कांग्रेस नेता हृदयराम थानी भन्छन्– '५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधिवत् रुपमा विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा यसलाई जसरी हुन्छ अब समाधान निकालेर पार्टीलाई चुनावमा लैजानुपर्छ ।'
What you should know
काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने नेता हृदयराम थानीले बताएका छन् । विशेष महाधिवेशन पार्टीको विधान बमोजिम बाध्यात्मक भएकाले सहमति वा विधिबाट टुंग्याउनुपर्ने थानीको धारणा छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन बोलाएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने आरोप लगाइरहेका बेला पूर्वसांसदसमेत रहेका थानीले विधानको व्यवस्थाअनुसारको कार्यले विभाजन नहुने बताए । 'विशेष महाधिवेशनले यो पार्टी नै विभाजन हुन्छ भन्ने पक्षमा म छैन । विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुन्थ्यो भने विशेष महाधिवेशनको व्यवस्था हाम्रो विधानमा रहन्थेन होला,' थानीले भने ।
विशेष महाधिवेशनको व्यवस्थालाई सही तरिकाले प्रयोग गर्नुपर्ने थानीको भनाइ छ । पार्टीको नेतृत्वमा रहेका नेताहरूले अहिलेको अवस्थामा सही निर्णय लिनुपर्ने उनले बताए । ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आह्वान गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने विधानले बाध्यात्मक व्यवस्था गरेको थानीले उल्लेख गरे । कानुन व्यवसायी र कांग्रेसका नेता तथा कार्यकर्ता र शुभचिन्तकले पनि विशेष महाधिवेशन बाध्यात्मक हरेको भनिरहेको उनले बताए ।
नियमित महाधिवेशन नगर्दा र संस्थापन पक्षले छल्दाको परिणाम विशेष महाधिवेशन गर्नुपर्ने अवस्था आइलागेको थानीको भनाइ छ । '५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधिवत् रुपमा विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा यसलाई जसरी हुन्छ अब समाधान निकालेर पार्टीलाई चुनावमा लैजानुपर्छ,' थानीले भने, 'चुनावमा कसरी जाने, हाम्रा पार्टीका भावी कार्यक्रमहरू के हुन् भन्ने कुराको तर्जुमा र छलफल गरेर त्यसतर्फ जानुपर्छ भन्ने मेरो आग्रह हो ।'
कृष्णप्रसाद भट्टराई पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशनको आह्वान गरिएको नेता थानीले स्मरण गरे । अहिलेका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विशेष महाधिवेशनमा उपस्थित भएर समस्याको समाधान निकाल्नुपर्ने सुझाव नेता थानीले दिए ।
