षड्यन्त्र र तिकडमको साथ लिएर ओलीले एमाले महाधिवेशनलाई जुवाको खालमा रूपान्तरित गरिरहेका छन् । तर एमालेभित्रका इमानदार कार्यकर्ताले जुवाको खाललाई महाधिवेशनका रूपमा रूपान्तरण गर्न सक्लान् ?
What you should know
ओलीले एमालेको अधिवेशन गर्नुभन्दा अगाडि नै घोषणा गरे– ‘छलफल हुँदैन, म बोल्छु र महाधिवेशन सकिन्छ ।’ पहिला–पहिला राजाहरू देश दौडाहमा हिँड्थे । पञ्चहरू जम्मा हुन्थे । राजाले बोल्थे र भेला सकिन्थ्यो । यही शैलीलाई ओलीले समाएका छन् । मलाई यस लेखमा एमालेको महाधिवेशन भन्न अप्ठ्यारो लागेको छ ।
किनभने यो अधिवेशनले ओलीको जयजयकार गर्ने र ओलीलाई चुन्नेभन्दा बाहेक अरू काम गर्ला जस्तो देखिएको छैन । महाधिवेशन जस्तो हुने छाँटकाँट पनि देखिएको छैन । बरु एमालेका इमानदार कार्यकर्ताहरूको अपमान गर्ने देखिएको छ ।
अपमानित कार्यकर्ताहरू थपिने देखिएको छ । ओली पुनः सर्वेसर्वा हुनेछन् । त्यही भएर महाधिवेशन जस्तो हुने देखिएको छैन । महाधिवेशनअगाडि नै तर्साइएको छ । अहिले भीम रावल को हुने ? ४० को दशकको टंक कार्कीको बिम्बलाई अहिले भीम रावलको बिम्बले उछिनेको छ । यति धेरै तर्साइएको महाधिवेशन खासमा महाधिवेशन जस्तो हुनै सक्दैन । यो एक प्रकारको पञ्च भेला मात्रै हुन सक्छ ।
महाधिवेशन अनुशासन र स्वतन्त्रताको संगम
समाजमा अहिले ओली सर्वाधिक अलोकप्रिय छन् । २३ र २४ भदौको रचनात्मक र नयाँ प्रकारको विद्रोहपछि ओलीको राजनीतिक औचित्य समाप्त भएको छ । तर एमाले पार्टी कार्यकर्ताहरू यो कुरा महसुस गर्न सक्दैनन् ।
एमाले पार्टी कस्तो बन्यो ? कार्यकर्ता कस्ता बने ? जसले आफ्नो नेताको अलोकप्रियतालाई पनि थाहा पाउँदैनन् वा थाहा पाएर पनि पार्टीलाई खरानी बनाउन तयार हुन्छन् । वर्षौं लगानी गरेको पार्टी एउटा व्यक्तिले खरानी बनाउँदै छ तर पनि कार्यकर्तालाई त्यही कुरा रुचिकर भइरहेको छ । उनीहरू ओली नै चाहियो भनिरहेका छन् । यो सबै किन भएको छ भने कार्यकर्तालाई दासत्वमा हुर्काइएको छ । यसकारणले पनि महाधिवेशन महाधिवेशन जस्तो हुनेछैन ।
महाधिवेशन भनेको अनुशासन र स्वतन्त्रताको संगम हो । कार्यकर्ताहरूले स्वतन्त्रताको महसुस गरेको हुनुपर्छ । वास्तविक महाधिवेशनमा जस्तै रचनात्मक रूपमा छलफलमा भाग लिने स्वतन्त्रता यो भेलामा रहने छैन । किनभने ओलीले भनिसके– म बोल्छु र महाधिवेशन सकिन्छ । कार्यकर्तालाई एमालेको पिँजडामा राखिएको छ । पिँजडाका सदस्यले त जे सिकाइयो, त्यही बोल्छन् । तसर्थ यो महाधिवेशनले केही गर्ने छैन ।
नेपालमा अनुशासन र दासत्वलाई उस्तै हो जसरी बुझाइने गरिएको छ । जबकि, अनुशासन पार्टीका मान्यताभित्र रहने प्रयत्न हो । दासत्व भनेको नेताको जयजयकार गर्ने प्रवृत्ति हो । तर एमालेको भेलामा कार्यकर्ताहरू भेला मात्रै हुनेछन्, दृष्टिकोण राख्ने छैनन् ।
महाधिवेशनको सान्दर्भिकता
राजनीतिक दलहरूले महाधिवेशन किन गर्नुपर्छ होला ? यसको अर्थ र औचित्य के होला ? यसबारेमा गहिरो छलफल भइरहेको छैन । केवल महाधिवेशनलाई एउटा चलन जस्तो बनाएको छ । खासमा महाधिवेशन चाहिएको नेतृत्वका परीक्षण र विकासका लागि हो । चार पाँच वर्षमा नेताको परीक्षण हुन्छ, नयाँ नेताहरू जन्मन सक्छन् र नेतृत्वमा आउन सक्छन् ।
त्यसले पार्टीलाई पुनर्जीवन दिनेछ भनेर नै महाधिवेशन चाहिएको हो । अर्को चार/पाँच वर्षको अवधिमा समाजको गतिशीलताका कारण नयाँ अन्तरविरोध र जटिलता आउने छन् । त्यस्ता जटिलतालाई छिचोल्नका लागि नयाँ विचार चाहिन्छ । नयाँ विचारका लागि बृहत्त बहसको जरुरी हुन्छ ।
समाजमा विभिन्न कोणबाट ज्ञान उत्पादन भइरहेका हुन्छन् । महाधिवेशनले ती ज्ञानलाई मथ्ने हो र आगामी बाटो तय गर्ने हो । एमाले महाधिवेशनले भने न नेतृत्वका विषयमा छलफल गर्नेछ, न नीतिमा छलफल गर्नेछ । अहिले जे छन्, तिनैलाई निरन्तरता दिनका लागि त महाधिवेशन किन चाहिन्छ र ?
महाधिवेशन छलछाम र षड्यन्त्रको माध्यमबाट गर्ने नै होइन । महाधिवेशन त खुला छलफलको अवसर हो । सबै सदस्यले आफूलाई बराबरी ठानेर छलफल गरिने मञ्च हो । महाधिवेशनमा पार्टी सदस्यहरू वैचारिक रूपमा चिलझैं उड्ने हो । विभिन्न कोणबाट छलफल र विचारको मन्थन गर्ने हो । यही मन्थनबाट भविष्यको बाटो तय गर्ने हो । तर कार्यकर्ताका लागि एमाले अब खुला आकाश रहेन, बन्द पिँजडा भएको छ । पिँजडाचाहिँ नेताको कब्जामा गएको छ । यस्तो अवस्थामा वास्तविक अधिवेशन जस्तो हुनै दिँदैन ।
महाधिवेशनअगाडि ओलीले ‘युथ भोलेन्टियर’ बनाएका छन् । यो बेग्लै नामको मण्डले शक्ति हो । कसका विरुद्ध लड्न यस्तो शक्ति बनाएका हुन् ? महाधिवेशनमा यो शक्तिले के काम गर्दछ ? यो स्पष्ट छ । महाधिवेशनमा यसले विपक्षहरूलाई लखेट्नेछ । ओलीलाई यस्तो शक्ति प्रिय छ ।
महाधिवेशनपछि प्रगतिशील एजेन्डालाई विचलित बनाउनैका लागि यस्तो शक्ति निर्माण भएको छ । ओली जहिले पनि आन्दोलनलाई खिसिट्युरी गर्छन् । हिजो कुनै समय उनी गणतन्त्रको आन्दोलनलाई खिसिट्युरी गर्थे । जनयुद्धलाई खिसिट्युरी गर्थे । अहिले जेन–जी विद्रोहलाई खिसिट्युरी गर्छन् । जेन–जीहरू जो पढ्ने–लेख्ने बेलामा, रमाइलो गर्ने बेलामा देशको परिस्थितिलाई सहन गर्न नसकेर विद्रोहमा आए । उनका विरुद्ध लड्न समेत ओलीले मण्डले प्रकारको शक्ति निर्माण गरेका छन् ।
ओलीमा त्यत्रो हत्याको कुनै पश्चाताप छैन । ओलीले चाउचेस्कोको झल्को दिन्छन् । चाउचेस्को जस्तै मानार्थ डिग्री लिन्छन् । चाउचेस्कोले दरबार बनाए जस्तो भ्युटावर बनाउँछन् । जति मानार्थ डिग्री लिए पनि आफ्नो अलोकप्रियता भने बुझ्न सक्दैनन् । आफूले गरेको नचाहिँदो कामप्रति थोरै पनि महसुस गर्न सक्दैनन् ।
चाउचेस्को जस्तो बहसको संस्कृतिलाई खारेज गर्छन् । परिणामतः एमाले अधिवेशनमा आउने सदस्यले आफ्नो सार्वभौमिकताको प्रयोग गर्ने छैनन् । उनीहरूलाई तामा–तुलसी छुवाएर ओलीलाई जिताउने कसम खुवाएर ल्याइनेछ । यस अर्थमा महाधिवेशन पञ्च भेलामा रूपान्तरित हुनेछ ।
लोकतन्त्रको पुनर्जीवन
लोकतन्त्र आफैंमा एउटा ठूलो प्रक्रिया हो । त्यो प्रक्रियामाथि कहिलेकाहीं अवरोध उत्पन्न हुन्छ । थपमा, नेपालमा लोकतन्त्रको यात्रा बडो अप्ठ्यारो छ । लोकतन्त्र बेलाबेला संकटमा पनि पर्छ । जेन–जी विद्रोहपछि लोकतन्त्रले नयाँ आयाम खोजेको छ । उन्नत लोकतन्त्र खोजेको छ । दलतन्त्र र नेतातन्त्रको विपक्षको अभिव्यक्ति हो, जेन–जी विद्रोह ।
यतिबेला एमालेमा दलतन्त्र र नेतातन्त्रसमेत छैन, मात्र ओलीतन्त्र छ । खासमा जेन–जी विद्रोहले पार्टीमा रूपान्तरण खोजेको हो । तर एमालेको महाधिवेशनले पार्टीलाई रूपान्तरण गर्ने कुनै सम्भावना देखिँदैन । कस्तो लोकतन्त्र ? कस्तो पार्टी ? आजका यी जब्बर प्रश्नहरूलाई छलेर एमालेले महाधिवेशन गर्दै छ ।
प्रश्न छल्न त ओली स्वतन्त्र छन् तर त्यसले ल्याउने परिणाम भने खतरनाक हुनेछ । हुन त ओलीका लागि यो महत्त्वको विषय होइन तर सिंगो एमाले नै ओलीको पछाडि लाग्नुचाहिँ अनौठो हो । वास्तवमा ओलीले एमालेको प्रतिनिधित्व गर्ने विषय नै हास्यास्पद हो । जेन–जी विद्रोहपछि नै उनी एमालेबाट बाहिरिनुपर्थ्यो । ओलीबिनाको महाधिवेशन हुनुपर्थ्यो । त्यसले मात्र एउटा निकास दिन्थ्यो । एमाले रूपान्तरण नै हुन्थ्यो वा हुँदैनथ्यो, त्यो अर्कै कुरा हो, तर तय गरिनुपर्ने बाटो त्यही थियो ।
मुलुकले खोजेको सुशासनका आधारभूत मान्यता के हुन् ? त्यसको रणनीति के हो ? राज्यका अंगहरूको रूपान्तरण कसरी गर्ने हो ? ओलीभित्र यस्ता विषयमा कुनै चिन्तन छैन । खालि जेन–जी विद्रोहलाई षड्यन्त्रको जामा ओडाइदिएका छन् । मानौं, उनी ठिकै थिए, षड्यन्त्रमा परेका हुन् जस्तो ।
यही नेतृत्व र यही विचार भएको एमाले अब मुलुकलाई किन चाहियो ? अब मुलुकले यो बोझ बोक्न सक्दैन । त्यसैले जे भइरहेको छ, त्यो अब समाजबाट एमाले कट्दै जाने कुरा हो, अरू केही होइन । एमालेभित्रका इमानदार कार्यकर्ताका लागि यो दुःखद कुरा हो तर उक्त पार्टी जुन ढाँचामा उभिएको छ, त्यहाँ इमानदार कार्यकर्ताका लागि कुनै ठाउँ छैन । महाधिवेशन त नेताहरूले उत्तर दिनुपर्ने ठाउँ हो । विगतमा के भयो, त्यसको जवाफ दिने ठाउँ हो । कार्यकर्ताप्रति उत्तरदायी हुने थलो हो । तर एमाले महाधिवेशनमा न त कार्यकर्ताले जवाफ माग्ने छन्, मागे भने पनि जवाफ दिनुपर्ने छैन । षड्यन्त्रमूलक ढंगले यो प्रश्न आयो भनेर पन्छाए भयो ।
पार्टी सञ्चालन पद्धतिमा अहिले ठूलो समस्या छ । पार्टीको निर्णय गर्ने पद्धतिमा समस्या छ । ती पद्धतिमाथि एमालेको अधिवेशनले प्रश्न गरिहाल्यो भने पनि उत्तर आउने छैन । जसरी पञ्च भेलामा राजामाथि प्रश्न आउँदैनथ्यो, आए पनि उत्तर दिनु पर्दैनथ्यो, ठीक त्यही बाटोबाट एमालेको अधिवेशन हिँड्न खोजेको छ ।
यसै त कम्युनिस्ट पार्टीहरूको ज्ञान निर्माणको प्रक्रिया समस्याग्रस्त छ । जति ठूलो नेता भयो, उसैसँग मात्र ज्ञानको थुप्रो छ भन्ने मानिन्छ । ठूला नेताहरूले माथिबाट खन्याएर ज्ञानको सिञ्चित गर्छन् र कार्यकर्ताहरू ज्ञानी बन्छन् भन्ने ठानिन्छ । समाजका अन्तरविरोधसँग ज्ञानलाई जोडजाड बनाइँदैन, ठोकठाक गरिँदैन । त्यहीमाथि ओली त झन् आफूलाई बहुआयामिक ज्ञानको भण्डार ठान्छन् । यस अर्थमा यो महाधिवेशनले ओलीको ज्ञानमाथि कथंकदाचित कुनै प्रश्न गरे पनि उनकै ज्ञानको अनुमोदित हुनेछ ।
सामाजिक जग र ओली
ओलीलाई अझै पनि लाग्छ, मसँग शक्ति छ । मसँग बल छ । तर ओलीलाई थाहा छैन, पार्टीभित्रका उनका दासहरूको बलबाहेक उनीसँग अर्को कुनै बल छैन । पार्टीभित्र त उनी उभिएलान् तर समाजसामु उभिन गाह्रो छ । पार्टीभित्र उभिनुको अर्थ निश्चित दासहरूको बीचमा उभिनु हो । तर समाजमा खुला रूपमा उभिने जग भत्किसकेको छ । पुरानो संसार भत्किसकेको छ । ओलीका लागि टेक्ने ठाउँ भेटिन गाह्रो छ । तर ओलीलाई यही यथार्थ बुझ्न पनि गाह्रो छ ।
अझै पनि ओलीलाई बाहिर आफू शक्तिशाली भएको भ्रम दिन रहर लाग्छ । भ्रमलाई नै सत्य ठानेर प्रचार गर्न इच्छा व्यक्त गरिरहेका छन् । महाधिवेशनमा अध्यक्ष निर्वाचित हुनु एउटा प्राविधिक विषय जस्तो हो तर समाजमा आएर उभिनु राजनीतिक पक्ष हो । राजनीतिक प्रक्रियामा अयोग्य सावित भइसकेपछि पार्टीभित्र उभिनुको कुनै अर्थ हुँदैन ।
षड्यन्त्र र तिकडमको साथ लिएर ओलीले एमाले महाधिवेशनलाई जुवाको खालमा रूपान्तरित गरिरहेका छन् । तर एमालेभित्रका इमानदार कार्यकर्ताले जुवाको खाललाई महाधिवेशनका रूपमा रूपान्तरण गर्न सक्लान् ? इमानदार कार्यकर्ताका काँधमा धेरै ठूलो जिम्मेवारी छ– ‘पञ्च भेला’ लाई महाधिवेशनमा रूपान्तरित गर्ने । तर, त्यो सम्भावना भने कम छ ।
