एमालेमा नेतृत्व चयन गर्न रातभर मतदान, नतिजा आज

सुस्त गतिमा भइरहेको मतदानमा अध्यक्षका प्रतिस्पर्धीद्वय ओली र पोखरेलले पनि निकै समय लगाए

पुस ३, २०८२

गंगा बीसी, जयसिंह महरा

Voting to elect leadership in UML continues overnight, results today

What you should know

काठमाडौँ — एमाले अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल मतदान गर्न सँगै भृकुटीमण्डपमा देखिए । केही समय सामान्य कुराकानी गरेपछि उनीहरूले विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरुवात गरे । ओलीले बुथ नम्बर ७७ र पोखरेलले ७६ मा मतदान गरे । सबै तयारी भए पनि आधा घण्टा पर्खेर अध्यक्षका दुई प्रतिस्पर्धीबाटै मतदान सुरु गरिएको थियो । 

ओली र पोखरेल दुवैले मतदान गर्न निकै समय लगाए । मतदानपछि केही बेर अलमलिएर ओली भृकुटीमण्डपबाट बाहिरिएका थिए । भृकुटीमण्डप हलबाहिर ओलीले अरू उम्मेदवार र प्रतिनिधिसँग चौरमै बसेर फोटो सेसन पनि गरे । पोखरेल भने त्यहीं बसेर मतदातासँग भोट मागिरहेका थिए । उपाध्यक्ष र महासचिव, सचिव र केन्द्रीय सदस्यका उम्मेदवार बुधबार दिनभर मत माग्न व्यस्त थिए । राति भने ओली, पोखरेललगायतका नेताहरू मतदानस्थलमा अबेरसम्म बसिरहे । 

प्रदर्शनीमार्गको सडकमा सचिवका उम्मेदवारहरू महेश बस्नेत, कर्ण थापाका समर्थकले ‘कटआउट’ मत मागिरहेका थिए । मतदान सुस्त हुँदा उम्मेदवारले लामो समय मत माग्ने मौका पाएका थिए । बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेपनि सोचेजस्तो हुन सकेन । 

जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको छ । ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् । प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न मिल्दैन । 

मतदाताहरू लाइनमा बसेको २ घण्टासम्म पनि मत हाल्न नपाएको गुनासो गरिरहेका थिए । त्यही मौकामा उम्मेदवारहरू लाइन लागेका प्रतिनिधिसँग मत मागिरहेका थिए । मतदान सकिएको करिब तीन घण्टामा नतिजा घोषणा गर्न सकिने महाधिवेशन निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । ‘मतदान गर्न समय लागे पनि त्यो सकिएको तीन घण्टामा नतिजा दिन सकिनेछ,’ उनले भने ।

पोखरेलका अनुसार केही शीर्ष नेता (पदाधिकारीका उम्मेदवार) ले पनि मतदान गर्न १ घण्टाभन्दा बढीसम्म समय लगाएका थिए । ‘कसैले १ घण्टा ४ मिनेटसम्म समय लगाउनुभएको छ । छिटोमा ९ मिनेट, ढिलोमा २ घण्टा ४ मिनेट र सरदरमा ३० देखि ३५ मिनेट समय लागेको छ,’ उनले भने । एक पटकमा ८० जनाले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । मतदाता २ हजार २ सय ६२ जना छन् । एक घण्टामा सरदर एक सय जनाले मतदान गरेका छन् । 

संस्थापनले ओलीलाई ‘ब्रान्डिङ’ गरी प्यानल जिताउन प्रचार गरेका छन् भने ईश्वर पोखरेल पक्षले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई जोड दिएको छ । तेस्रो कार्यकालका लागि पनि ओलीको नेतृत्व किन ? भन्ने प्रश्नमा पार्टी जोगाउन र राजनीतिलाई सही दिशा दिन भन्ने ओली पक्षको तर्क छ । पोखरेल पक्षले पार्टी र नेतृत्वप्रति गम्भीर प्रश्न आएकाले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् ।

नवौं महाधिवेशनको झल्को दिने गरी ओली र पोखरेल प्यानल बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेको २०७१ नवौं महाधिवेशनमा केपी ओली र माधव नेपालले प्यानल बनाएर भृकुटीमण्डपको त्यही स्थानमा प्रतिस्पर्धा गरेका थिए । त्यही बेलादेखि ओली पार्टी नेतृत्वमा पुगेका थिए । त्यसबेला नतिजा मिश्रित आएको थियो । दुवै पक्षका उम्मेदवार विजयी भएका थिए । यो महाधिवेशनमा महासचिवका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले महासचिवमा र शंकर पोखरेलले उपहासचिव पदमा हारेका थिए । ओली पक्षबाट महासचिवमा ईश्वर पोखरेलले जितेका थिए ।

यो ११औं महाधिवेशनमा पार्टी एकताबद्ध हुन मिश्रित परिणाम आउनुपर्ने मनोविज्ञान पनि नेताहरूले व्यक्त गरिरहेका छन् । एउटा प्यानलले जित्दा फरक विचारलाई सम्मान हुने सम्भावन न्यून भएकाले मिश्रित परिणाम आउनु उपयुक्त हुने उनीहरूको भनाइ छ ।

२०७८ चितवनमा भएको १०औं महाधिवेशनमा ओलीविरुद्ध भीम रावल र अन्य नेताबीच प्रतिस्पर्धा भए पनि ‘स्वस्थ’ हुन सकेन । अध्यक्षका प्रतिस्पर्धी रावलले एमाले छाडिसकेका छन् । उपाध्यक्षमा उम्मेदवार दिएका घनश्याम भुसाल पनि बाहिरिसकेका छन् । मतदान गर्न जानेहरूले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेल समूहका उम्मेदवारको सूची लिएर गएका थिए । निर्वाचन आचारसंहितामा नै दुवै समूहका उम्मेदवारको सूची मतदान स्थलमा लैजान पाइने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी, पदाधिकारी गरी ६ सय ३ ले उम्मेदवारी दिएका थिए । त्यसमा ११ निर्विरोध र १३ ले उम्मेदवारी फिर्ता लिएकाले ५ सय ७९ जना चुनावी मैदानमा थिए ।

आयोगका उपाध्यक्ष पोखरेलले मतदान सुरु भइसकेपछि स्थगित गर्न नमिल्ने भएकाले रातभर नै निरन्तर गरिएको बताए । ८० वटै मेसिनले निरन्तर काम गरिरहेको पनि उनले जानकारी दिए । ‘मतदान गर्दा मतदाताहरू बेहोस हुने र मतदान गर्न नसकेर असिनपसिन भएको अवस्था छ,’ उनले भने । 

मतदान गर्न धेरै समय लागेपछि कुपन लिएर बस्ने व्यवस्था मिलाइएको थियो । सुरुमा बुधबार दिउँसो ५ बजेभित्र मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने भनिएकोमा पछि त्यो समय पाँच घण्टा थप गरिएको थियो । त्यसपछि १० बजेभित्र मतदान केन्द्रभित्र प्रवेश गर्नेले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको प्रचारप्रसारको जिम्मेवारी सम्हालिरहेका राजेन्द्र गौतमले जानकारी दिए । 

आफ्ना उम्मेदवारलाई भोट माग्न लोक गायिका तथा कलाकार ज्योति मगर पनि पुगेकी थिइन् । उनले अध्यक्षका उम्मेदवार ओलीसँग पनि भेट गरेर तस्बिर खिचेकी थिइन् । आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार पूर्ण गुरुङको पक्षमा भोट मागिरहेकी थिइन् । आफ्नो भने राजनीतिमा आउने सोच नभएको उनको भनाइ थियो । ‘मेरो राजनीतिमा आउने सोच छैन, विकास चाहिन्छ भने जुन व्यक्ति जुन क्षेत्रमा काम गर्नुहुन्छ, त्यसैमा काम गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भनेकी थिइन् । 

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि भोट मागिरहेकी थिइन् । मतदानका लागि लाइनमा लागेका प्रतिनिधिसँग कति समयदेखि लाइनमा लागेको ? कस्तो छ अवस्था ? लगायतका कुरा सोधखोज गर्दै आफूलाई भोट दिन उनी आग्रह गरिरहेकी थिइन् ।

गंगा

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully