चुनावी प्रचारप्रसारका क्रममा केही उम्मेदवारले महाधिवेशनस्थलमा पञ्चेबाजा नै ल्याएका थिए ।
What you should know
काठमाडौँ — भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएपछि एमालेको ११ औं महाधिवेशन अन्तर्गत आइतबारदेखि भृकुटीमण्डपभित्र बन्दसत्र सुरु भयो । देशभरिबाट जम्मा भएका प्रतिनिधिसहित एमाले नेता, कार्यकर्ता महाधिवेशनस्थलमा प्रचारप्रसारमा थिए । उनीहरुको प्रचारप्रसारका अनेक शैली देखिन्थ्यो ।
चिसोको प्रवाह नगरी कसैले नारा लगाउँदै, कसैले आफ्नो मुद्दा सुनाउँदै मतदाता फकाइरहेका देखिन्थे । केही उम्मेदवारका समर्थकहरू फोटोसहितका प्रचार सामग्री टाँसिएको छाता ओढेर, टिसर्ट भिरेर, कोही फ्लेक्स र कटआउट बोकेर हिँड्न र पर्चा बाँड्न व्यस्त थिए । चुनावी माहोललाई थप रंगिन बनाउन केही उम्मेदवारले पञ्चेबाजा नै महाधिवेशनस्थल ल्याएका थिए ।
काठमाडौंको चन्द्रागिरिबाट आएको चिनारी नौमती बाजा समूहकी कोषाध्यक्ष सुशीला अधिकारीले पारिश्रमिक लिएर आफूहरूको ११ जनाको समूह राजधानी विशेष प्रदेश सदस्य पदका उम्मेदवार सन्तोष खड्काको प्रचारका लागि आएको बताइन् । भूगोल अनुसारको पोसाक र प्रचार शैलीले भृकुटीमण्डप केवल राजनीतिक कार्यक्रमस्थल मात्रै बनेको थिएन, सांगीतिक कार्यक्रम जस्तो बनेको थियो ।
सडकभर उम्मेदवारका भिजिटिङ कार्ड र प्रचार सामग्री असरल्ल थिए । कतै बदाम, सुन्तला, चिया र खाजा खाँदै राजनीतिक गफ चलिरहेको हुन्थ्यो । कोही प्रतिनिधिहरू फुर्सदको समय सदुपयोग गर्दै भृकुटीमण्डपभित्र किनमेल गरिरहेका पनि देखिन्थे । मतदानस्थल बाहिर कफी सप, बदाम, सुन्तला पसल भएकाले घाम ताप्दै ती कुरा खाने सुविधा छ ।
बाराबाट आएकी प्रतिनिधि दुर्गा कोइराला व्यक्तिको फोटो र नाम हेर्दै मेसिनबाट मतदान गर्दा सजिलो भएको बताइन् । उनका अनुसार यसरी मतदान गर्दा बदर मत शून्य हुने हुँदा निर्वाचन प्रभावकारी हुन्छ ।
चितवनबाट आफ्नो पक्षका उम्मेदवार पक्षमा प्रचार गर्न र हौसला थप्न आएका हरि आचार्य प्रतिनिधि र समर्थकको यो यस्तो गतिविधिले लोकतन्त्रलाई मजबुत गर्ने बताउँछन् । ‘चुनावी माहोलमा एक दिनको यो प्रचार शैलीले खासै मतदातालाई प्रभाव नपारे पनि भाइचारा र आत्मीयता भने बढाउने बढाउँछ,’ आचार्यले भने, ‘आफ्नो पक्षमा कोको रहेछ थाहा पाउने र थाहा दिने माध्यम पनि यो बनेको छ । जनता र पार्टीको पक्षमा काम गर्नेलाई एक/दुई दिने प्रचारले भने खासै प्रभाव पार्दैन ।’
प्रचारप्रसारको क्रममा एउटै समूहका उम्मेदवारका फरक–फरक नाम सूची भएका पर्चा बाँडेर आफ्नो पक्षमा नजिता पार्नेहरू पनि सक्रिय देखिन्थे । आधिकारिक उम्मेदवारको नाम काटेर अर्को उम्मेदवारको नाम राखेर तयार पारिएका पर्चा मतदान गर्न गइरहेका प्रतिनिधिलाई वितरण गरिएको थियो । भृकुटीमण्डपभित्र फोटो र टिकटक जोन बनाइएकाले कोही प्रतिनिधिहरू भने त्यहाँ पनि रमाइरहेको देखिन्थ्यो ।
महाधिवेशनका कारण यस क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । भृकुटीमण्डपको मुख्य गेटमै कडाइका साथ सुरक्षा जाँचपछि मात्र प्रतिनिधि, उम्मेदवार र स्वयंसेवकलाई प्रवेश दिइएको थियो । गेट छिर्नासाथ फेरि अर्को सुरक्षा जाँच पार गरेर मात्र मतदान केन्द्रसम्म पुग्न सकिन्थ्यो । प्रदर्शनीमार्गमा भिड हुन नदिन सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
