विश्वविद्यालय : ज्ञान कि प्रमाणपत्रको कारखाना ?

शिक्षाको लक्ष्य डिग्री प्राप्तिसम्म सीमित रहुन्जेल कुनै पनि देशले वास्तविक परिवर्तनको बाटो समात्न सक्दैन, डिग्री ज्ञानको अन्तिम बिन्दु होइन, तर हाम्रो शिक्षा प्रणालीले त्यसलाई अन्तिम सत्य बनाइदिएको छ।

पुस १६, २०८२

विशाल लम्साल

University: A factory of knowledge or certificates?

What you should know

गुरुकुलको शिक्षाले जीवनदर्शन सिकायो, आधुनिक विद्यालयले ज्ञान विस्तार गर्‍यो, विश्वविद्यालयले अनुसन्धान र आलोचनात्मक चेतना जन्माउनुपर्ने हो । तर, जब विश्वविद्यालय पनि प्रमाणपत्र वितरण केन्द्रमा सीमित रहन्छ, तब शिक्षा विकासको साधन होइन, औपचारिकता बन्छ । यस्तो शिक्षा पद्धतिले व्यक्ति त बनाउला तर समाज परिवर्तन गर्ने नागरिक भने जन्माउँदैन ।

प्रविधि भविष्य लेख्दै छ, तर हामी अझै नोट कण्ठ गर्दै छौं वा गराइँदै छौं । विश्व कृत्रिम बुद्धिमत्ता, डेटा अर्थतन्त्र र स्वचालित निर्णय प्रणालीको तीव्र विकासतर्फ अग्रसर छ, तर हामी नेपाली विद्यार्थी अझै पनि पुस्तकका पाना र नोटका लाइनहरू घोक्न बाध्य छौं । यो केवल शैक्षिक ढिलासुस्ती मात्र होइन, ऐतिहासिक विडम्बना र देशको अधोगतिको परिसूचक पनि हो । समय धेरै अगाडि बढिसक्यो तर पाठ्यक्रम समयानुकूलसमेत हुन सकेको छैन । शिक्षा मार्गदर्शक नभई भार बनेको आभास हुन्छ ।

नेपालको उच्च शिक्षाको मेरुदण्ड मानिने त्रिभुवन विश्वविद्यालय आज संख्या र पहुँचका हिसाबले विशाल छ, तर नवप्रवर्तन र व्यावहारिक कार्यदक्षताको सवालमा कमजोर देखिन्छ । पाठ्यक्रमहरू सैद्धान्तिक र व्यावहारिक यथार्थसँग असम्बद्ध छन् ।

विश्वविद्यालयमा पढाइने धेरै विषयले अझै पनि पुरातन सोच र सन्दर्भ बोकेर बसेका छन् । विश्वले प्रश्न सोध्ने मेसिन बनाइसक्दा हामीलाई भने उत्तर सम्झन सिकाइएको छ । कृत्रिम बुद्धिमत्ताले विश्लेषण, पूर्वानुमान र सिर्जनात्मक काम गरिरहेको छ, हाम्रो परीक्षा प्रणालीले अझै पनि कसले बढी नोट कण्ठ गर्‍यो भनेर मूल्यांकन गर्छ । यस्तो शिक्षा नीतिले नवप्रवर्तक जन्माउँदैन, केवल अनुकूलन अनुयायी मात्र उत्पादन गर्छ ।

सबैभन्दा गम्भीर समस्या भनेको शिक्षा प्रणालीले विद्यार्थीलाई सोच्न सिकाउनेभन्दा पनि सहन सिकाउने बनाइरहेको छ । परीक्षा पास गर्नु नै लक्ष्य बनेको छ, प्रश्न सोध्नु जोखिम जस्तो देखिन्छ । यसले नागरिक होइन, प्रणालीसँग सम्झौता गर्न सक्ने जीविकोपार्जक मात्र उत्पादन गरिरहेको छ ।

शिक्षाको लक्ष्य डिग्री प्राप्तिसम्म सीमित रहुन्जेल कुनै पनि देशले वास्तविक परिवर्तनको बाटो समात्न सक्दैन । डिग्री ज्ञानको अन्तिम बिन्दु होइन, तर हाम्रो शिक्षा प्रणालीले त्यसलाई अन्तिम सत्य बनाइदिएको छ । आजको युगमा मानव मस्तिष्कभन्दा कम्प्युटरले अपार मात्रामा डेटा संकलन, स्मरण र विश्लेषण गर्न सक्छ ।

यस्तो अवस्थामा स्मरणशक्तिको प्रतियोगिता गराउनु शिक्षा होइन, मानव क्षमतालाई गलत प्रयोजनमा खर्चनु हो । घोकन्ते शिक्षाको आधारमा अंक दिने अभ्यास हाम्रो समाजमा नयाँ होइन, तर यही अभ्यासलाई नै शैक्षिक सफलता ठानिरहनु बौद्धिक आलस्यताको संस्थागत रूप हो । जब परीक्षा प्रणालीले ‘कति सम्झियौ ?’ मात्र सोध्छ, तब विद्यार्थीले ‘किन ?’ र ‘कसरी ?’ सोध्ने साहस गुमाउँछ । यसरी शिक्षा चेतना विस्तार गर्ने माध्यम नभई, केवल नियमनको अस्त्र मात्रै बन्छ ।

सोच्ने तरिका बदलिएपछि मात्र नीति बदलिन्छ, नीति बदलिएपछि मात्र संरचना बदलिन्छ । विकास भौतिक संरचनामा मात्र देखिँदैन, मानसिक रूपमा हुन्छ । यदि सोच नै स्थिर छ भने संरचना परिवर्तन केवल सतही सजावट हुन्छ । त्यसैले विकासको केन्द्र मस्तिष्क हो र त्यो मस्तिष्क निर्माण गर्ने सबैभन्दा शक्तिशाली अस्त्र नै शिक्षा हो । देशको काँचुली फेर्नु छ भने शैक्षिक दृष्टिकोण बदल्नुपर्छ । स्मरणभन्दा विश्लेषण, आज्ञा पालनभन्दा आलोचनात्मक चेतना र डिग्रीभन्दा जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्य तय नगरी विकास सम्भव छैन । शिक्षा जब सोच बदल्ने शक्ति बन्छ, तब मात्र नागरिक इतिहासको दर्शक होइन, राष्ट्र निर्माता बन्छ ।

विश्वविद्यालय आज केवल शिक्षा केन्द्र होइन, राजनीतिक अखडा, दलगत सत्ता संरचना र प्रभावको प्रयोगशाला बनेको छ । दलका प्रतिनिधिहरू आफ्नो प्रभाव विस्तार गर्न प्रोफेसरको नियुक्ति, विभागीय नेतृत्व र बजेट वितरणमा हस्तक्षेप गर्छन् । यसले केवल शैक्षिक तथा बौद्धिक स्वतन्त्रतालाई कमजोर मात्र बनाउँदैन, विद्यार्थीहरूको भविष्य निर्माणको मार्ग, सोच्ने क्षमता र नेतृत्व विकासमा पनि प्रत्यक्ष प्रभाव पार्छ । राजनीतिक दबाबले 

पाठ्यक्रम, परीक्षा प्रणाली र अनुसन्धानमा हस्तक्षेप गर्छ, जसले विद्यार्थीलाई प्रयोगात्मक सोच र नवप्रवर्तनशील अभ्यासको सट्टा दलगत निष्ठा र औपचारिकतामा सीमित बनाउँछ । विश्वविद्यालयको प्रतिष्ठा मात्र होइन, राष्ट्रको युवा चेतनाको विकास नै राजनीतिक खेलको सिकार बन्छ । यस्तो शिक्षा प्रणालीले डिग्री वितरण त गर्छ, तर सशक्त, स्वतन्त्र र नवप्रवर्तनशील नागरिक उत्पादन गर्ने मूल उद्देश्यलाई पूर्ण रूपमा विफल तुल्याउँछ ।

भर्खरै सञ्चालनमा आएको नेपाल प्रिमियर लिग जस्तो राष्ट्रिय खेल आयोजनाले समेत राष्ट्रिय शैक्षिक धरोहरमाथि राजनीतिक हस्तक्षेप गरी शैक्षिक परिसरलाई दलीय अखडा बनाइनु कुनै सामान्य घटना होइन । यो राजनीतिक हस्तक्षेप र विश्वविद्यालयको उदासीनता हो, जहाँ शक्ति प्रदर्शनका नाममा शिक्षा, खेल र विद्यार्थी जीवनलाई समेत बन्धक बनाइन्छ । विश्वविद्यालय शैक्षिक विकासका लागि हो, तर जब त्यही स्थान नारा, अवरोध र शक्ति प्रदर्शनको केन्द्र बन्छ, तब प्रश्न उठ्छ के विद्यार्थीको शान्त वातावरणमा पढ्न पाउने मौलिक अधिकार वास्तवमै सुरक्षित छ ?

राजनीतिक आन्दोलन लोकतन्त्रको अंग हुन सक्छ, तर शिक्षा क्षेत्र कब्जा गर्नु लोकतान्त्रिक अभ्यास होइन, यो शिक्षा क्षेत्रमाथि नै धावा बोल्नु हो । नेपाल प्रिमियर लिग जस्ता खेल गतिविधि युवाको ऊर्जा, अनुशासन र राष्ट्रिय पहिचानसँग जोडिएका छन् । त्यसलाई राजनीतिक रणनीतिका लागि प्रयोग गर्नु भनेको विद्यार्थीको मानसिक शान्ति, ध्यान र भविष्यसँग प्रत्यक्ष खेलवाड गर्नु हो । कक्षा, परीक्षा र अध्ययन प्रभावित हुँदा यसको क्षति कुनै दलले होइन, पूरै पुस्ताले भोग्छ ।

यसरी विश्वविद्यालय र शैक्षिक परिसरलाई बारम्बार राजनीतिक अखडा बनाइरहँदा, राज्यले विद्यार्थीलाई दिएको ‘शान्त वातावरणमा अध्ययन गर्ने अधिकार’ केवल कागजी प्रतिबद्धतामा सीमित हुन्छ । अधिकार संविधानमा लेखिनु र व्यवहारमा कार्यान्वयन हुनु फरक कुरा हो । जब राजनीति संयम गुमाएर सर्वत्र पस्छ, तब शिक्षा स्वतन्त्र रहन सक्दैन, खेल निष्पक्ष रहन सक्दैन र विद्यार्थी सुरक्षित रहन सक्दैन ।

अन्ततः प्रश्न नेपाल प्रिमियर लिगको मात्र होइन, राजनीतिक संस्कारको हो । राजनीतिले यदि शिक्षा र खेलको सीमारेखा नबुझ्ने हो भने विद्यार्थीले शान्त रूपमा पढ्न पाउने अधिकार पूरा हुँदैन । लोकतन्त्रको शक्ति नारा र अवरोधमा होइन, संयम, मर्यादा र सीमाको सम्मानमा हुन्छ । त्यो बुझिएन भने विश्वविद्यालय ज्ञानको थलो होइन, राजनीतिक प्रयोगशाला मात्र बन्नेछ । विश्वविद्यालय र खेलकुद ज्ञान, अनुशासन र राष्ट्रिय पहिचानको थलो हुनुपर्छ, न कि राजनीतिक अखाडा । लोकतन्त्रको शक्ति नारा र अवरोधमा होइन, संयम, मर्यादा र सीमाको सम्मानमा निहित छ । यही बुझ्न सके मात्रै शिक्षा र खेलले साँच्चै समाजको उज्यालो भविष्य निर्माण गर्न सक्छ ।

जेन-जी अभिमत

विशाल लम्साल युवा उद्यमी तथा विद्यार्थी हुन्।

Link copied successfully