सिरहाबाट कांग्रेसका बहुमत पदाधिकारी र प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुँदै

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा १ सय ३ जना प्रतिनिधि छन् ।

पुस २५, २०८२

विनय आजाद

Majority of Congress office bearers and representatives from Siraha participating in special general convention

सिरहा — कांग्रेसको आसन्न विशेष महाधिवेशनमा सिरहाबाट बहुमत पदाधिकारी र प्रतिनिधि भाग लिने भएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ मा हुन लागेको विशेष महाधिवेशनमा सिरहाका बहुमत पदाधिकारी र प्रतिनिधि भाग लिने भएका हुन् ।

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा १ सय ३ जना प्रतिनिधि छन् । जसमध्ये क्षेत्र नम्बर १ मा २५ जना रहेकामा १९ जना, क्षेत्र नम्बर २ मा २६ जना रहेकामा १२ जना, क्षेत्र नम्बर ३ मा २६ जना रहेकामा २४ जना र क्षेत्र नम्बर ४ मा २५ जना रहेकामा १९ जान जान लागेका हुन् ।

यसमध्ये १०-१५ जना बिहीबार नै गइरहेको, केही प्रतिनिधि आज शुक्रबार पनि जाने र अन्य बाँकी प्रतिनिधि शनिबार चारै क्षेत्रबाट जाने गाडीमा निस्कने जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी दिए ।

यससँगै जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनमा जाँदैछन् । जिल्ला सभापति रामचन्द्र यादवबाहेक उपसभापति सुनिल कुमार महतो, सचिव शैलेन्द्र यादव, सहसचिव रामबाबु यादव, प्रवक्ता गंगा प्रसाद यादवलगायत जान लागेका हुन् ।

अर्का उपसभापति जागेश्वर मण्डल भने कुनै पक्षमा खुलेका छैनन् । विशेष महाधिवेशनमा अधिकांश प्रतिनिधिको समर्थन रहे पनि अत्यधिक चिसोका कारणले मात्रै कतिपय व्यक्ति जान नचाहेको सचिव यादवले बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully