एमाले विधानमा फेरि संशोधन : पदाधिकारी संख्या १९ पुर्‍याइयो

अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ। स्थायी कमिटी ४५ सदस्यीय र पोलिटव्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

UML statute amended again: Number of office bearers increased to 19

काठमाडौँ — एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्। 

अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ। 

यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष पद नै हटाइएको थियो। विधान महाधिवेशनलगत्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

पोखरेलले विद्रोह गर्ने निश्चित भएपछि ओलीले आफ्नै समूहमा नेताहरूलाई व्यवस्थापन गर्ने गरी जेन-जी आन्दोलनलाई कारण देखाउँदै फेरि विधानमा संशोधन गरेका हुन् । अब एमाले पदाधिकारीमा अध्यक्ष १,  उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जना रहने छन्। 

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार बैठकले विधानमा संशोधनमा आवश्यक हेरफेर गरी पदाधिकारी संख्या १९ पुर्‍याउने र स्थायी कमिटी ४५ सदस्यीय र पोलिटव्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ। 

बैठक सकिएपछि भृकुटीमण्डपमै ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु हुँदैछ।

यहाँ लेख्नुहोस्...

कान्तिपुर संवाददाता

Link copied successfully