आधारभूत सामाजिक नैतिकतासँग जोडिएको अर्को विषय हो, हामी नेपाली प्रायः आर्थिक भ्रष्टाचारको आलोचना गर्छौं, तर नैतिक र संस्कारगत भ्रष्टाचारबारेमा पर्याप्त बहस–विमर्शलाई बेवास्ता गर्छौं ।
What you should know
नेपाली समाजको ऐतिहासिक विकासक्रम केवल राजनीतिक परिवर्तनहरूको शृंखला मात्र होइन । सामाजिक मूल्यमान्यता, संस्कार, व्यवहार र नैतिकताको निरन्तरता र रूपान्तरणको अविच्छिन्नता पनि हो । यसले नै नेपाली समाजलाई अनुशासित, सहअस्तित्वप्रद र समन्वयी बनाउँदै आएका छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका उच्च नैतिक संस्कारहरूले सामाजिक संरचनालाई जीवन्त बनाएका छन् ।
यद्यपि, हिजोआज समाज आपत्तिजनक रूपमा प्रतिक्रियात्मक र आवेगप्रेरित बन्दै गएको छ । कुनै पनि घटना, विचार वा सूचनाप्रति प्रतिक्रिया जनाउँदा न्यूनतम विश्लेषण गर्ने प्रवृत्ति पनि कमजोर बनेको पाइन्छ । यसले सामाजिक विमर्शलाई सतही मात्र बनाएको छैन, सत्य र भ्रमबीचको दूरीलाई समेत मेटाउँदै लगेको छ ।
सामाजिक नैतिकताको क्षय र बढ्दो संस्कारहीनता नेपाली समाजको यथार्थ बन्दै गएको छ । विगतमा लज्जा, संकोच, सम्मान, सहिष्णुता र मर्यादाजस्ता मूल्यहरू व्यावहारिक जीवनमा स्पष्ट देखिन्थे । ती मूल्यले व्यक्तित्वलाई आकार दिन्थ्यो, जिम्मेवार बनाउँथ्यो । तर आजकाल त्यस्ता पक्ष क्षयकृत छन् । असहिष्णुता र आक्रामक व्यवहार बढ्दो छ । विशेषतः सामाजिक सञ्जालले स्वतन्त्रताको आयाम विस्तार गरे पनि त्यसको प्रयोगमा देखिएको विषाक्तता र गैरजिम्मेवारीले सामाजिक संवादको पवित्रतालाई धमिलो बनाएको छ । आलोचनाको नाममा व्यक्तिगत आक्रमण, अपशब्द र अश्लील अभिव्यक्ति सामान्यीकरण भएका छन् ।
आजको नेपाली समाजमा देखिएको प्रमुख प्रवृत्ति भनेको सामाजिक मूल्यमान्यता र आधुनिकताबीचको विरोधाभास हो । एकातिर आधुनिकताको तीव्र आशक्ति छ, जसले व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता, अवसर र सुविधा प्रदान गरिरहेको छ । अर्कोतर्फ सामाजिक मौलिक संस्कार, जसले अनुशासन, मर्यादा र सामूहिकताको ‘लेसन लर्न’ गराइरहेका छन् । तर यी दुईबीच समन्वय स्थापित गर्न नसक्दा समाज ‘संस्कारजन्य संकट’ को अवस्थामा पुग्ने खतरा छ ।
सार्वजनिक आलोचनामा अराजकताको सम्मिश्रण
लोकतन्त्रको आधार आलोचना र प्रश्न हो । स्वस्थ लोकतान्त्रिक समाजमा आलोचना तर्कपूर्ण, प्रमाणमा आधारित र मर्यादित हुनुपर्छ । वास्तविक आलोचनाले सुधारको मार्ग देखाउँछ । तर वर्तमान नेपाली समाजमा आलोचनाको स्वरूप विकृत हुँदै गएको छ । विचारको असहमति व्यक्तिगत द्वेषमा परिणत हुने, तर्कलाई उत्तेजना र आक्रोशले प्रतिस्थापन गर्ने प्रवृत्ति बढेको छ । यसले लोकतन्त्रको आधारशीला कमजोर बनाउनुका साथै सामाजिक सहिष्णुतालाई समेत क्षति पुर्याएको छ ।
यसै सन्दर्भमा पारिवारिक संरचनामा आएको परिवर्तनले पनि संस्कारको हस्तान्तरण प्रक्रियामा गहिरो प्रभाव पारेको छ । संयुक्त परिवार प्रणाली, जहाँ ज्येष्ठ पुस्ताबाट कनिष्ठ पुस्तासम्म अनुभव, अनुशासन र मूल्यको प्रत्यक्ष हस्तान्तरण हुन्थ्यो, अहिले क्रमशः विघटित हुँदै गएको छ । एकल परिवारको विस्तार, अभिभावकहरूको व्यस्तता र वैदेशिक रोजगारका कारण बालबालिकाले अघिल्लो पुस्ताबाट अनुभव सिक्ने र ज्ञान लिने अवसर गुमाउँदै गएका छन् ।
शिक्षा प्रणाली पनि संस्कार निर्माणको सशक्त माध्यम हुनुपर्ने भए पनि त्यसले अपेक्षित भूमिका निर्वाह गर्न सकेको देखिँदैन । विद्यालयीय शिक्षामा नैतिकता र चरित्र निर्माणका विषयहरू सैद्धान्तिक रूपमा सीमित छन्, व्यावहारिक रूपमा तिनको अभ्यास कमजोर छ । परीक्षाकेन्द्रित शिक्षा प्रणालीले ज्ञानलाई प्रमाणपत्रमा सीमित बनाएको छ, जबकि संस्कार र नैतिकता व्यवहारमा प्रकट हुनुपर्ने पक्ष हुन् । यसरी शिक्षा र संस्कारबीचको दूरी बढ्दै जाँदा समाजमा जिम्मेवार नागरिक निर्माणको प्रक्रिया नै प्रभावित भइरहेको छ ।
यद्यपि, वर्तमान अवस्थालाई पूर्णतया नकारात्मक रूपमा मात्र बुझ्नु अन्यथा हुन जान्छ । नेपाली समाजमा सकारात्मक परिवर्तनका आधारहरू छन् तर अत्यन्त सीमित रूपमा । शिक्षाको पहुँच विस्तार, मानवअधिकारप्रतिको जागरुकता, लैंगिक समानतामा नीतिगत प्रयास, नागरिक तहमा देखिएको चेतना र परिवर्तनको आकांक्षा समाजका उज्याला पक्ष हुन् । चुनौती भनेको यी सकारात्मक परिवर्तनहरूलाई संस्कार र नैतिकतासँग सन्तुलित रूपमा समायोजन गर्नु हो । यसैगरी आधुनिकता र परम्परालाई द्वन्द्वका रूपमा नभई, परिपूरक सारतत्त्वका रूपमा हेर्न सक्नु हो ।
यस परिस्थितिमा संस्कारको समयानुकूल पुनर्व्याख्या र पुनःसंरचना जरुरी छ । परिवारलाई संस्कारको पहिलो पाठशाला बनाउँदै अभिभावकहरूले व्यावहारिक नैतिकता सिकाउनुपर्ने आवश्यकता छ । शिक्षा प्रणालीले चरित्र निर्माणलाई केन्द्रमा राख्नुपर्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूले अभिव्यक्तिको स्वतन्त्रतालाई जिम्मेवारीसँग जोड्नुपर्छ । राज्यले कानुनको प्रभावकारी कार्यान्वयन र नैतिक नेतृत्वको विकासमा ध्यान दिनुपर्छ । समाजका सबै तह र पक्षको संयुक्त प्रयासले मात्र संस्कार र आधुनिकताको सन्तुलन सम्भव हुन्छ ।
केही दिनअघि, सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मा विद्यालय तहमा नैतिक शिक्षालाई प्राथमिकताका साथ पठनपाठन गरिने घोषणा वर्तमान सामाजिक सन्दर्भमा अत्यन्त प्रासंगिक देखिन्छ । समाजमा बढ्दो असंयमता, आवेगप्रेरित व्यवहार र मूल्यमान्यताको क्षयका बीच यस्तो पहलले कम्तीमा नयाँ पुस्तालाई नैतिक आधारमा सुदृढ बनाउने आशा जगाएको छ । यसले विद्यार्थी तहबाटै अनुशासन, जिम्मेवारी र सहअस्तित्वका मूल्यहरू विकास गर्ने दिशामा सकारात्मक संकेत गर्छ । तर, यस पहललाई केवल विद्यालयभित्र सीमित राख्नु पर्याप्त हुँदैन ।
आधारभूत सामाजिक नैतिकतासँग जोडिएको अर्को विषय हो, हामी नेपाली प्रायः आर्थिक भ्रष्टाचारको आलोचना गर्छौं, तर नैतिक र संस्कारगत भ्रष्टाचारबारेमा पर्याप्त बहस–विमर्शलाई बेवास्ता गर्छौं । जबकि यिनै अदृश्य विरोधाभास समाजका लागि बढ्ता प्रत्युत्पादक बन्न पुगेका छन् । दृश्य रूपमा देखिने आर्थिक भ्रष्टाचारले तत्काल बहस सिर्जना गर्छ, तर अदृश्य रूपमा फैलिने नैतिक भ्रष्टाचारले बिस्तारै सोच, व्यवहार र संस्कारलाई नै विकृत बनाउँछ । जब गलतलाई सामान्य मान्न थालिन्छ र नैतिक इमानदारिता औपचारिकतामा सीमित हुन्छ, तब समाजको आधारभूत चरित्रको रूपरेखामा क्षय सुरु हुन्छ । जुन सबैभन्दा संक्रामक अवस्था हो ।
नैतिकता, संस्कार, अतिरञ्जना र अराजकताको सवालमा नेपाली समाज अहिले जस्तो संवेदनशील समय संरचनामा सायद पहिले कहिल्यै उभिएको थिएन । यस्तो लाग्छ, आज हामी ‘डिजिटल एनार्की’ को खतरापूर्ण आसनमा पलेटीबद्ध छौं । जहाँ विवेकभन्दा नियन्त्रणहीन आवेग र ओजरहित प्रतिक्रिया प्रधान बन्दै गएका छन् । मर्यादाभन्दा प्रदर्शन र जिम्मेवारीभन्दा स्वतन्त्रताको सतही प्रयोग हाबी हुँदा समाजको नैतिक आधार धूमिल हुँदै छ ।
अन्त्यमा, नेपाली समाज अहिले सामाजिक संस्कार, नैतिकता र मर्यादालाई जीवन्त बनाउनुपर्ने चुनौतीपूर्ण विन्दुमा छ । यदि हामीले संस्कारको मर्मलाई बुझेर त्यसलाई समसामयिक सन्दर्भमा पुनःस्थापित गर्न सकेनौं भने समाजमा अराजकता र विखण्डनको कारुणिक सन्त्रास बढ्नेछ । तर यदि सचेतपूर्ण रूपमा आधुनिकता र संस्कारगत मूल्यबीच सामञ्जस्य कायम गर्न सकियो भने चुनौतीहरू अवसरमा रूपान्तरण हुन सक्छ । यही सन्तुलनले नेपाली समाजलाई सभ्य, अनुशासित, समृद्ध, व्यवस्थित, मर्यादित र गतिशील भविष्यतर्फ निर्देशित गर्नेछ ।
