निर्वाचनबाट मात्रै संविधानलाई लिकमा ल्याउन सकिन्छ : खड्का

एमालेको ११ औं महाधिवेशनमा शुभकामना दिने क्रममा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा पुन:स्थापनाको विषय अदालतको विचाराधीन विषय भएकाले त्यसलाईसमेत खुला राख्दै अहिलेको अवस्थामा कांग्रेस निर्वाचनको पक्षमा रहेको बताए ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Constitution can be brought into line only through elections: Khadka

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गरेरै छाड्ने बताएकै सभामा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा राखेका छन् ।

एमालेको एघारौं महाधिवेशनको शुभकामना दिने क्रममा खड्काले प्रतिनिधिसभा पुन:स्थापनाको विषय अदालतको विचाराधीन विषय भएकाले त्यसलाईसमेत खुला राख्दै अहिलेको अवस्थामा कांग्रेस निर्वाचनको पक्षमा रहेको बताएका हुन् । 

‘अहिलेको अवस्थामा संविधानलाई लिकमा फर्काउने काम निर्वाचनले मात्रै गर्न सक्छ भन्ने हाम्रो पार्टीको धारणा छ,’ खड्काले भने, ‘शान्तिपूर्ण र भयरहित निर्वाचनको वातवरण बनाउने दायित्व सरकार र निर्वाचन आयोगकोले पूरा गर्नुपर्छ ।’ 

एमालेको महाधिवेशनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट कार्यबाहक सभापति खड्का गएका थिए । खड्काले भदौ २३ र २४ गतेको घटनामा प्रहरीबाट लुटिएका हतियार र भागेका कैदीबन्दीहरुका कारण निर्वाचनमा भयको वातवरण भइरहेको बताए । 

‘निर्वाचनमा सबैले भाग लिने वातवरण सुनिश्चिता बनाउने काम सरकारको हो । तर के सरकारका निर्णय र गतिविधिहरु निर्वाचन गराउने र भयरहित वातवरण बनाउन सरकारका निर्णय र विचाहरु अघि बढेका छन् ? यसतर्फ हामीहरु गम्भीर छौं,’ उनले भने,‘सरकार पनि गम्भीर भएर निर्वाचनको वातवरण बनाउने काम गरोस् ।’ 

खड्काले भदौ २३ र २४ गटेको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय छानबिन आयोगले आग्रह र पूर्वाग्रह छाडेर निष्पक्ष प्रतिवेदन ल्याउन आग्रह गरेका छन् । उनले नेताहरुलाई स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने कामले समितिको काममा सशंकित बन्नुपरेको धारणा राखे । 

उनले अहिलेको संकटको निकासका लागि आन्तरिक रुपमा साझा विचार भएका र जेन–जी पुस्ताहरुलाईसमेत जोडेर नयाँ एकता र सहकार्यको निर्माण गर्नुपर्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully