एमाले महाधिवेशन प्रतिनिधि छनोटमै तीव्र प्रतिस्पर्धा

नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।

मंसिर १२, २०८२

कान्तिपुर टिम

Intense competition in selection of UML general convention delegates

What you should know

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन रस्साकसी सुरु भएको छ । आइतबारसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।

भूगोलबाट १ हजार १ सय ३५ चयन गर्नुपर्ने भएकाले सबै जिल्लामा संयन्त्र परिचालन गरेका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् । उत्साहका साथ प्रतिनिधि चयन भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘सकेसम्म सर्वसम्मत, नभए प्रतिस्पर्धाबाट

संस्थापन र पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधि चयनको हिसाबकिताब सुरु भएको छ । २७–२९ मंसिरमा काठमाडौंमा हुने ११ औं राष्ट्रिय महाधिवेशनअघि पूर्वका जिल्लाहरूमा प्रतिनिधि छनोट प्रक्रियामा ठूलो रस्साकसी देखिएको छ । कोशीका १४ जिल्लाबाट खुला १ सय १७, महिला ६४, ४० वर्षमुनिका युवा २९ र १६ जना दलित गरी २ सय २६ प्रतिनिधि छानिँदै छन् ।

यी पदका लागि दोब्बरभन्दा बढी उम्मेदवारी परेको छ । ओली इतर समूहको बलियो पकड रहेको मोरङमा प्रतिनिधि संख्याको तीन गुणाभन्दा बढी उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा निकै चर्किएको छ ।

मोरङबाट छानिने ४६ प्रतिनिधि सिटका लागि १ सय ४५ जनाको उम्मेदवारी परेको छ । झापामा खुला १७, महिला १२, ४० वर्षमुनिका युवा ५ र दलित २ जना निर्वाचित हुनेछन् ।

ईश्वर पोखरेल पनि झापाकै हुन् । इलाममा खुला ११, महिला ६, युवा २ र दलित १ गरी २० जना छनोट गरिनेछ । पाँचथरमा पनि सहमति प्रयास भइरहेको छ । त्यहाँ खुला ४, महिला २ तथा युवा र दलित १/१ जना छानिने छन् । योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा खुला ६, महिला ४ तथा युवा र दलित १/१ गरी १२ जना छनोट गरिनेछ ।

उदयपुरमा १४ प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २ वटा निर्वाचन क्षेत्र र १ दलित क्षेत्रमा खुला ७, महिला ४, युवा २ र दलित १ जनाका लागि दोब्बरभन्दा बढी उम्मेदवारी परेपछि त्यहाँ पनि प्रतिस्पर्धा चर्किएको छ । सुनसरीमा खुला १३, महिला ७, युवा ४ र दलित १ सहित २५ जना छानिनेछन् ।

धनकुटामा ‘सहमतिबाट प्रतिनिधि छान्ने’ प्रयास भए पनि उम्मेदवारी प्रक्रियामा देखिएको सक्रियताले मतदान प्रक्रियाबाटै छानिने सम्भावना बढेको एमाले नेता बताउँछन् । ८ हजारभन्दा बढी पार्टी सदस्य रहेको धनकुटामा खुला ७, महिला ४, युवा १ र दलित १ गरी १३ प्रतिनिधि छानिनेछन् । तेह्रथुममा खुला २, महिला र युवा १/१ गरी ४ जना छानिनेछ । संखुवासभामा ७ जनाका लागि ३१ को उम्मेदवारी परेको छ । खुला ३, महिला २, युवा र दलित १/१ गरी ७ जना प्रनिनिधिका लागि ३१ को उम्मेदवारी परेको हो ।

खोटाङमा खुला ५, महिला ३ तथा दलित र युवा १/१ गरी १०, भोजपुरमा खुला ४, महिला २ तथा युवा र दलित १/१ गरी ८ तथा ओखलढुंगामा खुला ६, महिला ४ तथा युवा र दलित १/१ गरी १२ जना प्रतिनिधि छानिनेछन् । सोलुखुम्बुमा खुला र महिला २/२ तथा युवा र दलित १/१ गरी ६ जना प्रतिनिधि छानिँदै छन् ।

मधेशमा पनि ‘लबिइङ’

मधेशका जिल्लामा पनि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढेको छ । मधेशका केही जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिए पनि धेरैजसो जिल्लामा चुनावबाटै छान्ने प्रक्रिया अघि बढेको छ । मधेश प्रदेशबाट तीन सय ९२ महाधिवेशन प्रतिनिधि चुनिनेछन् । सर्लाहीमा नेकपा एमालेका जम्मा २२ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् । पूर्वजिल्ला अध्यक्ष रेवती पन्त ईश्वर पोखरेल पक्षका नेता हुन् भने हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसार्इं केपी ओली निकट हुन् । वर्तमान जिल्ला अध्यक्ष राजनारायण साह तथा पार्टी सचिव विदुर प्याकुरेल कतै खुल्न सकेका छैनन् ।

सप्तरीमा महाधिवेशन प्रतिनिधि छान्न बिहीबारबाट छलफल सुरु भएको छ । ‘प्रतिनिधि छनोटका लागि हामी पहिलो बैठक बसेर छलफल गर्दै छौं,’ एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले भने, ‘तोकिएको अवधिसम्म सहमतिमै प्रतिनिधि छान्छौं ।’ सिरहामा पनि महाधिवेशन प्रतिनिधि छान्न प्रक्रिया अगाडि बढेको अध्यक्ष अशोक यादवले जनाए । सिरहाबाट २८ जना महाधिवेशन प्रतिनिधि छानिने भए पनि निर्वाचन क्षेत्रमा छलफल भइरहेको उनले जनाए ।

बारामा एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि बिहीबार मनोनयन दर्ता भइरहेको छ । यसका लागि संस्थापन (केपी ओली) पक्षधर र इतर पक्षधर (विद्या भण्डारी) ले आआफ्नै पक्षमा प्रतिनिधि छनोट गर्ने भित्री ‘लबिइङ’ गरिरहेका छन् । जिल्लामा १० हजार ९ सय ९ संगठित सदस्यमा २५ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेछ ।

बारामा जम्मा ४ वटा निर्वाचन क्षेत्रमध्ये १ मा ५ जना, २ मा ४ जना, ३ मा ६ जना, ४ मा ७ जना र दलित कोटामा ३ जना गरी जम्मा २५ जना प्रतिनिधि छानिनेछन् । जिल्लामा ८ जना पदेन प्रतिनिधि (आयोजक) छन् । प्रदेशबाट जिल्लामा १ र मजदुरबाट १ जना प्रतिनिधि छानिनेछन् । जिल्लाबाट जम्मा २७ जना महाधिवेशन प्रतिनिधि भएर महाधिवेशनमा भाग लिने उनले बताए ।

बागमतीमा केन्द्रबिन्दुमा

बागमतीमा महाधिवेशनमा उठ्न चाहने नेताले विशेष ध्यान दिएका छन् । प्रदेशबाहेक मजदुर, विशेष समिति र अन्य विभाग प्रतिनिधि चयन हुने भएकाले केन्द्रबिन्दुमा राखिएको छ । २४२ प्रतिनिधि चुनिनेछन् । महिला र युवाको प्रतिनिधित्व बढ्ने सम्भावना रहेको बागमती कमिटी अध्यक्ष कैलाश ढुंगेलले बताए ।

मकवानपुरबाट महाधिवेशनका लागि १७ जना प्रतिनिधि छनोट हुनुपर्नेमा ८३ जनाको उम्मेदवारी परेसँगै सहमतिको सम्भावना न्यून बनेको हो । बुधबार उम्मेदवारी दर्ता गरिएसँगै सहमतिको प्रयास भए पनि सम्भावना देखिएको छैन । एमाले अध्यक्ष ओली पक्षका प्रायः उम्मेदवार देखिए पनि प्रतिनिधि हुन सबैजना आआफ्नो पक्षमा ‘लबिइङ’ गरिरहेका छन् । सहमति नभएको खण्डमा प्रतिनिधि चयनका लागि शुक्रबार निर्वाचन हुने नेकपा एमाले मकवानपुरले जनाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोजक सूर्यचन्द्र न्यौपानेले जनाए । महिलातर्फ ८ जना र युवातर्फ १० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ १६ जना, महिलातर्फ १० र युवातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुनेछन् । दलित क्षेत्रअन्तर्गत १ जना प्रतिनिधिका लागि जिल्लाभरबाट तीन जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर–१ र २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा चुनिनेछन् । बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, चितवन र सिन्धुलीमा आआफ्नो पक्षको प्रतिस्पर्धा तीव्र छ । ‘सहमति र प्रतिस्पर्धाबाट महाधिवेशन प्रतिनिधि चयन अघि बढेको छ,’ केन्द्रीय सदस्य अरुण नेपालले भने ।

गण्डकीमा संस्थापन पक्षबीच प्रतिस्पर्धा

गण्डकीबाट खुलातर्फ ५२, महिलातर्फ ३३, युवातर्फ १८, उत्पीडित १५ गरेर १ सय १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने नेपालले बताए । कास्कीबाट २२, स्याङ्जाबाट १४, पर्वतबाट १३, तनहुँबाट १२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र बागलुङबाट ११–११, लमजुङबाट १०, गोरखाबाट ९, म्याग्दीबाट ६, मनाङ र मुस्ताङबाट ५–५ जना प्रतिनिधि चुनिनेछन् । तर प्रतिनिधि बन्न करिब ५ सय जनाले आकांक्षा राखेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीकै ‘क्याम्प’ मा रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गण्डकी प्रदेशमा विभाजित छन् । सार्वजनिक मञ्चमा गुटको विषय अस्वीकार गरे पनि पार्टी कमिटी र जनसंगठनका अधिवेशन, राजनीतिक नियुक्तिसम्म उनीहरूको प्रतिस्पर्धा चल्छ ।

महाधिवेशनमा प्रतिनिधि छनोटको विषयले समूहगत प्रतिस्पर्धा फेरि सतहमा छ । दुवै नेता पदाधिकारीका आकांक्षी छन् । पृथ्वीसुब्बा महासचिव बन्न चाहेका छन् । तर, ओली पुनः अध्यक्ष दोहोरिए आफूलाई महासचिव बनाउने सम्भावना निकै कम रहेको उनले बुझेका छन् । त्यसैले अन्तिम समयमा उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समर्थित ईश्वर पोखरेलको प्यानलबाट महासचिवको उम्मेदवार बन्न सक्ने चर्चा छ । हालसम्म उनी अध्यक्ष ओलीकै पक्षमा छन् ।

अर्का नेता अधिकारी सचिव बन्न चाहेका छन् । निर्वाचन भएको अवस्थामा आफ्नो पद सुरक्षित गर्न पनि आफूअनुकूल प्रतिनिधि लैजानुपर्ने बाध्यता फरक–फरक समूहको नेतृत्व गरेका यी दुई नेतालाई छ । कास्कीबाट २० जना प्रतिनिधि (उत्पीडित क्लस्टरबाहेक) जानुपर्नेमा १ सय २२ जनाको उम्मेदवारी परेको एमाले कास्की सचिव दर्शन लामाले जनाए । जिल्लामा रहेका दुवै पक्षका नेताले प्रतिनिधिमा सर्वसम्मत गर्ने बताए पनि यो सम्भावना निकै कम देखिएको छ ।

मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन हुने सम्भावना निकै कम छ । पृथ्वीसुब्बा र खगराज दुवै पक्षबाट आफूअनुकूल प्रतिनिधि ल्याउन जिल्लास्थित नेता सक्रिय छन् । ११ जिल्लाबाट १ सय १८ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमाले गण्डकी सचिव धनञ्जय दवाडीको भनाइ छ । गण्डकीबाट हाल पृथ्वीसुब्बा उपमहासचिव र पद्मा अर्याल सचिव छन् । यी दुई नेतासहित स्थायी कमिटी सदस्य किरण गुरुङ र खगराज अधिकारी गरेर पदाधिकारीमा गण्डकीबाट चार जना प्रमुख दाबेदार छन् ।

६ पदाधिकारी भएको लुम्बिनीमा प्रनिनिधि छानिँदै

एमालेले लुम्बिनीमा पनि महाधिवेशनका लागि प्रतिनिधि छनोट सुरु गरेको छ । लुम्बिनीमा मात्र एमालेका ८२ हजार १ सय ३५ संगठित सदस्य रहेको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जनाए । तीमध्ये भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय ९० जना प्रतिनिधि चुनिँदै छन् ।

लुम्बिनीबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी छन् । रायमाझी निलम्बनमा परेपछि अहिलेको कार्यसमितिमा ६ पदाधिकारी छन् । तर, तीमध्ये अहिलेसम्म कुनै पनि नेता विद्या भण्डारी र ईश्वर पोखरेल पक्षमा नखुलेकाले सिंगो लुम्बिनी प्रदेशमा केपी ओली पक्ष नै हाबी देखिएको छ । यद्यपि प्रतिनिधि छनोट भएपछि धेरैले कित्ता परिवर्तन गर्न सक्ने सम्भावना छ ।

लुम्बिनीबाट हरेक ३ जना प्रतिनिधिमध्येबाट १ महिना अनिवार्य गरिएको छ । त्यसरी छनोट गर्दा ५३ जना महिला, १९ जना दलित र ४० वर्षमुनिका कम्तीमा २६ युवा अनिवार्य छानिनेछन् । खुला पदमा ८० जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश कमिटीबाट ५ र मजदुर संगठनबाट ७ जना छनोट हुँदा १ सय ९० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अध्यक्ष कँडेलले बताए ।

रूपन्देहीका एक एमाले नेताका अनुसार अहिले उपाध्यक्ष विष्णु पौडेल मौन देखिएको र अलिअलि खुलेका सचिव गोकर्ण विष्टले पनि प्रभावकारी भूमिका निर्वाह नगरेकै कारण विद्या पक्षधरहरू मौन बसेको बताए । ‘प्रतिनिधि छनोटअघि नै रस्साकसी गर्दा छनोट नै नहुने अवस्था बुझेकाले धेरै मौन बसेर प्रतिनिधि चयनमा सहभागी हुने प्रयासमा भएको देखिन्छ,’ उनले भने, ‘त्यसपछि बल्ल रस्साकसी सुरु हुने हो ।’

कर्णालीमा सर्वसम्मत प्रयास

कर्णालीबाट स्थायी कमिटीमा मुख्यमन्त्री यामलाल कँडेल र गोरखबहादुर बोगटीसहित पोलिटब्युरोमा ३ र केन्द्रीय कमिटीमा २७ जना नेता छन् । प्रदेशभरि एमालेका ४६ हजार ५ सय संगठित सदस्य छन् । तीमध्येबाट भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय १५ देखि २० जनासम्म प्रतिनिधि चुनिनेछन् । १२ सय संगठित सदस्य बराबर ४ जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । यसमा दुई खुलासहित एक महिला र एक युवालाई छनोट गरिनेछ । त्यस्तै दलित ५ सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईंले जनाए । यसपल्ट झन्डै ५० जना युवा महाधिवेशन प्रतिनिधि भएर आउने उनको भनाइ ।

प्रायः केन्द्रीय र प्रदेशस्तरका नेता नखुल्दा कसको पक्षमा कति भन्ने अहिल्यै भन्न नसकिने एक प्रदेश पदाधिकारीले बताए । ‘यसअघि कारबाहीमा परिने डरले अध्यक्ष इतरको समूहमा कोही पनि खुल्न सकेका छैनन्,’ उनले भने, ‘सबैलाई आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने चिन्ता छ, त्यसैले खुल्नै समस्या भयो ।’ प्रतिनिधि छनोट भएपछि केही नेताले कित्ता परिवर्तन गर्न सक्ने उनको आशंका छ ।

महाधिवेशन प्रतिनिधिका लागि जिल्ला जिल्लामा मनोनयनको काम भइरहेको छ । सहमतिका लागि प्रयास हुने नभए निर्वाचन भएर शनिबारसम्म प्रतिनिधिको टुंगो लाग्ने एमाले कर्णाली प्रदेश सचिव ध्रुव शाहीले बताए । जिल्ला भेलामार्फत महाधिवेशन प्रतिनिधिको चयन गरिने उनको भनाइ छ । सबै जिल्लामा सर्वसम्मतिबाट प्रतिनिधि छनोट हुने उपाध्यक्ष पछाईंले बताए ।

सुदूरपश्चिममा दुई पक्षबीच प्रतिस्पर्धा

सुदूरपश्चिममा लगभग सबै जिल्लामा ओली समूहकै वर्चस्व देखिएको छ । प्रतिनिधि छनोटको सवाल कैलालीमा सबैभन्दा पेचिलो देखिएको छ । प्रतिनिधि छनोटको तयारी भइरहँदा ओली समूह इतरका १३ जना नेता नेताको सदस्यता नै हटाइएपछि चर्को विवाद छ ।

सुदूरपश्चिममा जम्मा प्रतिनिधि १ सय ३० हुनेछन् । महिला ४१ खुला ८९ हुनेछन् । खुलामा थप महिला प्रतिनिधि आउने सम्भावना छ । एमालेका सक्रिय कार्यकर्ता कुमार बडैला, दीपक रावल, प्रकाश खड्का, नवराज कुँवर, सावित्रादेवी सापकोटा, वसन्ती गिरी, गजेन्द्र स्वाँर, पवित्रादेवी गौतम, उदयराम जैसी, सुरतबहादुर विष्ट, छत्रबहादुर खत्री, प्रेम कँडेल र जयनारायण जोशीको सदस्यता हटाइएको दीपक रावलले जनाए ।

ओली पक्षधर समूहले प्रतिनिधिमा रोक्नकै लागि यो सबै झेल गरिएको एमाले कैलालीमा विद्या पक्षधर नेता डेजी पाण्डेको दाबी छ । प्रतिनिधि छनोट शुक्रबारसम्म टुंग्याउने भनिए पनि तोकिएका प्रतिनिधिभन्दा बढीका दाबी परेकाले शनिबारसम्म टुंगो लगाइने पाण्डेले जनाए । ‘सुदूरपश्चिमका सबै जिल्लामा स्पष्ट रूपमा दुई समूह छन्,’ उनले भने । नौ वटै जिल्लामा सहमतिबाट प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए ।

०००

यसरी छानिनेछन् प्रतिनिधि

महाधिवेशन प्रतिनिधिका केन्द्रीय कमिटी सदस्य ३५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्बाट निर्वाचित हुने २५ सिधै चयन हुनेछन् । निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तीमा दुई जना महिला सदस्यसहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि ४५ जना हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यरत पार्टी सदस्य १ हजार २ सयसम्म पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि छानिनेछ । कुनै प्रदेशमा न्यूनतम १ हजार २ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघे थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघे थप निर्वाचित खुला प्रतिनिधि एकजना छानिनेछ । त्योभन्दा बढी भए सोही अनुपातमा पहिलो ८ सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि छानिनेछ ।

विशेष जिल्लामा १ हजारमा २ सय जना सदस्यसम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन जना निर्वाचित प्रतिनिधि सुनिश्चित गरिएको छ । विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना आउनेछन् । दलित प्रतिनिधिका रूपमा भूगोलका जिल्लाअन्तर्गत ५ सयसम्म दलित पार्टी सदस्यबाट कम्तीमा एक जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् । त्यस क्षेत्रमा सदस्य संख्या ५ सय नाघे प्रत्येक थपमा अर्को एक जना र त्यसभन्दा बढी भए सोही अनुपातमा (तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुने गरी) दलित प्रतिनिधि ८१ जनाले महाधिवेशनमा भाग लिनेछन् ।

मजदुर प्रतिनिधि चयनका लागि भूगोलका ७ प्रदेशअन्तर्गत कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधिको संख्या ४९ जना रहनेछ । भारत प्रवास विशेष निर्वाचन क्षेत्रबाट कम्तीमा ३ महिलासहित १० र बाँकी प्रवासका ५ वटा विशेष निर्वाचन क्षेत्र (अमेरिका–क्यानडा, युरोप, एसिया–प्यासिफिक, खाडी र ओसिनिया) बाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

केन्द्रीय विभागमा कार्यरत पार्टी सदस्यमध्ये प्रत्येक विभागबाट एकएक जना निर्वाचित प्रतिनिधि ३२ जना आउनेछन् । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सदस्यमध्येबाट निर्वाचित प्रतिनिधि १ जना चुनिनेछ । जनसंगठनको मान्यताप्राप्त २३ जनसंगठनमध्ये जनसंगठन र महासंघका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यमध्ये कम्तीमा ३ महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधि र जनसंगठनबाट दुई महिलासहित पाँच जनाका दरले १३७ जना निर्वाचित हुनेछन् ।

आमपार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चुनिँदा शेष संख्या ५० प्रतिशतभन्दा बढी भए थप एकजना प्रतिनिधि थपिनेछन् ।

प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ । उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १ हजार २ सयभित्र ४० वर्षमुनिका युवा चयन गर्ने गरी विधि संशोधन गरिएको छ । यसअघि निर्वाचन क्षेत्रबाट मात्र प्रतिनिधि चयन हुने व्यवस्था थियो ।

कुल महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाए ।

–गंगा बीसी (काठमाडौं), पर्वत पोर्तेल (विराटनगर), अजित तिवारी (जनकपुर), सुभाष बिडारी (हेटौंडा), अनुप पौडेल (पोखरा), घनश्याम गौतम (बुटवल), कृष्णप्रसाद गौतम (सुर्खेत) र अर्जुन शाह (धनगढी)

कान्तिपुर टिम

Link copied successfully