एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तीव्र प्रतिस्पर्धा

संस्थापनबाट सकेसम्म सर्वसम्मत गराउने प्रयास भए पनि एक दर्जनभन्दा बढी जिल्लामा प्रतिनिधि छान्न निर्वाचन

मंसिर १३, २०८२

गंगा बीसी

Intense competition in selection of UML general convention delegates

What you should know

काठमाडौँ — एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा तीव्र प्रतिस्पर्धा भएको छ । सबै जिल्लामा सर्वसम्मत गर्न प्रयास भए पनि एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको हो ।

पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्षले प्रतिनिधि चयनमा ध्यान दिएका हुन् । पार्टी केन्द्रबाट सकेसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्न अनौपचारिक निर्देशन भएको थियो । तर, तोकिएको कोटाभन्दा बढी आकांक्षी भएकाले निर्वाचन भएको हो । शनिबार ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको बताए । ‘धनुषा, महोत्तरी, मकवानपुर, कञ्चनपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, झापा, रुकुम पश्चिम, मोरङ, लमजुङ, तनहुँ र गोरखालगायत जिल्लामा प्रतिनिधि चयन गर्न चुनाव भएको छ,’ उनले भने, ‘शनिबार सबै जिल्ला कमिटीले प्रतिनिधि छानिसक्नुपर्छ । कुनै प्राविधिक कारणले रोकियो भने अर्को दिन हुनेछ ।’

उपत्यकाका काठमाडौं र ललितपुरमा सर्वसम्मत प्रतिनिधि चयन गर्ने प्रयास भए पनि निर्वाचन भएको छ । भक्तपुरमा भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र १० मा सर्वसम्मत भए पनि नौ क्षेत्रमा निर्वाचन भएको जिल्ला कमिटी उपसचिव बिन्दु महर्जनले जानकारी दिइन् । ‘काठमाडौंबाट ४६ प्रतिनिधि छानिनेछन् । तीमध्ये १५ महिला, ४० वर्षमुनिका १० युवा र दलित एक प्रतिनिधि हुनेछन्,’ उनले भनिन् ।

त्यस्तै, ललितपुरमा एक युवा र दलित प्रतिनिधि सर्वसम्मत भए पनि अरू तीन निर्वाचन क्षेत्रमा चुनाव भएको अध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिए । ललितपुरबाट चार महिला, तीन जना ४० वर्षमुनिका युवा, एक दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् । भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले सबै प्रतिनिधि सर्वसम्मत भएको बताए । जिल्लाबाट १४ प्रतिनिधिमध्ये पाँच महिला, दुई जना ४० वर्षमुनिका युवा र एक दलित छन् ।

२७–२९ मंसिरमा काठमाडौंमा हुने एमालेको महाधिवेशनमा करिब दुई हजार ३ सय प्रतिनिधिले भाग लिनेछन् । सबै जिल्ला र १ सय ६५ निर्वाचन क्षेत्रबाट एक हजार दुई सय सदस्य बराबर एक प्रतिनिधि, त्यसमा ४० वर्षमुनिका एक युवा हुनुपर्ने र कम्तीमा एक जना महिलासहित ४ प्रतिनिधि छानिने विधि तय भएको छ । केन्द्रीय कमिटी सदस्य ३ सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्बाट २५ सीधै चयन हुनेछन् ।

निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि हुनेछन् । कुनै प्रदेशमा न्यूनतम १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघेमा थप निर्वाचित खुला एक प्रतिनिधि छानिनेछ । त्योभन्दा बढी भएमा सोही अनुपातमा पहिलो ८ सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि छानिनेछ । यसरी निर्वाचन क्षेत्रबाट करिब १ हजार १ सय ३५ प्रतिनिधि आउनेछन् ।

विशेष जिल्लामा १ हजारमा २ सय पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन प्रतिनिधि छानिनेछन् । सदस्य संख्या ८ सय नाघेमा प्रत्येक ८ सयमा थप एक र यस्तो संख्यामा एकतिहाइ महिला सुनिश्चित गरिएको छ । विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि करिब ४७ जना आउनेछन् र दलित प्रतिनिधिका रूपमा भूगोलका जिल्लाअन्तर्गत कार्यरत ५ सयसम्म दलित पार्टी सदस्यबाट कम्तीमा एक जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् । त्यो क्षेत्रमा सदस्य संख्या ५ सय नाघेमा प्रत्येक थपमा अर्को एक जना र त्यसभन्दा बढी भएमा सोही अनुपातमा (तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुने गरी) दलित प्रतिनिधि संख्या करिब ८१ जना महाधिवेशनमा भाग लिनेछन् ।

त्यस्तै, मजदुर प्रतिनिधि चयनका लागि भूगोलका ७ प्रदेशअन्तर्गत कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधिको संख्या ४९ रहनेछ । भारत प्रवास विशेष निर्वाचन क्षेत्रबाट कम्तीमा ३ महिलासहित १० र बाँकी रहेका प्रवासका पाँच वटा विशेष निर्वाचन क्षेत्र (अमेरिका/क्यानडा, युरोप, एसिया–प्यासिफिक, खाडी र ओसिनिया) बाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ प्रतिनिधि निर्वाचित हुनेछन् ।

केन्द्रीय विभागमा कार्यरत पार्टी सदस्यमध्ये प्रत्येक विभागबाट एक/एक जना गरी निर्वाचित प्रतिनिधि ३२ जना आउनेछन् । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सदस्यमध्येबाट निर्वाचित प्रतिनिधि १ जना चयन गरिनेछ । २३ जनसंगठन र महासंघका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधि र जनसंगठनबाट दुई महिलासहित पाँच जनाका दरले १ सय ३७ जना निर्वाचित हुनेछन् ।

आमपार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा बाँकी संख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक प्रतिनिधि थपिनेछन् । प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ ।

उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १ हजार २ सयभित्र ४० वर्षमुनिका युवा चयन गर्ने गरी विधि संशोधन गरिएको छ । यसअघि निर्वाचन क्षेत्रबाट मात्र प्रतिनिधि चयन हुने व्यवस्था थियो । अरू दलबाट घर फिर्ती अभियानअन्तर्गत आएका नेतामध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत महाधिवेशनको प्रतिनिधि कायम गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

एकीकृत समाजवादीबाट फर्किएकी रामकुमारी झाँक्री र किसान श्रेष्ठ महाधिवेशन प्रतिनिधि हुनेछन् र महाधिवेशनमा विधानले व्यवस्था गरेअनुसार मनोनीत प्रतिनिधि एक सय एक जना हुनेछन् । करिब दुई हजार तीन सय प्रतिनिधिले महाधिवेशनमा प्रत्यक्ष भाग लिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

गंगा

Link copied successfully