सहमतिमै प्रतिनिधि चयन गर्ने प्रतिबद्धता गरेका केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले आफू निकटकालाई उम्मेदवारी फिर्ता लिन लगाएर मतदानको प्रक्रिया सुरु गरेको भन्दै कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली समूहले असन्तुष्टि जनाएको हो ।
धनकुटा — एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियाका क्रममा धनकुटामा विवाद उत्पन्न भएको छ ।
सहमतिमै प्रतिनिधि चयन गर्ने प्रतिबद्धता गरेका केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले आफू निकटकालाई उम्मेदवारी फिर्ता लिन लगाएर मतदानको प्रक्रिया सुरु गरेको भन्दै कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली समूहले असन्तुष्टि जनाएको हो । पराजुली समूहले शनिबार बिहान धनकुटामा पत्रकार सम्मेलन गर्दै चुनाव प्रक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्ने जनाएको छ । एमाले कोशी प्रदेश कमिटीका सदस्य पराजुलीले केन्द्रीय सदस्य राई पक्षले आफ्ना पक्षका अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन दबाब दिएर पार्टी सदस्य मतदाताहरूलाई झुक्याएर मतदान प्रक्रियामा गएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य शकुन्तला बस्नेत, नेता चन्द्र बस्नेत, निरेन तामाङ, मञ्जु अधिकारी, बलदीप राई, तारा तितुङलगायतको सहभागिता थियो ।
राई पक्षले भने लामो प्रयासपछि पनि सहमति नजुटेपछि निर्वाचन कार्यतालिकाअनुसार मतदान प्रक्रिया अघि बढाइएको जनाएको छ । मतदान सुरु हुनुअघि पराजुली समूहले एमाले जिल्ला पार्टी कार्यालय र धनकुटा-६ स्थित कचिडेमा निर्धारण गरिएको मतदानस्थलमा तोडफोड गरेको थियो ।
