महाधिवेशन प्रनिनिधि चयनमा व्यस्त एमाले

पार्टीका ६ लाखभन्दा बढी संगठित सदस्यबाट झन्डै २ हजार २ सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

UML busy selecting general convention delegates

What you should know

काठमाडौँ — मंसिर २७ देखि २९ सम्म हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न नेता तथा कार्यकर्ता स्वदेश र प्रवासमा व्यस्त छन् । 

पार्टीका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट झन्डै २ हजार २ सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् । 

महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।

पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २ सय संगठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्थाबमोजिम प्रतिनिध छनोट जारी छ  ।

प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटीसरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ । उपत्यका विशेष र सम्पर्क समन्वयअन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटीसरह १ हजार २ सयभित्र ४० वर्षमुनिका युवा चयन गर्ने गरी विधि संशोधन गरिएको छ । यसअघि निर्वाचन क्षेत्रबाट मात्र प्रतिनिधि चयन हुने व्यवस्था थियो ।

कुल महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुने एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।

आइतबारसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully