सुदूरपश्चिममा डोटीबाहेक सबै जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधि छनोट

बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र कैलाली–२, ३ मा शनिवार नै सर्वसम्मतरूपमा प्रतिनिधि प्रतिनिधि चयन भएका छन्।

मंसिर १४, २०८२

अर्जुन शाह

UML general convention representatives selected from all districts except Doti in the Far West

What you should know

धनगढी — सुदूरपश्चिममा एमालेको एघारौँ महाधिवेशनका लागि डोटीबाहेक सबै जिल्ला र निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन भएका छन्। बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र कैलाली–२, ३ मा शनिवार नै सर्वसम्मतरूपमा प्रतिनिधि चयन गरिएको हो।

 कैलाली निर्वाचन क्षेत्र नम्बर १, ४ र ५ तथा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा भने मतदान प्रक्रियाद्वारा प्रतिनिधि चयन गरिएको छ। डोटीसहित सुदूरपश्चिमबाट १४१ जना प्रतिनिधि चयन हुँदैछन्।

१० जना प्रतिनिधि छनोट गर्नुपर्ने डोटीमा भने ४३ जना आकांक्षीले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा नगई सहमतिमा टुंगो लगाउन पदाधिकारीलाई जिम्मेवारी दिइएको नेता–कार्यकर्ताहरूले बताए। ‘पदाधिकारीले पनि आइतबार बिहानसम्म टुंगो लगाउन सकेका छैनन्,’ उम्मेदवारी दिएर फिर्ता लिएकी सरस्वती साउँदले भनिन्, ‘मतदान प्रक्रियामा त नजाने नै कुरा भइसकेको हो।’

बझाङमा ऐन महर समूह र भैरवबहादुर सिंह समूहबीच बेग्लाबेग्लै समूह बनेपछि शनिवार प्रतिनिधि चयन टुंगो लाग्न नसकेको हो। शनिवार दिनरातको प्रयासमा सहमति नभए पनि आइतबार सहमति भएको नेता–कार्यकर्ताहरूले बताएका छन्।

कैलालीमा मतदान भएका निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ र ५ मा लेखराज भट्ट र कर्ण थापा समर्थक एकातिर र अर्कोतिर दामोदर भण्डारी समर्थक समूह बनेको थियो। अत्तरिया क्षेत्र पर्ने क्षेत्र नम्बर ४ को मतदान नतिजामा ६ जना नै भट्ट–थापा समूहका विजयी भएका छन्। यता धनगढी पर्ने निर्वाचन क्षेत्र नम्बर ५ मा भएको मतदानमा दामोदर भण्डारी पक्षका एकलौटी प्रतिनिधि चयन भएका छन्।

उता कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा भएको मतदानमा नेताहरू कमला बोहरा, नरबहादुर धामी र राजेन्द्रसिंह रावल एकातिर र अर्कोतिर दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्टलगायतका नेताहरूको समूह बनेको थियो। त्यसरी भएको मतदानमा सबै निर्वाचन क्षेत्रबाट दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्ट समूह समर्थक प्रतिनिधि एकलौटी रूपमा निर्वाचित भएका स्थानीय नेता–कार्यकर्ताहरूले बताए।

कञ्चनपुर एमाले जिल्ला समितिका एक पदाधिकारीले भने, ‘रावल समूहकी २ नम्बरमा पार्वती जोशी मात्र सर्वसम्मत भइन्। अरू सबै भट्ट समूहकै जित भयो। कतिपय दोहोरो सूचीमा परेकाहरू पनि जितेका छन्।’

सर्वसम्मत भएका जिल्लाहरू बाजुरा, बैतडी, डडेलधुरा, दार्चुलामा अधिकांश प्रतिनिधि केन्द्रमा ओली समर्थक नै चयन भएको एमाले नेता–कार्यकर्ताले बताएका छन्। ‘कर्ण थापाको गृह जिल्ला बाजुरामा १६ जना प्रतिनिधिमध्ये अध्यक्षमा खुलेरै ईश्वर पोखरेललाई मतदान गर्ने ३ जना मात्र चयन भएका छन्,’ बाजुरास्थित एक एमाले नेताले भने, ‘अन्य पदाधिकारीहरूमा प्रदेशभरिकै प्रतिनिधिहरूको मत बाँडिएर जाने देखिएको छ।’

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully