कांग्रेस पार्टीको आफ्नै स्पष्ट विधान छ । जसले के गर्ने, के नगर्ने भनेर निर्दिष्ट गर्दछ । विशेष महाधिवेशन नेतृत्वले गरिदिने कुनै उपकार होइन, विधानको व्यवस्था हो । सदस्यहरूको अधिकार हो । त्यसैले अहिलेको बहस वैधताको होइन, नियतको हो ।
What you should know
काठमाडौँ — थोमस बेलले आफ्नो एक पुस्तकमा काठमाडौंलाई ‘हिमालयको सबैभन्दा महानतम् सहर’ का रूपमा चित्रित गरेका छन् । दक्षिण एसियामा अन्यत्र धेरै अघि नै लुप्त भइसकेका सांस्कृतिक अभ्यासहरू यहाँ कायमै छन् ।काठमाडौंका सन्दर्भमा यस्तो तारिफका साथसाथै बेलले एउटा अर्को कठोर मूल्यांकन पनि पेस गरेका छन्– पाखण्डको आनन्दोत्सव, असफल लोकतन्त्रको प्रतिमान, कचल्टिएको हस्तक्षेप र वातावरणीय विपत्तिको 'केस स्टडी' ।
एक दशकभन्दा बढी नेपालमा बसेपछि र बाहिरी दुनियाँलाई यहाँको राजनीतिक वर्णन गरेपछि उनले काठमाडौंलाई 'पोस्टकार्ड' सहरका रूपमा होइन, बरू जटिल, परतदार, विरोधाभाषी र गहिरोसँग प्रकट हुने ‘राजनीतिक जीव’को रूपमा बुझे ।
यतिबेला बेलको ‘असफल लोकतन्त्रको प्रतिमान’ वाक्यांश हामीमाझ नराम्ररी गुञ्जिएको छ । यो कुरा चिच्याएर कुनै पोडियममा भनिँदैन । चौक-चौराह, चिया पसलहरू, पार्टी कार्यालयहरू अनि निरन्तर चिन्ता र चासो राख्ने बाँकी मानिसहरू बीचका शान्त कुराकानीका क्रममा सुस्त-सुस्त यो फुसफुसाइन्छ ।
पुसको कठ्याङ्ग्रिने जाडो बढ्न सुरु हुँदैगर्दा काठमाडौं चिसोले धीमा हुन्छ । र, राजनीति पनि एउटा परिचित लयमा आइपुग्छ: सडकहरूमा तमासा कम, बन्द ढोकाभित्र हिसाबकिताब ज्यादा । प्राय: देशैभरका सहरहरू कयौं दिनसम्म कुहिरोले छोपिएका हुन्छन् । घाम कमैमात्र देखिन्छ । र, मानिसहरू कहाँ न्यानो भेटिन्छ भन्ने खोजीमा रहन्छन् ।
काठमाडौंमा, राजनीतिक व्यक्तिहरू पनि यस्तै नै गर्छन् । उनीहरू न्यानो कोठाहरूमा एकत्रित हुन्छन्, एक-अर्कोलाई भरोसा दिलाउँछन् र हौसला कायमै राखिरहन आवश्यक न्यूनतम न्यानो खोजी गर्छन् । तथापि, कैयौं जमघटका बाबजुद राजनीतिको स्वभाव भने चिसै रहन्छ । शरीर न्यानो छ, गठबन्धन अस्थायी छन्, र विश्वास दुर्लभ छ । बाहिरी चिसो भलै सकिएर जाला, तर राजनीतिभित्रको चिसो निख्रिने कुनै संकेत गर्दैन ।
पुसले नेपालमा सधैं एउटा दबेको-लुकेको राजनीतिक अर्थ बोक्छ । यतिबेला बाली भित्रिसकेको हुन्छ, चाडपर्व सकिइसकेका हुन्छन् । जाडोले स्रोत र धैर्य दुबैलाई च्यापेको हुन्छ । प्रतीकात्मक रूपमा यो कष्टकर महिना हो । वर्षको सुरूआतमै गरिएका वाचा यो बेला कार्यान्वयनको माग गर्दछन् । भाषणबाजी र वास्तविकताबीचको दूरीलाई छल्न गाह्रो हुनजान्छ । काठमाडौंका सडकहरू शान्त हुन्छन् तर सत्ता अभ्यास हुने कोठाहरू सायदै चिसिन्छन् ! नेपालका कयौं महत्वपूर्ण राजनीतिक निर्णयहरूले सार्वजनिक उथलपुथलमा नभई यस्तै जाडोका मौन क्षणहरूमा आकार ग्रहण गरेको इतिहास छ ।
यो जाडोमा त्यो मौन तनाव नेपाली कांग्रेसलाई गह्रौं बनिदिएको छ ।
सबैभन्दा पुरानो यो पार्टीमा यतिबेला कुनै खास उत्साह देखिइरहेको छैन । गुटहरू जमेका छन्, आपसमा नजिकिँदैनन्, बरू एकअर्काको साथमा जानाजान दूरी बनाएर हिडेका छन् । लामो समयसम्म चल्नुलाई वैधता र फगत निरन्तरतालाई सान्दर्भिकता ठान्दै बुज्रुकहरू एउटा सानो सोचको दायरामा काम गर्न चाहन्छन् । उनीहरूको प्रवृत्ति नयाँ गर्ने होइन, बरू टिकिरहने हो । आफ्नो अस्तित्व जोगाउनु नै उनीहरूका लागि सबैथोक हो, भलै यसका लागि उद्देश्य नै किन नरित्तियोस् !
कांग्रेस पार्टीको आफ्नै स्पष्ट विधान छ । जसले के गर्ने, के नगर्ने भनेर निर्दिष्ट गर्दछ । विशेष महाधिवेशन नेतृत्वले गरिदिने कुनै उपकार होइन, विधानको व्यवस्था हो । सदस्यहरूको अधिकार हो । त्यसैले अहिलेको बहस बैधताको होइन, नियतको हो । यतिबेला पार्टीप्रति आम मानिसको विश्वास धर्मराएको छ । कार्यकर्तापंक्तिमा बेचैनी बैढेको बढ्यै छ । नेतृत्वको सान्दर्भिकताप्रति लगातार प्रश्न उठिरहेको छ । यति हुँदाहुँदै पनि विशेष महाधिवेशनबारे नेतृत्व यतिबिघ्न प्रतिरोधमा उत्रिनु बिडम्बना नै हो ।
श्रद्धेय प्रदीप गिरि यहाँ शिक्षाप्रद नैतिक सन्दर्भ हुन सक्छन् । स्थायित्वको आवरणमा लुकाइने जडताप्रति गिरिको सधैं नै विमति रह्यो । उनको बुझाई थियो- पार्टीहरू चुनाव हार्दैमा सकिँदैनन्, बरू त्यसबेला कुहिन्छन्, जब उनीहरू आफैसँग इमानदारीपूर्वक बहस गर्न छोड्छन् । उनका लागि आन्तरिक लोकतन्त्र फगत एउटा प्रक्रिया होइन, बल्कि राजनीतिक जीवन्तताको स्रोत हो । विशेष महाधिवेशनहरू सुधारका अवसर हुन्, खतरा होइनन् । विचारधारालाई यथार्थसँग, नेतृत्वलाई वैधतासँग पुन: जोड्ने अवसर हुन् ।
यहाँ २०५९ सालमा नेपाली कांग्रेस किन विभाजित भयो भन्ने सम्झनु उपयुक्त हुन्छ । त्यो केवल व्यक्तित्वको टकराव थिएन । त्यहाँ असहमति दबाइएको थियो अनि एकता र समयको नाममा निर्णयहरू टारिएका थिए । टालटुलको उपज विभाजन थियो । प्रदीप गिरिले स्वयम् त्यस असहमतिलाई आकार दिन भूमिका खेलेका थिए । अलग हुनु भलै दुखद् होला तर लोकतान्त्रिक उद्देश्ययुक्त सुखद नतिजाका लागि यसलाई स्वीकार्नुपर्ने उनको बुझाई थियो । आज विशेष महाधिवेशनको विरोध गर्नेहरूमध्ये धेरैले कुनैबेला आन्तरिक असहमति र सुधारकै भाषा बोलेर आफ्नो राजनीतिक उचाइ बनाएका थिए । र, विभाजनको कारण समेत बनेका थिए । यो चाखपूर्ण विषयलाई यतिबेला नजरअन्दाज गर्न विल्कुलै मिल्दैन ।
यदि विशेष महाधिवेशनले विभाजन निम्त्याउँछ भन्ने तर्क गरिन्छ भने उनीहरूलाई इमानदारीसँग यो प्रतिप्रश्न गरिनुपर्छ कि नवीकरणबिना एकता थोपर्नु के कम्ता खतरनाक हुन्छ ? इतिहासले भन्छ- जो पार्टीहरू आन्तरिक सुधारलाई इन्कार गर्छन्, उनीहरू प्राय: पछि गएर नराम्ररी छिन्नभिन्न हुन्छन् ।
यस सन्दर्भमा विश्व इतिहासमा थुप्रै उदाहरणहरू छन् । बेलायतको लेबर पार्टीले पुरानो नेतृत्व जोगाएर नभई त्यसलाई सामना गर्दे आफ्नो लामो अधोगतिबाट बाहिर निस्कियो । जर्मनीको सोसल डेमोक्रेट्सहरूले लज्जाजनक चुनावी पराजयपछि पुस्तान्तरण स्वीकारेर आफूलाई फेरि उभ्याए । दक्षिण अफ्रिकामा वार्तालाप कौशलले नयाँ नेतृत्वको ठाउँ लिँदा एएनसीको पतन तीव्र भयो । आन्तरिक सौदाबाजी मात्र व्यवस्थापन गरेर बाँचेका पार्टीहरूले प्रेरणा दिन सक्ने क्षमता गुमाउँछन् । असहजताको मूल्य चुकाएर नवीकरण रोज्नेहरू भने खराब समयमा उज्यालो किरण बन्न पुग्छन् ।
आज नेपाली कांग्रेस पनि यस्तै मझधारमा उभिएको छ । यदि अलग हुनु अपरिहार्य बन्छ भने बदलाव चाहने पुस्ताले पार्टी छाडेको हुँदैन । तिनै हुन्छन्, जसलाई जडताका कारण बाहिर धकेलिएको हुन्छ । यदि यस्तो भयो भने पार्टी एउटा संगठनका रूपमा त रहनसक्ला तर एउटा लोकतान्त्रिक भरोसाका रूपमा आफ्नो ऐतिहासिक भूमिका गुमाउन सक्छ । कालान्तरमा यसले कांग्रेस पार्टीलाई मात्र होइन, गणतन्त्रलाई नै कमजोर बनाउने निश्चित छ ।
विशेष महाधिवेशनप्रतिको प्रतिरोध चिरपरिचित मनोवैज्ञानिक तौरले आएको देखिन्छ । राजनीतिक मनोविज्ञानले एउटा सामान्य व्याख्या के गर्दछ भने पुराना नेतृत्व समूहहरूले प्राय: नवीकरणभन्दा क्षति टार्नेतर्फ प्राथमिकता दिएका हुन्छन् । उनीहरूलाई अप्रासाङ्गिक हुनुभन्दा ज्यादा अनिश्चितताको डर रहन्छ । महाधिवेशनले बदलाव ल्याउँछ, पदानुक्रमलाई चुनौती दिन्छ, शक्तिको पुनर्वितरण गर्छ । त्यसैले जो नेतृत्व दशकौंसम्म प्रतिस्पर्धाको साटो कुरा मिलाएरै टिकेका हुन्छन्, उनीहरूलाई विशेष महाधिवेशन अस्थिर बनाउने अस्त्र लाग्न सक्छ ।
कयौं बुज्रुक नेताहरू संघीय चुनावभन्दा अगाडि विशेष महाधिवेशन भयो भने पार्टीमा विभाजनको खतरा र चुनावी अभियान कमजोर हुने कुरा जोडतोडका साथ उठाइरहेका छन् । तर विडम्बना के भने अहिले विशेष महाधिवेशन इन्कार गर्दा झनै नोक्सान हुने सम्भावना ज्यादा देखिन्छ । किनभने आन्तरिक स्पष्टताबिना चुनावमा होमिने राजनीतिक दल सधैं नै बाहिर अलमल देखिन्छ । मतदाताहरूले यो कुरा प्रष्ट महसुस गर्छन् । यो अवस्थामा कार्यकर्ता निष्क्रिय भइदिन्छन् । उर्जा नष्ट भइजान्छ । वैधता बिनाको स्थिरताले कसैलाई विश्वस्त पार्न पनि सक्दैन ।
यो ठाउँमा कांग्रेस महामन्त्री गगन थापाको भूमिकालाई नजरअन्दाज गर्न विल्कुलै सकिँदैन । कसैले उनको राजनीतिबारे जेसुकै सोचोस्, यो तथ्य अस्वीकार गर्न सकिँदैन कि सडकको राजनीतिले वैचारिक बहसभन्दा पिँढीगत थकान झल्काउन थालेको समयमा उनले पार्टीलाई राजनीतिकरूपमा देखिने बनाए । जेन–जी विरोध, जो सिद्धान्तबाट कम र सत्ताको असफलताबाट ज्यादा प्रेरित रह्यो, सजिलैसँग कांग्रेसलाई पूर्णत: बेवास्ता गर्न सक्थ्यो । तर गगनको उपस्थिति, उनको चिन्तनशील अभिव्यक्ति र सुधारप्रतिको अडानले संस्थागत राजनीति र पिँढीगत आक्रोशबीच कम्तीमा एउटा सेतु बनाउन सक्यो । जुन पूर्ण नभए पनि महत्त्वपूर्ण जरूर रह्यो ।
गगनले त्यो समय निर्माण गरेनन्, त्यसबारे जवाफ दिए । यसो गरेर उनले पार्टीलाई सम्झाए कि आधुनिक राजनीतिमा रहिरहनुको मतलब मतदाताहरू आदतले फर्किन्छन् भनी कुर्नु होइन, इमानदारी र सुधारसहित उनीहरूतर्फ आधा बाटो तय गर्नु हो ।
त्यसैले विशेष महाधिवेशनको तर्क कमजोर होइन, बलियोगरी स्थापित भइरहेको छ । सुधारमा ढिलाइ गर्नु भनेको सुधारलाई अस्वीकार गर्नु हो । चुनावभन्दा अघि महाधिवेशनले पार्टीलाई कतै कमजोर पार्दैन, स्पष्टता दिन्छ । विचारशीलतालाई संकेत गर्छ । पुस्तान्तरण स्वीकार्छ । आन्तरिक वैधता पुनर्स्थापित गर्छ । आन्तरिक रूपमा नवीकरण भएका पार्टीहरू नै बाहिर पनि सुझबुझ दर्शाउन सक्षम हुन्छन् र आत्मविश्वासका साथ चुनावी अभियानमा होमिन सक्छन् ।
यस अर्थमा पुस हाम्रा लागि क्यालेन्डरको एउटा महिनामा मात्र सीमित छैन । यो जाडोको परीक्षा हो । यो एउटा राजनीतिक बिम्ब हो । यसले सहज क्षेत्रहरू उजागर गर्दछ । असहजतासँग जुध्न तयार भएकाहरूलाई पुरस्कृत गर्दछ, टार्नेहरूलाई होइन । जुन काठमाडौंले पहिल्यै देखिसकेको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रको निर्णायक कदम सार्वजनिक रूपमा विष्फोट हुनुअघि मौनरूपमा परिपक्व भएको थियो । लोकतान्त्रिक बदलावअघिका प्रमुख वार्ताहरू न्यानो घाममा होइन, चिसा कोठाहरूमा भएका थिए । यो सहरमा राजनीतिक भाग्यहरू प्राय: सडकहरू सुनसान र हावा तीव्र हुँदा तय भएका छन् ।
यही जाडोले नै सबै कुरा त तय नगर्ला । तर यसले केही न केही अवश्य तय गर्नेछ । नेपाली कांग्रेसका लागि यो महिनाले हिचकिचाहटको साटो नयाँपन, हिसाब-किताबको साटो साहस चुन्छ वा चुन्दैन भन्ने निर्धारण गर्नेछ । काठमाडौंका लागि चाहिँ एकपटक फेरि देखाउनेछ कि यो सहर ‘असफल लोकतन्त्रको प्रतिमान’ नै रहेको छ वा यस्तो स्थान जहाँ मौनतापूर्वक लिइएका निर्णयहरू अझैं पनि दिशा बदल्ने सामर्थ्य राख्छन् ।
जाडो सधैं रहँदैन । तर जाडोको समयमा मानिसले कस्तो व्यवहार गर्छ, त्यसले वसन्तमा के बाँच्छ भन्ने कुरा धेरै हदसम्म तय गर्छ । अहिलेको प्रश्न सरल र टार्न नसकिने पनि छः जब मौसम खुल्छ, के नेपाली कांग्रेसले आफूलाई अझै पनि लोकतान्त्रिक शक्ति भनेर चिनाउँछ, कि परिवर्तनभन्दा सहज बाटो रोज्ने एउटा संगठन मात्र भएर रहन्छ ?
