एमाले महाधिवेशन प्रतिनिधिमा लुम्बिनी प्रदेश सांसद घिमिरे पराजित

घिमिरे विष्णु पौडेल निकट मानिन्छन् । पछिल्लो सयम लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यसँग उनको असमझदारी बढेको छ ।

मंसिर १४, २०८२

वीरेन्द्र केसी

Lumbini Province MP Ghimire defeated as UML general convention representative

What you should know

अर्घाखाँची — एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि अर्घाखाँचीमा भएको महाधिवेशन प्रतिनिधि छनोटमा लुम्बिनी प्रदेश सांसद रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।

घिमिरे एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।पछिल्लो सयम लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यसँग घिमिरेको असमझदारी बढेको छ ।

अर्घाखाँचीबाट निर्वाचित र सर्वसम्मत भएका १५ जना सबै आचार्य समूह पक्षधर हुन् । आचार्य केपी शर्मा ओली निकट हुन् । लुम्बिनी प्रदेशसभा भौतिक पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका घिमिरेले १ हजार २ सय ७ मत ल्याएर पराजित भए । उनको समूहबाट खुलामा प्रेमनारायण गैरे, श्रीकृष्ण भुसाल र महिलातर्फ शीतगंगा नगरपालिका उपप्रमुख गीता भाट क्षेत्री पनि पराजित भइन् । दुई पटकसम्म प्रदेशसभा–२ बाट निर्वाचित घिमिरे एमाले लुम्बिनी सचिवालय सदस्य हुन् ।  

खुलातर्फको प्रतिस्पर्धामा पिताम्बर भुसाल सबैभन्दा सर्वोकृष्ट मत ल्याएर विजयी भए । उनले ३ हजार १ सय ८७ मत ल्याए । संस्थापन पक्षबाट प्रतिनिधि निर्वाचित हुनेमा शम्भुप्रसाद पोखरेलले २ हजार ७ सय ४३, वसन्तकुमार श्रेष्ठले २ हजार ८ सय ४१, रेशम थापाले २ हजार ७ सय ७०, तेजप्रसाद खनालले २ हजार ५ सय ३३,  र कमलप्रसाद घिमिरेले २ हजार ४ सय ४४ मत ल्याएर विजयी भए । ६ जना खुला प्रतिनिधिमा ९ जनाको उम्मेदवारी परेको थियो । 

खुला महिलामा सुष्मा श्रेष्ठ, दीपा आचार्य, विष्णुमाया आचार्य र लक्ष्मी गौतम विजयी भए । सबै प्रतिनिधिमा सर्वसम्मत गराउन छलफल भए पनि कुरा नमिल्दा शनिबार निर्वाचन भएको थियो । 

यसअघि ४० वर्षभित्रबाट तोजबहादुर रायमाझी, दलितबाट लिलबहादुर विक र आशा परियार निर्विरोध भएका थिए । उनीहरु संस्थापन पक्षका हुन् ।  

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully