यसरी छानिने छन् एमालेका २ हजार २ सय महाधिवेशन प्रतिनिधि

प्रतिनिधिका लागि केन्द्रीय कमिटी सदस्य ३५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्‌बाट निर्वाचित हुने २५ सिधैं चयन हुनेछन् ।

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

This is how UML's 2,200 general convention delegates will be selected

What you should know

काठमाडौँ — एमालेको मंसिर अन्तिम साता हुने ११ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी छ । उसले प्रतिनिधि चयनका लागि विधि तय गरेको छ । आइतबारसम्म २ हजार २ सय प्रतिनिधि चयन गरिसक्ने तालिका छ । जसअनुसार प्रतिनिधिका लागि केन्द्रीय कमिटी सदस्य ३५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५, सल्लाहकार परिषद्‌बाट निर्वाचित हुने २५ सिधैं चयन हुनेछन् ।

निर्वाचित प्रतिनिधिको रुपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यहरुबाट कम्तीमा दुईजना महिला सदस्यसहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि ४५ जना हुने छन् । त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यरत पार्टी सदस्यहरु १ हजार २०० सम्म पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि छानिने छ ।

कुनै प्रदेशमा न्यूनतम १ हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एकजना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि एक जना छानिने छ । त्योभन्दा बढी भएमा सोही अनुपातमा पहिलो ८०० मा महिला र अन्यमा खुल्ला निर्वाचित प्रतिनिधि छानिने छ । यसरी निर्वाचित कूल प्रतिनिधि संख्या– करिब १ हजार १ सय ३५ निर्वाचन क्षेत्रबाट आउनेछन् ।

विशेष जिल्लामा १ हजारमा २०० जना सदस्यसम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीनजना निर्वाचित प्रतिनिधि (सदस्य संख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा एकतिहाई महिला सुनिश्चित गरिएको छ । विशेष जिल्लाअर्न्तगत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना आउने छन् र

दलित प्रतिनिधिको रुपमा भूगोलका जिल्ला अन्तर्गत कार्यरत ५०० सम्म दलित पार्टी सदस्यबाट कम्तीमा एकजना दरले प्रतिनिधि निर्वाचित हुने छन् । त्यो क्षेत्रमा सदस्य संख्या ५०० नाघेमा प्रत्येक थपमा अर्को एकजना र सोभन्दा बढी भएमा सोही अनुपातमा (तीनजना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेगरी) दलित प्रतिनिधि संख्याः करिब ८१ जना महाधिवशेनमा भाग लिने छन् ।

त्यस्तै, मजदुर प्रतिनिधि चयनका लागि भूगोलका ७ प्रदेशअर्न्तगत कार्यरत श्रमिक पार्टी सदस्यहरुबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधिको संख्या ४९ जना रहनेछ ।

भारत प्रवास विशेष निर्वाचन क्षेत्रबाट कम्तीमा ३ महिला सहित १० र बाँकी रहेका प्रवासका ५ वटा विशेष निर्वाचन क्षेत्र (अमेरिका/क्यानडा, युरोप, एसिया– प्यासिफिक, खाडी र ओसिनिया)बाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ जना प्रतिनिधि निर्वाचित हुनेछन्।

केन्द्रीय विभागमा कार्यरत पार्टी सदस्यहरु मध्ये प्रत्येक विभागबाट एक/एक जना निर्वाचित प्रतिनिधि ३२ जना आउने छन्।

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत सदस्यहरु मध्येबाट निर्वाचित प्रतिनिधिः १ जना चयन गरिने छ ।

जनसंगठनको मान्यताप्राप्त २३ जनसंगठनमध्ये जनसंगठन र महासंघका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरुमध्ये कम्तीमा ३ महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रतिनिधिहरु र जनसंगठनबाट दुई महिलासहित पाँच जनाका दरले १३७ जना निर्वाचित हुनेछन् । 

आमपार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष संख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एकजना प्रतिनिधि थपिने छन् ।

प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तिमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ ।

उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १२०० भित्र ४० वर्षमुनिका युवा चयन गर्ने गरी विधि संशोधन गरिएको छ । यसअघि निर्वाचन क्षेत्रबाट मात्र प्रतिनिधि चयन हुने व्यवस्था थियो।

घरफिर्ती अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध आएका नेताहरूमध्ये ती समूहका केन्द्रीय समितिमा रहेकाहरूलाई विशेष व्यवस्थाअन्तर्गत महाधिवेशनको प्रतिनिधि कायम गर्ने निर्णय सचिवलाय बैठकले गरेका छ । 

महाधिवेशनमा विधानले व्यवस्था गरे अनुसार मनोनित प्रतिनिधि १ सय १ जना हुने छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार करिब महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुनेछन् ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully