समानुपातिक निर्वाचनमा ६४ दल : ३ हजार ४२४ उम्मेदवार

५४ दलले आफ्नो निर्वाचन चिह्न र १० दलले ४ एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने भएका छन्।

पुस १६, २०८२

राजेश मिश्र

64 parties: 3,424 candidates in proportional representation elections

What you should know

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५८ निर्वाचन चिह्नमा ६४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । ५४ दलले आफ्नो निर्वाचन चिह्न र गठबन्धन गरेका १० दलले ४ वटा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने भएका हुन् । समानुपातिकतर्फ १ सय १० सिटका लागि सबै दलबाट गरी ३ हजार ४ सय २४ जनाको उम्मेदवारी परेको छ । 

५४ दलले एकल रूपमा बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् भने दुई वा त्यसभन्दा बढी दलले गठबन्धन गरेर ४ बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति १३–१४ पुस तोकेको थियो । तर, दलहरूले सूची दिन ढिलाइ गर्दा आयोगले सोमबार रातभरि मात्रै नभएर मंगलबार बिहानसम्म बन्दसूची बुझ्नुपरेको थियो ।

बन्दसूची बुझाउने पहिलो दिन आइतबार ३ दलले मात्र सूची बुझाएका थिए । दोस्रो दिन सोमबार अपराह्नपछि मात्रै आयोगमा सूची बुझाउनेको चाप बढेको थियो । प्रमुख दल कांग्रेस, एमाले, नेकपा र रास्वपालगायतले कार्यालय समयभित्र सूची बुझाएनन् । राति अबेरसम्म पार्टीको आन्तरिक बैठक तथा पार्टी एकीकरण प्रक्रियामा व्यस्त रहेका दलहरूले आयोगलाई आफ्नो सुविधाअनुसार प्रयोग गरे । 

एमाले सोमबार राति ८ बजे सूची लिएर आयोग पुगेको थियो । त्यसपछाडि नेकपाले उम्मेदवारको सूची बुझाएको थियो । रास्वपा राति १ बजेपछि मात्रै आयोगमा पुग्दा पुरानो दल कांग्रेसले मंगलबार बिहान मात्र सूची पेस गरेको थियो । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा दिउँसोदेखि रातभरि आयोग परिसरमै थिए । तर, पार्टीभित्रको गुटगत सहमति मिलाएर १ सय १० जनाको सूची तयार पार्न कांग्रेसलाई हम्मे परेको थियो ।

64 parties: 3,424 candidates in proportional representation elections

समानुपातिकतर्फ प्रतिस्पर्धा गर्न एक सय राजनीतिक दलका तर्फबाट ९३ निवेदन परेको थियो । आयोगले समानुपातिकतर्फ निर्वाचनमा भाग लिने दललाई दर्ताका लागि २१–२३ मंसिरसम्म दिएको समयावधिभित्र ८८ दलले एक्लाएक्लै तथा १२ दलले विभिन्न ५ अलग समूहबाट निवेदन दिएका थिए । तिनै दलहरूबाट बन्दसूची आउने अपेक्षा थियो । आयोगले त्यसअनुसार कम्प्युटर तथा कर्मचारी व्यवस्थापन गरेको थियो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई दलहरू समयमा नआइदिएर सूची बुझ्ने कार्य रातभरि चलाउनुपरेको बताउँछन् । रीतपूर्वक प्रक्रियामा राजनीतिक दलहरू आयोगमा प्रवेश गरे पनि सूची मिलाउन, सूचीमा थपघट गर्न वा नेताहरूबाट अनुमोदन गराउन समय लगाएका थिए । आयोगका कोठा–कोठामा दलका नेता तथा कार्यकर्ताहरू अबेरसम्म सूची मिलाउन व्यस्त थिए । रीतपूर्वक प्रक्रियामा प्रवेश गरिसकेका सबै दलले बन्दसूची बुझाउन पाऊन् भनेर आयोगले रातभरि सेवा दिएको भट्टराईले बताए ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully