अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना सुरु हुनेछ ।
काठमाडौँ — एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो । मतदानका क्रममा ३६ जना महाधिवेशन प्रतिनिधि भने अनुपस्थित रहे ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।
अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना सुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने र मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ । प्रत्येक मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ ।
कुल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ । त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्सनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ । मतगणना प्रारम्भ भएको तीन घण्टाभित्र नतिजा घोषणा गर्न सकिने ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
