रास्वपामा ‘प्राइमरी इलेक्सन’ भए पनि तजबिजमै छानिए उम्मेदवार

आन्तरिक प्रतिस्पर्धामा खसआर्य महिलातर्फ सर्वाधिक मत ल्याएकी रञ्जु दर्शना १० औं नम्बरमा, आदिवासीतर्फ सर्वाधिक मत ल्याउने उत्तमबहादुर गुरुङ र दलिततर्फ सर्वाधिक मत ल्याउने विजय जैरु बन्दसूचीमै अटाएनन्, क्रमसंख्या पनि धेरैको घटबढ

पुस १६, २०८२

जयसिंह महरा

Even though there was a 'primary election' in the RSVP, candidates were chosen on a whim.

What you should know

काठमाडौँ — प्रतिनिधिसभा होस् कि स्थानीय तहको चुनाव, उम्मेदवार छनोटमा राजनीतिक दलका शीर्ष नेता हाबी हुँदै आएका छन् । त्यसविपरीत रास्वपाले यस पटक समानुपातिक उम्मेदवार चयन गर्न पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्‍यो । तर, आन्तरिक चुनावको मतपरिणामअनुसार उम्मेदवार छनोट र क्रमसंख्या नहुँदा पार्टीभित्र असन्तुष्टि बढेको छ । 

रास्वपाले ‘नेताको घर र चोटाकोठा होइन, जनताको मनमा बस्ने र देश, समाज तथा समुदायको परिवर्तनको मार्गचित्र कोर्नेहरूले निर्वाचनमा उठ्ने र जित्ने अवस्था निर्माण गर्ने’ भन्दै उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन गरेको थियो । ‘प्राइमरी इलेक्सन’ का लागि रास्वपाले समानुपातिक उम्मेदवारको आकांक्षा राख्नेहरूबाट ५० हजार रुपैयाँ* संकलन गरेको थियो । 

४ सय १४ जनाले फाराम भरेकामा ३ सय ८७ जनाको नामावली ११ पुसमा सार्वजनिक गरिएको थियो । यसबीचमा रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपालसँग एकता गर्‍यो । समानुपातिकमा बालेन्द्रका समर्थक र उज्यालो नेपालका उम्मेदवारलाई पनि समेटियो । तर, मूल रास्वपाले आफ्नो समूहबाट समानुपातिक उम्मेदवार सिफारिस गर्दा आन्तरिक चुनावको मतपरिणाम कार्यान्वयन गरेन । 

रास्वपाको प्राइमरी मतपरिणामअनुसार खसआर्य पुरुषको ‘क्लस्टर’मा सहप्रवक्ता रमेश प्रसाईंले सबैभन्दा बढी मत पाएका थिए । १८ हजार २२३ मत पाएका प्रसाईं निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा उक्त ‘क्लस्टर’को पाँचौं नम्बरमा छन् । उक्त ‘क्लस्टर’मा पहिलो नम्बरमा पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य छन् । उनी प्राइमरीमा १२ हजार २४५ मत ल्याएर तेस्रो भएका थिए । 

प्राइमरीमा खसआर्य महिलामध्ये रञ्जु दर्शनाले सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् । १३ हजार ५५१ मत प्राप्त गरेकी उनलाई बन्दसूचीको १०औं नम्बरमा पुर्‍याइएको छ । प्राइमरीमा ११ हजार ७२१ मत ल्याएर महिलातर्फ छैटौं नम्बरमा रहेकी सहप्रवक्ता प्रतिभा रावल बन्दसूचीमा खसआर्य महिला ‘क्लस्टर’को पहिलो नम्बरमा छिन् ।

प्राइमरीमा आदिवासी जनजाति पुरुष ‘क्लस्टर’मा १६ हजार १२ मत ल्याएर उत्तमबहादुर गुरुङ पहिलो भएका थिए । तर, समानुपातिक बन्दसूचीमा उनको नामै छैन । रास्वपाले उक्त ‘क्लस्टर’को पहिलो नम्बरमा डा. राम लामालाई छनोट गरेको छ । लामा उज्यालो नेपालबाट बन्दसूचीमा परेका हुन् । प्राइमरीमा १४ हजार २०१ मत पाएर दोस्रो नम्बरमा रहेकी सत्यकला राई बन्दसूचीमा भने आदिवासी जनजाति महिला ‘क्लस्टर’को १६औं नम्बरमा परेकी छन् । प्राइमरीमा राईभन्दा पछि रहेकी टासी ल्हाजोमलाई भने उक्त ‘क्लस्टर’मा एक नम्बरमा सिफारिस गरिएको छ । प्राइमरीमा उनले १३ हजार ७२ मत पाएकी थिइन् । 

उक्त ‘क्लस्टर’मा प्राइमरीमा ११ हजार ७३२ मत ल्याएर निर्मला खिम्दिङ चौथो स्थानमा थिइन् । बन्दसूचीमा भने उनी १७औं नम्बरमा छिन् । सोही ‘क्लस्टर’मा ११ हजार २३५ मत ल्याएकी मेघना श्रेष्ठ छैटौं नम्बरमा थिइन् । तर बन्दसूचीमा आदिवासी जनजाति महिलामा १७ जना सिफारिस गर्दा उनको नाम छैन । 

प्राइमरी चुनाव गर्दा मधेशी महिला ‘क्लस्टर’मा १५ हजार ७४५ मत ल्याएर पुनमकुमारी अग्रवाल पहिलो भएकी थिइन् । बन्दसूचीमा उनलाई पहिलो नम्बरमा नै राखिएको छ । 

११ हजार १२० मत ल्याएकी सोनमतीकुमारी यादव बन्दसूचीमा परेकी छैनन् । तर प्राइमरीमा ११ हजार ३८ मत ल्याएकी कामिनी कुमारी बन्दसूचीको छैटौं नम्बरमा छिन् । प्राइमरीमा ९ हजार ९६२ मत ल्याएकी जुली यादव मधेशी महिलातर्फ बन्दसूचीमा दसौं नम्बरमा छन् । प्राइमरीमा नवौं नम्बरमा रहेकी निशा मेहता भने बन्दसूचीमा चौथो नम्बरमा परेकी छन् । 

प्राइमरीमा मधेशी पुरुषतर्फ सबैभन्दा बढी मत १० हजार ४३७ ल्याएका डा. अभिजित गुप्ता बन्दसूचीको सोही ‘क्लस्टर’को आठौं नम्बरमा छन् ।प्राइमरीमा दलित पुरुष ‘क्लस्टर’मा विजय जैरु १३ हजार १४३ मत ल्याएर पहिलो भएका थिए । तर बन्दसूचीमा उनको नामै छैन । प्राइमरीमा दोस्रो नम्बरमा रहेका रूपक विश्वकर्मालाई बन्दसूचीको एक नम्बरमा राखिएको छ भने गायक प्रकाश सपुत दोस्रो नम्बरमा छन् । 

थारू पुरुष ‘क्लस्टर’ तर्फ प्राइमरीमा दोस्रो धेरै मत ल्याएका चुमन चौधरी बन्दसूचीमा छैनन् । प्राइमरीमा थारू महिलातर्फ सबैभन्दा धेरै मत ल्याउने पुष्पाकुमारी चौधरी (१३ हजार ५३५) थिइन् । उनी पनि बन्दसूचीमा परेकी छैनन् । १० हजार २२८ मत ल्याउने करिस्मा कठरिया र ७ हजार १५४ मत ल्याएकी गीता चौधरी थारू महिलातर्फ बन्दसूचीमा छन् । गीता पहिलो र करिस्मा तेस्रो नम्बरमा छन् ।

रास्वपाले दुई मुस्लिम पुरुष र तीन मुस्लिम महिलालाई बन्दसूचीमा समेटेको छ । प्राइमरीमा बढी मत ल्याउने खस्तर हुसेन (१५ हजार १५७) र मोहम्मद हसरत अली (१४ हजार ४६३) लाई बन्दसूचीमा नसमेटी १० हजार ८७३ मत ल्याएका मिर्जा रासिद बेगलाई उम्मेदवार बनाइएको छ । 

दलित पुरुष ‘क्लस्टर’को चौथो नम्बरमा परेका डा. रामजी रामले प्राइमरीमा अग्रस्थानमा रहेकामध्ये बन्दसूचीमा कसैको नामै नभएको र बढी मत ल्याए पनि कसैलाई पछि पारिएकोमा असन्तुष्टि जनाएका छन् । ‘लोकतन्त्रमा मतको अर्थ हुनुपर्छ । रास्वपाले प्राइमरी इलेक्सन गराई अग्रस्थान हासिल गरेका व्यक्तिहरूलाई तलमाथि गरेको देखियो । दलितबाट सर्वाधिक मत ल्याउनुभएका विजय जैरुको नाम नै सूचीमा देखिएन,’ रामले भने, ‘प्राइमरी इलेक्सनलाई छनोटका आधार मानिएको हो/होइन जवाफ चाहियो । रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरुलाई स–सम्मान उचित स्थानमा राखौं । मेरो नाम त्यहाँ हुनु र उहाँको नाम नहुनुले लज्जाबोध भयो ।’ 

आफूलाई समानुपातिक सूचीबाट हटाएर जैरुलाई राख्न पनि उनले सुझाव दिएका छन् । पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले नै पार्टीलाई बलियो बनाउने उनको तर्क छ । प्राइमरीमा खसआर्य महिलामा पहिलो बनेकी रञ्जु दर्शनाले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्ट व्यक्त गरेकी छन् । ‘हरेक दिन धेरै लडाइँहरू लड्दै– केही आन्तरिक तर धेरै बाह्य,’ उनले लेखेकी छन् । 

रास्वपाले समानुपातिक उम्मेदवार छनोट गर्न सहमहामन्त्री विपिनकुमार आचार्यलाई संयोजक बनाएर समिति गठन गरेको थियो । तर, आफैं आकांक्षी भएकाले आचार्यले बीचमै संयोजक पद छोडे । तर प्रदेशगत रूपमा सार्वजनिक सूचीमा उनको नाम थिएन । बन्दसूचीमा भने खसआर्य पुरुषतर्फ आचार्यको नाम पहिलो नम्बरमा राखेर निर्वाचन आयोगमा बुझाइएको छ । ‘आफैं उम्मेदवार बनेपछि संयोजकबाट राजीनामा दिएको थिएँ,’ आचार्यले भने, ‘अहिले उम्मेदवारसँग हुने छलफल, घरदैलो, भविष्यको ब्लुप्रिन्टको प्रस्तुतिलगायत सबै प्रक्रियामा सामेल भएर छानिएर आएको हुँ ।’ निर्वाचनको मतभार ५० प्रतिशत मात्र हुने भएकाले धेरै भोट पाउँदैमा छनोटमा पर्छ भन्ने नहुने उनले बताए । 

रास्वपाका समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले प्राइमरी चुनावमा बढी मत ल्याउनेलाई मात्रै उम्मेदवार सिफारिस गर्ने उद्देश्य नरहेको बताए । प्राइमरी इलेक्सन उम्मेदवार चयनको पाँचमध्ये एउटा मापदण्ड भएको उनको भनाइ छ । ‘प्राइमरी मात्रै उम्मेदवार चयन गर्ने अन्तिम मापदण्ड होइन । लिडरसिप, एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, राजनीतिक योगदान, अनुभव, सुझबुझ सबैको समीक्षा गरेर उम्मेदवार बनाइएको हो,’ उनले भने । पछिल्लो समय रास्वपाले अन्य नयाँ शक्तिसँग एकता गर्दा उम्मेदवार थप भएको परियारको भनाइ छ । ‘सहकार्य, एकीकरण, ध्रुवीकरण गर्दा कतिपय सहमतिलाई पालना गर्नुपर्ने विश्वभरिको प्रचलन हो,’ उनले भने । 

रास्वपाले बनाएको उम्मेदवार छनोटसम्बन्धी विधिमा ‘लिडरसिप एकेडेमी’ अन्तर्गत राजनीतिक चेत/विचार, सदाचार र नैतिकता, शिक्षा तथा पेसागत अनुभव, नेतृत्वदायी अनुभव र भविष्यदृष्टि (दीर्घकालीन योजनाको ब्लुप्रिन्ट) मा रहेर अंक दिइने भनिएको छ । पोलिटिकल प्रोक्सिमिटीअन्तर्गत पार्टीसँग आबद्धताको अवधि, निरन्तरता, पार्टी निर्माणमा योगदान र कार्यसम्पादन, निर्वाचन क्षेत्रमा सक्रियता र नेतृत्वलाई ५० प्रतिशत, सामाजिक–डेमोग्राफिक प्रोक्सिमिटीलाई २५ प्रतिशत र लोकतान्त्रिक प्रोक्सिमिटीलाई २५ प्रतिशत अंक दिएर नम्बर दिने भनिएको छ ।

 ‘बाहिर र आन्तरिक निर्वाचनबाट उम्मेदवार छानिने भनिए पनि ५० प्रतिशत अंक दिन भनेर छुट्टै समिति बनाएर चलखेल हुने रहेछ,’ आन्तरिक निर्वाचनमा अगाडि रहेर पनि बन्दसूचीमा पछि परेका एक नेताले भने, ‘त्यसमा तथ्यपरक, प्रमाणमा आधारित र मापनयोग्य मूल्यांकन हुने भनिए पनि कतिपय विषय यस्ता रहेछन् कि जसलाई कसरी मापन गर्ने र कति अंक दिने भन्ने नै हुँदैन ।’

* ‘प्राइमरी इलेक्सन’ मा समानुपातिकतर्फ उम्मेदवारको आकांक्षा राख्नेहरूबाट ५० हजार संकलन गरेको हुनुपर्नेमा २५ हजार रुपैयाँ उल्लेख भएकोमा सच्याइएको छ ।–सम्पादक

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully