एमाले महाधिवेशन : साढे चार घन्टामा ५ सय ३६ मत मात्रै खस्यो (अपडेट)

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन्।

पुस २, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Only 536 votes cast in four and a half hours (Update)

काठमाडौँ — बिहान झन्डै १० बजेदेखि सुरु भएको एमाले महाधिवेशनमा दिउँसो साढे २ बजेसम्म जम्मा ५ सय ३६ मत मात्रै खसेको छ।

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएको बताउँदै कतिपयले २ घन्टासम्म पनि लगाएको बताए।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन्। एमालेले राति १० बजेसम्म मतदान सक्ने बताए पनि यही रफ्तारमा मतदान जारी रहे तोकिएको समयमै सकिनेमा शंका छ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन्। पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully