२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोभिड–१९ अघि र पछिको सरसफाइ र स्वच्छता

यदि हामी अहिले जस्तै अर्को महामारीको विषम परिस्थितिको कल्पना गरिरहेका छौं भने स्वास्थ्य र सरसफाइको क्षेत्रमा अहिलेको लगानी, लक्ष्य र तयारीको कुनै अर्थ रहन्न ।

कुनै बेला सोच्दै नसोचिएको कुरा अहिले यथार्थ बनेको छ । कल्पनै नगरिएको रोग (भाइरस) ले सिंगो संसारलाई  आतंकित हिसाबले एकजुट बनाएको छ, सिंगो विश्व यसबारे तयार नभएकै अवस्थामा । हामी वास्तवमै विषम परिस्थितिमा छौं 

कोभिड–१९ अघि र पछिको सरसफाइ र स्वच्छता

अहिले कोरोना भाइरसले झैं यसअघि सार्स (सन् २००३), एचवान.एनवान (२००९), मध्यपूर्वी रेस्पिरेटोरी सिन्ड्रोम (२०१२), जिका (२०१६) र इबोला (२०१४) ले विश्वभर मानवीय संकट निम्त्याएका थिए । यी सबै संकटले एउटै विषयलाई केन्द्रमा पारिदिएका थिए र त्यो थियो— सरसफाइ र स्वच्छता । अनि यस्ता भाइरस प्रकोपमा सबैभन्दा बढी समस्या विपन्न र उपेक्षित वर्गले बेहोरेका थिए र अहिले पनि त्यही भइरहेको छ ।

माथि उल्लिखित केही भाइरस र संक्रमणले निश्चित समयसम्म मात्रै प्रतिकूल स्थिति जन्माएका थिए, तनावग्रस्त स्थितिमा हजारौं सर्वसाधारण परेका थिए, हजारौंको मृत्यु भए पनि केही समयमै त्यो सन्त्रास रोकिएको थियो । यद्यपि विगतमा आएका संकटहरूले कोभिड–१९ जस्तो विश्वव्यापी रूपमा आर्थिक मन्दी उब्जाएका थिएनन्, अहिलेजस्तो विश्वव्यापी रूपमा कतिपय आनीबानीलाई नियन्त्रित गर्ने अवस्थामा पुर्‍याएका थिएनन् । निश्चित समुदाय, समाजले एकपटक मात्रै ‘इमर्जेन्सी’ सामना गर्नुपर्‍यो, फेरि संसार उही रीतमा चलिहाल्यो ।

अहिलेको महामारीको कुरा भने अलग छ, यसको विश्वव्यापी पहुँच पनि अलग छ । यसले अहिल्यै विश्वव्यापी रूपमा नकारात्मक आर्थिक प्रभाव निम्त्याइसकेको छ, समाजमा नसोचेको असर देखाइसकेको छ । आज मानवजाति र सिंगो संसार एकजुट भैसकेका छौं, तैपनि यसको विस्तार बढ्दो नै छ । स्थिति सहज भैहाल्ने छाँट छैन ।

सबैका लागि स्वास्थ्य

विकासोन्मुख र न्यून आय भएका मुलुकका नागरिक र त्यसमा पनि विपन्न समुदायको जनसंख्याले उचित सरसफाइ र स्वच्छताको अभावमा बेहोर्नुपर्ने चुनौतीहरू उत्तिकै छन् । जलवायु परिवर्तनसँगै शरणार्थी समस्या, सुकुम्बासी र घरविहीन समुदायको बाक्लो उपस्थितिमाझ कोभिड–१९ जस्तो महामारीलाई सम्बोधन गर्नु आफैंमा सानो चुनौती होइन । यसमा पनि विशेषत: महिला, बालबच्चा, वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त, स्वास्थ्यकर्मी तथा सरसफाइ कर्मचारी र महामारीका बेला अग्रमोर्चामा लागिपर्नेहरूले झेल्नुपर्ने चुनौती अझ उच्च हुन सक्छ ।

सबैका लागि स्वास्थ्य र समानताको कुरा गर्दा सार्वजनिक स्वास्थ्यसेवाको पहुँच र सर्वसुलभतामा धेरै थोक निर्भर रहन सक्छ । विडम्बना, गरिबीको रेखामुनि रहेका लाखौं सर्वसाधारणका निम्ति स्वास्थ्यसेवाको पहुँच दुरूह बनिसकेको छ । सार्वजनिक स्वास्थ्य गरिबी निवारण, कार्यदक्षता र पारदर्शितासँग जोडिएको विषयसमेत हो ।

अहिले कोरोना भाइरस नियन्त्रणमा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहबाट सुरु भएको आपत्कालीन सहयोग कोष भनेको सार्वजनिक र आधारभूत स्वास्थ्यसेवाको स्तरोन्नतिका लागि हो, जुन विशेष गरी अफ्रिकी र एसियाली मुलुकमा कार्यान्वयनमा छ । यत्रो ठूलो सहयोगलाई सुरक्षित र दिगो स्वास्थ्य सेवा पद्धति स्थापना तथा सरसफाइ र स्वच्छताको दीर्घकालीन अभियानमा जोड्नु जरुरी छ ।

सरसफाइ र स्वच्छताका चुनौती

तत्कालको आवश्यकता पूर्ति अर्को महत्त्वपूर्ण विषय हो, आपत्कालीन अर्थमा । विश्वव्यापी रूपमा ४ अर्बभन्दा बढी व्यक्तिसँग आधारभूत सरसफाइको सेवा उपलब्ध छैन । हात धुने आधारभूत सेवासुविधा नभएकै ३ अर्बभन्दा बढी मानिस छन् । सन् २०१९ मा प्रकाशित विश्व स्वास्थ्य संगठन र युनिसेफको रिपोर्टअनुसार, ३ मध्ये १ विद्यालय र ५ मध्ये १ स्वास्थ्यकेन्द्रमा आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी सेवा छैन । यसले प्रत्यक्ष रूपमा डेढ अर्ब मानिसलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । यस्तै, स्वास्थ्यकेन्द्रमा सरसफाइ तथा स्वच्छतासम्बन्धी उचित प्रबन्ध नहुँदा स्वास्थ्य क्षेत्रमा ४३ प्रतिशत चुनौती थपिइरहेको हुन्छ ।

अहिलेको लगानीको औसत आँकडा हेर्दा, दिगो विकासको लक्ष्यअन्तर्गत ६ दशमलव २ प्रतिशत रकम सरसफाइ क्षेत्रमा विनियोजन गरिएको छ । यो लक्ष्य बाइसौं शताब्दीमा मात्रै पूरा हुने देखिन्छ । महामारीका बेला यो स्थिति अस्वीकार्य छ, अव्यावहारिक पनि । यदि हामी अहिलेजस्तै अर्को महामारीको विषम परिस्थितिको कल्पना गरिरहेका छौं भने अहिलेको तयारीले मात्रै पुग्दैन । विशेष गरी स्वास्थ्य र सरसफाइका क्षेत्रमा अहिलेको लगानी, लक्ष्य र तयारीको कुनै अर्थ रहन्न ।

दीर्घकालीन रणनीतिको अपेक्षा

यसकारण पनि विद्यमान संकट र कठिनाइका माझ राष्ट्रिय तथा स्थानीय तहमा अझ बढी सामञ्जस्य, समानता आधारित योजना, बजेट निर्धारण र पारदर्शिता चाहिएको छ । सरसफाइ र स्वच्छताका क्षेत्रमा थप लगानी पनि उत्तिकै अपरिहार्य छ । यो मानवाधिकारको आधारभूत विषयसमेत हो भनेर बुझ्नु जरुरी छ । पानीको पर्याप्तता र सरसफाइका क्षेत्रमा काम गर्ने गरी दाताहरूले पर्याप्त अनुदान सहयोग पनि दिइरहेका छन् । अब यही सहयोग र भरथेगलाई दीर्घकालीन अर्थमा ‘ग्लोबल–अप्रोच’ जोडिने गरी कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

वाटर एन्ड स्यानिटेसन कोल्याबोरेटिभ काउन्सिल (जेनेभा) सरसफाइ तथा स्वच्छता अभियानमा सहयोगी रहँदै आएको छ । विभिन्न दातृ निकाय र अन्य सहयोगीसँगको साथ लिएर हामी सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यसम्बन्धी समस्यामाथि काम गरिरहेका छौं । सरसफाइ तथा स्वच्छताका यी क्षेत्रमा विभिन्न मुलुकलाई सहयोग गर्ने र विषयगत मार्गनिर्देशन दिने दिशामा काउन्सिल लागिपरेको छ । विकासोन्मुख मुलुकका लागि काउन्सिलले समुदाय आधारित सरसफाइ तथा स्वच्छताका योजनाहरूमा सघाउ गर्दै आएको छ ।

सरफाइ तथा स्वच्छताका क्षेत्रमा गरिएको लगानी सधैं सफलता–उन्मुख र परिणाममुखी हुन्छ । यो स्वास्थ्य क्षेत्रमा गरिनेमध्ये सबैभन्दा उपलब्धिमूलक लगानीसमेत हो । अहिले कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायले राखेको सरोकार र गरिरहेको लगानी भने यही सरसफाइकेन्द्रित छ । ‘हात धुने बानी बसालौं’ भन्ने सन्देश अहिलेको महामारीका बेला मात्रै होइन, कालान्तरसम्म चलिरहनुपर्छ । यो आजको सबैभन्दा महत्त्वपूर्ण विषय हो ।

हामीले आज विश्वसमुदायका नेता, व्यवसायी र लगानीकर्तालाई एकैसाथ आग्रह गर्नैपर्ने भएको छ, सरसफाइ र स्वच्छताका क्षेत्रमा यथाशक्य सरोकार राख्नका लागि । त्यसमा पनि विकासोन्मुख र कम विकसित मुलुकलाई ध्यानमा राखेर आधारभूत तहमा हात धुने, अथवा साबुन र पानी उपलब्ध गराउने कुरामै लगानी केन्द्रित हुनु जरुरी छ ।

-हिन्ड जेनेभास्थित वाटर सप्लाई एन्ड स्यानिटेसन कोल्याबोरेटिभ काउन्सिलकी अध्यक्ष र एल्हाद कोफी अन्नान फाउन्डेसनका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख २५, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?