फेरि पनि कम्युनिस्टहरुको एकीकरणको विकल्प छैन : गुरुङ

एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता देवप्रसाद गुरुङले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य सर्त बनेको बताए ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Once again, there is no alternative to unification of communists: Gurung

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको बताएका छन् । 

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य सर्त बनेको जिकिर गरेका हुन् । 

नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औंल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिस्टहरुबीचको बृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताए । 

‘फेरि पनि कम्युनिस्टहरुको एकीकरणको विकल्प छैन । वामपन्थीहरुको एकताको विकल्प छैन । कम्युनिस्टहरुको एकता, वामपन्थीहरुको एकताको साथै सबै लोकतान्त्रिक, देशभक्त राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक सामाजिक रुपान्तरणको विकल्प छैन । त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यको निम्ति कम्युनिस्टहरुको एकीकरण अनिवार्य सर्त हो,' उनले भने । 

उनले नेपाली कम्युनिस्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिस्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, 'यही सन्दर्भमा यहाँहरुको महाधिवेशनबाट पनि भावी कम्युनिस्ट पार्टीको एकीकरणका लागि महत्त्वपूर्ण निर्णय लिन सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’

नेता गुरुङले माक्र्सवाद लेनिनवादको मार्गनिर्देशनको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरुबीचका एकीकरण गरेर अघि बढ्न सकिने धारणासमेत राखे । 

कान्तिपुर

Link copied successfully