११० जनाको समानुपातिक उम्मेदवार सूचीमध्ये एमालेबाट ३ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना, राप्रपा, रास्वपबाट १/१ जना समेटिएका छन् । तर, कांग्रेसले भने समानुपातिक सूचीमा काभ्रेबाट कुनै उम्मेदवार समेटेको छैन ।
What you should know
काभ्रे — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा विभिन्न राजनीतिक दलबाट काभ्रेका ८ जना समेटिएका छन् ।
११० जनाको समानुपातिक उम्मेदवार सूचीमध्ये एमालेबाट ३ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना, राप्रपा, रास्वपबाट १/१ जना समेटिएका छन् । तर, कांग्रेसले भने समानुपातिक सूचीमा काभ्रेबाट कुनै उम्मेदवार समेटेको छैन ।
तेमाल गाउँपालिकाका इन्द्रबहादुर तामाङ, पाँचखालकी भक्तकुमारी लामा र बनेपा नगरपालिकाकी सुमित्रा भोछिभोया समेटिएका छन् । इन्द्रबहादुर तामाङ २०७९ को स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उनी एमालेको बागमती प्रदेश कमिटीको सचिवालय सदस्य हुन् । भक्तकुमारी लामा २०७४ को स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुखको पदमा पराजित भएकी थिइन् । हाल उनी एमालेको बागमती प्रदेश कमिटीको उपसचिव हुन् । सुमित्रा भोछिभोया अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूचीमा काभ्रेबाट दिपा श्रेष्ठ परेकी छन् । राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकका ११० जनाको नाम निर्वाचन आयोगमा पेस गरेकोमा श्रेष्ठ समावेश भएकी हुन् । उनी सिभिल इन्जिनियरिङ पृष्ठभूमिकी हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीमा काभ्रेका राम लामा समेटिए । उनी आदिवासी जनजाति (पुरुष)तर्फ पहिलो नम्बरमा रहेका छन् । काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङका प्राध्यापक रहेका उनी केयूको ग्रिन हाइड्रोजन ल्याबका कोडिनेटरसमेत हुन् ।
नेपाली कम्युनिष्ट पार्टीले आयोगमा पेस गरेको बन्दसूचीमा नमोबुद्ध नगरपालिकाकी रामेदेवी तामाङ, बनेपा नगरपालिकाका दिपक शर्मा जंगम र तेमाल गाउँपालिकाका रहर सिंह लामा समेटिएको छ । तामाङ २०७४ मा नमोबुद्ध नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् । एकल महिलाहरुको हकहितका लागि उनले लामो समयदेखि काम गर्दै आएकी छिन् । जंगम कानुनी व्यवसायी हुन् । लामा वैदेशिक रोजगारी व्यवसायी हुन् ।
कांग्रेसले भने समानुपातिक सूचीमा काभ्रेबाट कुनै उम्मेदवार समेटेको छैन ।
