने प्रणालीलाई ल्याटरल इन्ट्री भनिन्छ । कांग्रेस पुनर्जीवनका लागि यस्तो प्रणाली अनुसरण गर्नु अपरिहार्य छ । विश्वले एक्जिट पोलिसीलाई यसरी सूत्रात्मक रूपमा व्याख्या गरेका छन् – एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद । गत वर्षको महासमिति बैठकमा प्रस्तुत गरिएको विश्वको प्रस्तावप्रति पुरानो पुस्ताका नेतृत्वपंक्तिबाहेक पार्टीका अधिकांश नेता, कार्यकर्ता र सदस्यहरू सहमत भएको देखिन्छ ।

गगन–विश्वको सहकार्य तत्कालिक, रणनीतिक र अस्थायी हो, स्थायी, दीर्घकालीन र वैचारिक होइन । अन्ततः उनीहरूबीच पनि प्रतिस्पर्धा मात्रै होइन, संघर्ष नै हुने आशंकापूर्ण प्रक्षेपण पनि गरिएका छन् । सत्ता, शक्ति र पदलाई नै सर्वोच्च प्राथमिकता दिएर धोका, षड्यन्त्र र छलकपटको राजनीति हुँदै आएको पृष्ठभूमिमा त्यस्तो भविष्यवाणी गरिनु अस्वाभाविक पनि होइन । कुनै पनि पार्टीमा एउटै पुस्ताका नेताहरूले एकले अर्कालाई स्वीकार गरेर सहकार्य गरेको पाइँदैन । उनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ, आरोप–प्रत्यारोप छ । तर गगन–विश्वको सहकार्यले कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि अर्थपूर्ण सन्देश दिएको छ ।

उदाहरणीय जोडीका अनुकरणीय सन्देश

समान तथा फरक पुस्ताका नेताहरूको सहकार्यले पार्टीको जीवनमा कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने जीवन्त उदाहरण बेलायतको लेबर, अमेरिकाको डेमोक्रेटिक र भारतको बीजेपी हुन् । बेलायतको लेबर पार्टीका टोनी ब्लेयर र गोर्डन ब्राउन, अमेरिकाको डेमोक्रेटिक पार्टीका बाराक ओबामा र जो बाइडेन तथा बीजेपीका नरेन्द्र मोदी र अमित शाहको जोडी विश्वचर्चित र उदाहरणीय मानिन्छ । ब्लेयर र ब्राउनको सहनेतृत्व र सहकार्यमा नै लेबर पार्टीलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी नयाँ लेबरका रूपमा स्थापित गर्न सफल भएका थिए । राजनीति र उमेर दुवै दृष्टिले ब्लेयरभन्दा ब्राउन सिनियर थिए । तर ब्लेयरको भिजन, लोकप्रियता र सांगठनिक क्षमता भएका कारणले ब्राउनले नै ब्लेयरलाई नेताका रूपमा प्रस्ताव गरेका थिए ।

ओबामाभन्दा बाइडेन पनि उमेर र राजनीति दुवैले सिनियर थिए । तर लोकप्रियता र भिजनका कारणले बाइडेनले नै ओबामालाई राष्ट्रपतिमा प्रस्ताव गरे र सन् २००८ मा ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपति भएका थिए । ओबामा र बाइडेनको जोडीले डेमोक्रेटिक पार्टीको नीति मौलिक रूपमा रूपान्तरण मात्रै गरेन, उनीहरूको कार्यकाल पनि सापेक्षिक रूपमा सफल भएको मानिन्छ । विश्वको सबैभन्दा ठूलो पार्टी बीजेपीका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडीले अर्को मानक र नजिर स्थापित गरेको छ । सन् २०१० को दशकदेखि सुरु भएको मोदी–शाह जोडीको सहकार्यले बीजेपीलाई लोकप्रिय पार्टीका रूपमा मात्रै स्थापित गरेको छैन, भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मोदी–शाह जोडीलाई ‘इलेक्सन मेसिन’ (चुनाव जित्ने यन्त्र) को संज्ञा दिएका छन् । बीजेपीको आइडियोलोजी र मोदी–शाहको राज्य सञ्चालन प्रक्रियाप्रति फरक दृष्टिकोण वा असहमति हुन सक्छ । तर पार्टी सञ्चालनका दृष्टिले यो पनि विश्वचर्चित सफल जोडी मानिन्छ ।

सायद सिनियर भएर पनि ब्राउनले ब्लेयर र बाइडेनले ओबामालाई अगाडि सारे जस्तै भिजन, लोकप्रियता र छविको मूल्यांकन गरेर होला, विश्वले पनि गगनलाई सहर्ष नेता प्रस्ताव गरेका छन्, जुन संस्कार अनुकरणीय छ । के ब्लेयर–ब्राउन, ओबामा–बाइडेन तथा मोदी–शाहको जस्तै दीर्घकालीन साझेदारी र भावनात्मक सहकार्य गरी गगन–विश्वको जोडी पनि नयाँ कांग्रेस र समुन्नत नेपाल बनाउन सफल होला ?

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully