एमाले महाधिवेशन प्रतिनिधि छनोट : लुम्बिनीका १२ जिल्लामा कहाँ के भयाे ?

रुपन्देही, पाल्पा, अर्घाखाँची र नवलपरासीमा निर्वाचन हुँदैछ भने बाँके, कपिलवस्तु, गुल्मी र रोल्पामा सर्वसम्मतको प्रयास जारी छ ।

मंसिर १३, २०८२

घनश्याम गौतम

UML General Convention Representative Selection: What happened in the 12 districts of Lumbini?

What you should know

बुटवल — नेकपा एमालेको ११ औं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका ४ जिल्लामा निर्विरोध प्रतिनिधि चयन भएका छन् । ४ जिल्लामा शनिबार अबेरसम्म सर्वसम्मत गराउने प्रयास भइरहेकाे छ भने ४ जिल्लामा निर्वाचन भइरहेकाे छ ।

लुम्बिनीका १२ जिल्लामध्ये रुकुम पूर्व, बर्दिया, दाङ, प्यूठानमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

रोल्पा, गुल्मी, बाँके र कपिलवस्तुमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीका तीन क्षेत्रमा निर्विरोध र २ क्षेत्रमा निर्वाचन भइरहेको छ । त्यस्तै, पाल्पा, अर्घाखाँची र पश्चिम नवलपरासीमा पनि निर्वाचन भइरहेको छ । 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनीमा ८२ हजार १ सय ३५ संगठित सदस्य छन् । तीमध्ये भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय ९० जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । रुकुम पूर्वबाट ७ जना, बर्दियाबाट १५ जना, दाङबाट २२ जना र प्यूठानबाट ८ जना सर्वसम्मत चयन भएका छन् ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३, ४ र ५ बाट १६ जना निर्विरोध भएका छन् । निर्वाचन क्षेत्र १ मा ६ जनाका लागि र २ मा १० जनाका लागि निर्वाचन भइइरहेको छ । त्यस्तै पाल्पाका २ वटै निर्वाचन क्षेत्रमा पनि निर्वाचन भइरहेको छ । पाल्पामा दलितबाट तेजप्रसाद रसाइली, अर्घाखाँचीमा ४० वर्षमुनिको समूहबाट टोजबहादुर रायमाझी निर्विरोध निर्वाचित भएका छन् । अन्यका लागि निर्वाचन भइरहेको छ । पश्चिम नवलपरासीबाट दलितमा तुलसी पासी निर्विरोध भएका छन् । अन्यका लागि निर्वाचन जारी छ । 

लुम्बिनीमा संस्थापन (केपी ओली) पक्ष र ईश्वर पोखरेल पक्षबीच प्रतिनिधि छनोटमै प्रतिस्पर्धा देखिएको छ । संस्थापन पक्षले निर्विरोध गराउने प्रयासलाई पोखरेल पक्षले विरोध गरेपछि धेरै मतदाता भएका रूपन्देही, पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँचीमा मतदान भइरहेको छ । कपिलवस्तु र बाँकेमा निर्वाचन गराउने र सर्वसम्मत गर्ने पक्षबीच साँझ साढे ५ बजेसम्म पनि छलफल जारी छ । 

एमाले लुम्बिनी प्रदेश अध्यक्ष कँडेलले प्रतिनिधिका आकांक्षी धेरै भएका स्थानमा सर्वसम्मतको प्रयास र निर्वाचन पनि जारी रहेको बताए । ‘यो दुई पक्षबीचको लडाइँ नभई धेरै साथीहरु प्रतिनिधि बन्ने प्रयासका कारण भएको हो,’ उनले भने । 

लुम्बिनी एमाले उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझीहरुको प्रदेश हो ।

रायमाझीबाहेकका अन्य सबै पदाधिकारीले प्रतिनिधि छनोटमा रणनीतिक रुपमा योजना बनाएरै सक्रिय भएका थिए । उपाध्यक्ष पौडेलसहितका नेता कुनै पक्षमा नलागी आफ्नै ढंगले अघि बढेकाले पनि संस्थापन पक्षले अपेक्षा गरेअनुसार मत प्राप्त गर्न र धेरैमा सर्वसम्मत गराउने आफ्ना प्रतिनिधि छनोट गर्न चुकेको आकलन नेताकार्यकर्ताले गरिरहेका छन् । 

लुम्बिनी प्रदेशबाट ५३ जना महिला, १९ जना दलित र ४० वर्षमुनिका कम्तीमा २६ युवा अनिवार्य छनोट हुनेछन् । खुल्ला पदमा ८० जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश कमिटीबाट ५ र मजदुर संगठनबाट ७ जना छनोट हुँदा १ सय ९० जना प्रतिनिधि छनोट हुने अध्यक्ष कँडेलले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully