एमाले महाधिवेशन प्रतिनिधिको जिम्मेवारी

जुनसुकै पार्टीको महाधिवेशन पनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने सबैभन्दा उच्चतम थलो हो । तर यसलाई कर्मकाण्डी बनाउने प्रवृत्ति देखिँदै आएको छ ।

मंसिर २८, २०८२

सम्पादकीय

Responsibilities of UML General Convention Delegates

What you should know

भदौको जेन–जी आन्दोलनका कारण बदलिएको राजनीतिक परिस्थितिपछि मूलधारका पार्टीहरूले आफूलाई कसरी अनुकूलित बनाउलान् भनेर प्रतीक्षा भइरहेको पृष्ठभूमिमा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन प्रारम्भ भएको छ । प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिका बीच शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र समापन भएको हो ।

अब आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र आयोजना हुनेछ । त्यसले नै नयाँ नेतृत्व चयन गर्नेछ । एमालेको आगामी नेतृत्वले पार्टीको आन्तरिक जीवनलाई मात्रै होइन, राष्ट्रिय राजनीतिको गतिलाई पनि प्रभावित पार्नेछ । त्यसैले यसबारे पार्टीभित्र र बाहिरसमेत चासो व्यक्त भइरहेको छ ।

मुख्यतः आफूले चाहेको पार्टी कस्तो हो, त्यसले राष्ट्रिय राजनीतिमा कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसका निम्ति कस्तो नेतृत्वपंक्ति चाहिएला भनेर विश्लेषण गर्ने र त्यसैअनुसारको नेतृत्व निर्वाचित गर्ने दायित्व महाधिवेशन प्रतिनिधिहरू समक्ष छन् । आशा गरौं– एमालेका महाधिवेशन प्रतिनिधिहरूले परिपक्व निर्णयद्वारा राष्ट्रिय राजनीतिलाई उत्साह दिनेछन्, त्यसले मुलुकलाई सकारात्मक दिशातिर लैजान गुणात्मक योगदान पुर्‍याउनेछ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले एकीकृत ढंगले पहिलो र दोस्रो महाधिवेशन मात्रै आयोजना गर्न सकेको थियो । पुष्पलाल धारले बेग्लै वैशाख २०१९ मा तेस्रो महाधिवेशन गरेपछि नेकपा विभाजनको शृंखला नै सुरु भएको थियो । र, आ–आफ्नै ढंगले महाधिवेशन र नेतृत्व चयन गर्ने प्रवृत्ति झाँगिएको थियो । विभाजित पार्टी/समूहमध्येबाटै एउटा धार तत्कालीन झापा जिल्ला कमिटी, कोके र माले हुँदै अघि बढेको थियो ।

त्यही मालेले भदौ २०४६ मा चौथो महाधिवेशन आयोजना गरेको थियो, जसलाई २०१९ को तेस्रो महाधिवेशनपछि टुटेको शृंखलासँग जोडिएको थियो । माले र मार्क्सवादीबीच पुस २०४७ मा एकता भएर एमाले बनेपछि भने यही पार्टीका नामबाट २०४९ मा पाँचौं, २०५४ मा छैटौं, २०५९ मा सातौं, २०६५ मा आठौं, २०७१ मा नवौं र २०७८ मा दसौं महाधिवेशन आयोजना गरिसकेको छ । २०७८ र २०८२ मै उसले विधान महाधिवेशन पनि गरिसकेको छ । कम्युनिस्ट पार्टीहरूमध्ये तुलनात्मक रूपमा नियमित महाधिवेशन आयोजना गर्ने पार्टीमा एमाले पर्छ ।

जुनसुकै पार्टीको महाधिवेशन पनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने सबैभन्दा उच्चतम थलो हो । तर यसलाई कर्मकाण्डी बनाउने प्रवृत्ति देखिँदै आएको छ । एमालेमै हेरौं, दोस्रो विधान महाधिवेशनबाट दुई पदावधि र ७० वर्षे उमेर हदको व्यवस्था खारेज गरियो । त्यो अध्यक्ष केपी शर्मा ओलीको तेस्रो पटक अध्यक्ष बन्ने चाहनाअन्तर्गत भएको थियो । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि एमालेले सुरु गरेको सकारात्मक अभ्यास नेतृत्वको आकांक्षाको सिकार भयो ।

एक वर्षअघि नै महाधिवेशन आयोजना घोषणा गरिनुको औचित्य पनि आफू शक्तिमा रहेकै बेला तेस्रो पटक अध्यक्ष भइहाल्ने ओलीको रणनीतिसँग जोडिएको छ । उनकै कारण एमालेमा आन्तरिक लोकतन्त्र खुम्चिएको आरोप लाग्छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ३७ वर्षदेखि पार्टीको नेतृत्वमा छन् ।

नियमित महाधिवेशन नगर्ने वा गरिएका महाधिवेशनलाई कर्मकाण्डी बनाउन उनी झन् माहिर छन् । उनले पनि आन्तरिक लोकतन्त्रलाई बलियो बन्न दिएनन् । अन्य कम्युनिस्ट पार्टीका साथै क्षेत्रीय दलका महाधिवेशन पनि औपचारिकतामै सीमित भएको छ । कांग्रेसमा पनि पार्टी विधानअनुसार महाधिवेशन हुनु दुर्लभ बन्दै गएको छ । यस पटक बल्लतल्ल तोकिएको मितिमै महाधिवेशन हुनेमा आशंका छ । 

नेतृत्व शक्तिशाली र कार्यकर्ता निरीह भए/बनाइएका कारण पार्टीका महाधिवेशन कार्यकर्ता पंक्तिको सार्वभौमिकता उपयोग गर्ने सर्वोच्च मञ्च बन्न सकेका छैनन् । त्यसैले यतिबेला एमाले र कालान्तरमा कांग्रेस वा नेपाली कम्युनिस्ट पार्टी लगायतका सबैका महाधिवेशन प्रतिनिधिहरूमाथि केही अपेक्षा छन् । उनीहरूले पार्टीलाई सिद्धान्त र नीतिअनुसार नै चल्ने बनाउन कति हस्तक्षेप गरे/गर्नेछन् ? आन्तरिक लोकतन्त्रको अभ्यासलाई जीवन्त बनाउन आफ्ना अधिकारको समुचित प्रयोग गरे/गर्नेछन् ? यस्ता प्रश्न र जवाफदेहिताबाट उनीहरूसमेत पन्छिन पाउने छैनन् ।

त्यसैले सही नेतृत्वको चयन गर्ने र त्यसप्रति अपनत्व लिन सक्ने स्थिति निर्माणका लागि महाधिवेशन प्रतिनिधि स्वयं पनि जिम्मेवार छन् । महाधिवेशन जस्ता फोरममा आफ्ना धारणा राख्न नसक्ने, सान्दर्भिक नेतृत्वका लागि पहल गर्न नसक्ने तर महाधिवेशनपछि गुनासो गर्दै हिँड्ने प्रवृत्तिले उनीहरूकै औचित्य र क्षमतामाथि पनि प्रश्न उठेको छ । जनतामा समेत पार्टीहरूप्रति निराशा बढाएको छ । एमाले महाधिवेशन प्रतिनिधिहरूले त्यस्तो स्थिति अन्त्य गर्नुपर्छ ।

यतिबेला सन्दर्भमा एमाले छ, तर सबै पार्टीका नेता तथा कार्यकर्ताको जिम्मेवारी उस्तैउस्तै छन् । पहिलो, सबै पार्टीभित्र लोकतन्त्र शिथिल बन्दै गएको छ, नेताको शक्ति अभ्यास र मनोमानी प्रवृत्ति चरम छ । त्यसैले पार्टीहरूका परम्परागत छविमै आँच पुगेको छ । त्यसैले कार्यकर्ता/महाधिवेशन प्रतिनिधिहरूले आन्तरिक लोकतन्त्रलाई फर्काउनुपर्छ । त्यसका लागि उपयुक्त नेतृत्व चयन गर्नुपर्छ । दोस्रो, समाज र देशलाई गुणात्मक ढंगले अगाडि बढाउन सक्ने नीति तय गर्नुपर्छ ।

तेस्रो, पार्टी नीतिलाई इमानदारीका साथ बोक्न सक्ने नेतृत्व चयन गर्नुपर्छ । महाधिवेशन समाप्त भएको भोलिपल्टदेखि कार्यकर्ताले नै समाजमा जवाफदेही बन्नुपर्छ । पार्टीका नेतृत्व, नेतृत्वको कार्यशैली, नीति, निर्णयमाथि समाजमा प्रश्न उठ्दा उनीहरूले नै नियमित जवाफ दिनुपर्छ । किनकि समाजसँग जोडिने पंक्ति कार्यकर्ता नै हुन् ।

त्यसैले बचाउ गर्न सकिने र सार्वजनिक औचित्य स्थापित गर्न सक्ने नेतृत्व निर्वाचित गर्नुपर्छ । चौथो, जेन–जी आन्दोलनले प्रस्ट पारेको छ– समाजको नयाँ पुस्तासँग पुराना पार्टीको सम्बन्ध र संवाद टुटेको छ । महाधिवेशन प्रतिनिधिले त्यसलाई पुनःस्थापित हुने आधार तयार पार्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully