यो बेला अधिकांश चेपाङको घरमा खाद्यान्नको चरम अभाव हुन्छ । त्यसमाथि लकडाउन थपिएपछि उनीहरू कन्दमूल, जलेकु र सिस्नोको खोले खाएर पेट भरिरहेका छन् ।
हेटौंडा, चितवन — मेते चेपाङ बिहान उठेर नजिकको जंगलमा जान्छन् अनि कन्दमूल, सिस्नो र जलेकु खोज्छन् । त्यसैले उनको परिवारले पेट भर्दै आएको छ । उनका ५ जना छोराछोरी छन् । स्थानीय सडक निर्माणमा मजदुरी काम गरेर परिवार पाल्दै आएका चेपाङलाई लकडाउनले हातमुख जोर्न समस्या भएको हो ।
लकडाउन सुरु भएपछि सडक मर्मतको काम रोकियो । दुई सातासम्म उनलाई त्यति समस्या भएन । किनेर ल्याएको मकैको पिठो र चामल थियो । ‘घरमा भएको खानेकुरा सकियो, काम पनि पाइँदैन,’ मेतेले भने ।
मकवानपुरको कैलाश गाउँपालिका–९ गैरीगाउँका मेतेले कतैबाट राहत पनि नपाएको सुनाए । उनकै गाउँका सूर्य चेपाङ ट्रकमा सहचालकको काम गर्थे । लकडाउनले उनी पनि घरमा थन्किएका छन् । उनका तीन जना बच्चा छन् । घरमा एक दाना अन्न छैन ।
कैलाश–९ का गैरीगाउँ, टिमुरे र १० नम्बरको गोपीराङका अधिकांश चेपाङहरूको नियति उस्तै छ । यो बेला अधिकांश चेपाङको घरमा खाद्यान्नको चरम अभाव हुन्छ । यस क्षेत्रका चेपाङहरूलाई आफ्नो उत्पादनले ६ महिना पनि खान पुग्दैन । कमाउन सहरलगायत विभिन्न ठाउँमा गएकाहरू लकडाउनका कारण रित्तै हात घर फर्केका छन् । अधिकांशले कन्दमूल, जलेकु र सिस्नोको खोले खानुपरेको छ । कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले राहत वितरण गर्ने तयारीमा रहेको बताए ।
चितवनको चेपाङ बस्तीमा पनि अनिकाल सुरु भएको छ । चेपाङ बहुल चितवनका पहाडी गाउँहरूमा यो बेला छाक टार्न निकै कष्ट छ । पाखाभरि भेटिने सिस्नो असिनाले केही दिनअघि सोत्तर बनायो । अहिले सबै कन्दमूल खोज्न वनतिर जान्छन् । कतै जंगलबाट गिट्ठाभ्याकुर नै हराउने त होइन भन्ने चिन्ता पनि छ ।
चेपाङ गाउँमा बाहिरका मान्छे खासै कोही जाँदैनन् । त्यसैले रोग आउला र बर्बाद होला भन्ने डर उनीहरूलाई छैन । तर लकडाउन बढ्दै गए साँझबिहान छाक कसरी टार्ने भन्ने पिरलो छ । साविकको लोथर गाविस चितवनको चेपाङ बहुल पहाडी क्षेत्र हो । केही वर्षयता पहाडी बाटोमा गाडी चल्न सुरु भएको छ । तर गाडीबाट झरेपछि घन्टौं हिँडेर पुगिने गाउँहरू यहाँ छन् । अहिले यो ठाउँलाई राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा राखिएको छ । नगरपालिकाले गत वर्ष गरेको घरधुरी सर्वेक्षणमा वडा नम्बर १३ मा बाह्रै महिना खान पुग्ने घरधुरी एउटा पनि थिएन ।
सोही वडामा पर्छ कान्दा गाउँ । यहाँ पुग्न गाडी चल्ने ठाउँ छाडेर पाँच घण्टाभन्दा बढी उकालो ओरालो पैदल हिँड्नुपर्छ । कान्दाका कृष्ण चेपाङले चैत ९ गते भण्डारा गएर दुई पोका नुन किनेका थिए । तेल पनि सकिँदै थियो । तर किन्न खल्तीमा पैसा थिएन । घर पुर्याएको दुई पोका नुनमध्ये एक पोका पैंचो तिर्नुपर्ने थियो । बीचमा नगरपालिकाले राहत पनि दियो । चामल, नुन र तेल राहतमा पाए ।
‘चामल र तेल सकियो । तरकारीमा भुटुन राखिन्न । नुन आधा पोका जति होला । घरमा मकै पनि धेरै छैन । दुई डोका जति छ कि । यसले अब वैशाखसम्म धान्ला, त्यसपछि खोइ के गर्ने हो,’ कृष्णले दिक्दारी सुनाए । पाखाभरि सिस्नोको झ्याङ थियो । पानी उमालेर मकैको पिठो र सिस्नो मिसाएर पकाएको खोले खाएर उनीहरूले यो बेला गुजारा गर्छन् ।
जंगलमा यो बेला गिट्ठाभ्याकुर वनतरुलजस्ता कन्दमूल टुसाउन थालेको छ । वैशाख र जेठमा चेपाङहरू कन्दमूल खोज्न जंगल छिर्ने गर्छन् । अरू समय काम खोज्दै बाहिरी जिल्ला र विदेशसमेत जाने गर्थे । अहिले चेपाङ युवा सबै गाउँमै छन् । राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङका अनुसार गाउँबाट यो बेला डोका, डाला, नाङ्ला बुनेर बेच्न बजार लैजाने पनि गरिन्थ्यो । तर अहिले यसो गर्न पनि बन्द छ ।
