माओवादीको 'जागरण अभियान' स्थगित, जेन-जीका माग तत्काल सम्बोधन गर्न आग्रह

जनतासँग माओवादीको मध्यपहाडी जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरिएको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Maoist's 'awakening campaign' postponed, demand to address Gen-ji's demands immediately

काठमाडौँ — काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादीका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको छ ।

बैठकले जारी 'जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान' स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको  छ।

बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद् घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।

कान्तिपुर

Link copied successfully