केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ ।
काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउने पर्ने भएकाले बेलुकादेखि मात्र मतदान सुरु हुने ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।
हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ । ११ जना निर्विरोध रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यस अवस्थामा एक जना प्रतिनिधिले कम्तीमा २ सय ९२ जनालाई मत दिनुपर्ने छ ।
८० वटा मेसिन प्रयोग हुने भएकाले एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने भए । एक राउन्डका लागि २५ मिनेट लाग्ने भएकाले २ हजार २ सय ६२ प्रतिनिधिलाई भोट हाल्न कम्तीमा ११ घण्टा लाग्नेछ ।
त्यस्तै एमाले ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले पनि मतदान सकिन कम्तीमा १० घण्टा लाग्ने बताए ।
