एमाले महाधिवेशन प्रतिनिधि छनोट : लुम्बिनी प्रदेशका आधा जिल्लामा निर्विरोध

रुपन्देही, पाल्पा, अर्घाखाँची र नवलपरासीमा निर्वाचन हुँदै, बाँके र रोल्पामा सर्वसम्मतको प्रयास जारी छ ।

मंसिर १३, २०८२

घनश्याम गौतम

UML General Convention delegate selection: Unopposed in half of Lumbini Province's districts

What you should know

बुटवल — नेकपा एमालेको ११ औं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका आधा जिल्लामा निर्विरोध प्रतिनिधि चयन भएका छन् । दुई जिल्ला बाँके र रोल्पामा शनिबार अबेरसम्म सर्वसम्मत गराउने प्रयास जारी छ ।

लुम्बिनीका १२ जिल्लामध्ये रुकुम पूर्व, बर्दिया, दाङ, प्यूठान, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । रोल्पा बाँकेमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । ५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीका तीन क्षेत्रमा निर्विरोध र २ क्षेत्रमा निर्वाचनबाट चयन हुँदैछन् । रूपन्भदेहीको १ नं. क्षेत्रमा पनि मतगणना सकिएर परिणाम सार्वजनिक भएको छ । त्यस्तै, पश्चिम नवलपरासीको पनि निर्वाचनबाटै परिणाम सार्वजनिक भएको छ । त्यस्तै पाल्पा, अर्घाखाँची र पश्चिम नवलपरासीमा र रूपन्देही क्षेत्र नं. २ को मतगणना जारी छ । 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनीमा ८२ हजार १ सय ३५ संगठित सदस्य छन् । तीमध्ये भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय ९० जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । रुकुम पूर्वबाट ७ जना, बर्दियाबाट १५ जना, दाङबाट २२ जना र प्यूठानबाट ८ जना सर्वसम्मत चयन भएका छन् । गुल्मीबाट १७, रुपन्देहीको निर्वाचन क्षेत्र नं.१, ३, ४ र ५ बाट २२ जना निर्विरोध भएका छन् । निर्वाचन क्षेत्र १ मा ६ निर्वाचनबाट र बाँकी निर्विरोध भएका हुन । पश्चिम नवलपरासीबाट ५ जना निर्वाचित भएका छन् । रूपन्देही क्षेत्र नं. २,  पाल्पा र अर्घाखाँचीमा पनि मत गणना जारी छ । दलितबाट तेजप्रसाद रसाईली, अर्घाखाँचीमा ४० वर्ष मुनिका युवाबाट टोजबहादुर रायमाझी निर्विरोध निर्वाचित भएका छन् । नवलपरासीबाट दलितमा तुलसी पासी निर्विरोध भएका छन् ।

लुम्बिनीमा संस्थापन (केपी ओली) पक्ष र ईश्वर पोखरेल पक्षबीच प्रतिनिधि छनोटमै प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षले निर्विरोध गराउने प्रयासलाई पोखरेल पक्षले विरोध गरेपछि धेरै मतदाता भएका रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँचीमा मतदान भएको थियो ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष कँडेलले प्रतिनिधिका आकांक्षी धेरै भएका स्थानमा सर्वसम्मतको प्रयास र निर्वाचन पनि जारी रहेको बताए । ‘यो दुई पक्षबीचको लडाइँ नभई धेरै साथीहरु प्रतिनिधि बन्ने प्रयासका कारण भएको हो,’ उनले भने । तर, एमालेका धेरै नेताहरुले लुम्बिनी प्रदेशबाट ईश्वर पोखरेलका पक्षमा पनि आकलन गरे भन्दा मत बढेको बताइरहेका छन् । 

लुम्बिनी एमाले उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझीहरुको प्रदेश हो । रायमाझीबाहेकका अन्य सबै पदाधिकारीले प्रतिनिधि छनोटमा रणनीतिक रुपमा योजना बनाएरै सक्रिय भएका थिए ।

लुम्बिनी प्रदेशबाट ५३ जना महिला, १९ जना दलित र ४० वर्षमुनिका कम्तीमा २६ युवा अनिवार्य छनोट हुनेछन् । खुल्ला पदमा ८० जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश कमिटिबाट ५ र मजदुर संगठनबाट ७ जना छनोट हुँदा १ सय ९० जना प्रतिनिधि छनोट हुने अध्यक्ष कँडेलले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully