कोरोना महामारीविरुद्ध ध्यानकेन्द्रित भइरहँदा लागूऔषध ओसारपसारलगायत संगठित अपराधका घटना बढ्न सक्ने भन्दै प्रभावकारी कदम चाल्न इन्टरपोलले १ सय ९४ राष्ट्रका प्रहरीलाई गरायो सतर्क
काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेपछि प्रशासनको अनुमतिबेगरका सवारीसाधन गुड्न पाएका छैनन् । मूल सडकदेखि गल्लीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सडकमा पैदलयात्रु हिँड्न पाएका छैनन् । अटेर गरेर हिँडेमा प्रहरीले तत्काल नियन्त्रणमा लिएर सडकमै केही घण्टा हिरासतमा राख्ने गरेको छ ।
अझ उपत्यकामा मान्छे नियन्त्रणमा लिन प्रहरीले फलामे डन्डी (सनासो) मा अंकुसे बनाएर प्रयोग गरेको छ । नेपाल–भारत सीमा नाकाबाट अनुमतिबाहेकका सवारी चल्न पाउँदैनन् भने स्थलमार्गबाट दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको छ । नेपाल–भारत सीमा जोड्ने १ हजार ८ सय ८० किमि क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका फौज खटाइएको छ । चारैतिर सुरक्षा तैनाथी मजबुत बनाइएको छ ।
यति धेरै सुरक्षाकर्मी तैनाथ हुँदा पनि प्रतिबन्धित लागूऔषधको ओसारपसार रोकिएको छैन । हेरोइन, चरेस, गाजा, फर्मास्युटिकल ड्रग्सलगायत लागूपदार्थको कारोबार सबैभन्दा बढी नेपाल–भारत सीमा क्षेत्रमा हुने गरेको पछिल्लो एक महिनाको तथ्यांकले पनि देखाएको छ । चैत ११ गतेबाट लकडाउन घोषणा भएसँगै अनुमतिबाहेकका सवारी साधन गुड्न नपाउने प्रशासनको निर्देशन छ । तर तस्करले अनुमति लिएका सवारीबाटै लागूऔषध ओसारपसार गर्दै आएको भेटिएको छ ।
विराटनगर महानगरपालिका–१६, दरैयाबाट बुधबार प्रतिबन्धित लागूऔषध डाइलेक्स डीसी १५ बोतल तथा भारतबाट ल्याइएका प्रतिबन्धित औषधिसहित ३४ वर्षीय दीनबन्धुप्रसाद मोदी पक्राउ परे । उनले भारतबाट उक्त लागूऔषध नेपाल भित्र्याएका थिए । खाद्यान्न ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलबाट उक्त लागूपदार्थ ओसारपसार गरिएको खुलेको छ । बुधबार राति नै हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट १ सय एमएलका १ सय ५५ बोतल विनसिनरेक्ससहित थाहा नगरपालिका–५ का ३१ वर्षीय मानबहादुर थोकर पक्राउ परे ।
रक्सौलबाट काठमाडौं आउँदै गरेको ना३ख ६४६६ नम्बरको इन्धन बोकेको ट्यांकरमा लुकाएर ल्याएको उक्त लागूपदार्थसहित थोकर पक्राउ परे । थोकरले ट्यांकरको लकिङ बक्समा लुकाएर उक्त लागूपदार्थ ल्याएका थिए । नेपाल प्रहरीका अनुसार लकडाउन सुरु भएपछिको ३९ दिनमा लागूऔषध कारोबारका ७५ घटना भएका छन् । अरू बेलाको तुलनामा यो निकै कम भए पनि लकडाउनमा कसरी ओसारपसार सम्भव भयो भन्ने प्रश्न उठेको छ । यसबाहेक गिरोहले थुप्रै कारोबार गरेको हुन सक्ने अनुसन्धानमै संलग्न एक डीएसपीले बताए ।
२०७६ चैत ११ देखि २०७७ वैशाख १९ गतेसम्मको ३९ दिनमा लागूऔषध ओसारपसार र बिक्रीसँग सम्बन्धित ७५ वटा घटना भएका छन् । त्यसमध्ये प्रदेश २ मा मात्रै ३६ वटा घटना छन् । प्रहरीको तथ्यांकअनुसार लकडाउनयता प्रदेश १ मा ३, उपत्यकामा ४, वाग्मती प्रदेश (उपत्यकाबाहेक) मा ११, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जना लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले विगतको तुलनामा लागूऔषध कारोबार धेरै हदसम्म नियन्त्रणमा आए पनि केही घटना हेर्दा अझै सक्रिय रूपमा यसविरुद्ध कारबाही चलाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘लकडाउनमा अनुमति लिएका सवारीबाट पनि संगठित गिरोहले प्रतिबन्धित लागूपदार्थ ओसारपसार तथा बिक्री गर्न सक्ने जोखिम रहेकाले त्यसप्रति देशभरका संयन्त्रलाई सोहीअनुसार परिचालन गरिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘दक्षिणतर्फको सीमा नाका अहिले सिल भए पनि कतै न कतै त्यसलाई छलेर पनि कारोबार हुन सक्नेप्रति हामी सचेत छौं ।’
ट्यांकर र खाद्यान्न बोक्ने गाडीबाटै तस्करी
इन्धन बोक्ने ट्यांकरबाटै लागूपदार्थ भित्रिएको तथ्य फेला परेसँगै लकडाउनका क्रममा अत्यावश्यक सेवाका लागि गुडेका सवारीबाट पनि तस्करी हुने जोखिम बढाएको छ । लकडाउनका कारण पछिल्लो ४० दिनयता औषधि, खाद्यान्न तथा प्रशासनले अनुमति दिएका सबारीसाधन नेपाल–भारत ओहोरदोहोर गर्न पाउँछन् । यी सवारीमार्फत लागूऔषध तस्करी हुन सक्ने तथ्य रक्सोलबाट इन्धन बोकेर आएका चालक मानबहादुर थोकर बुधबार हेटौंडाबाट पक्राउ परेसँगै पुष्टि भएको हो । रक्सौलबाट काठमाडौं आउँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्यांकरको लकिङ बक्समा लागूऔषध लिएर आएको भेटिएपछि प्रहरीले थोकरलाई ट्यांकरसहित नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल अस्थिरतामा लागूऔषध कारोबारीको धन्दा झनै फस्टाउने भएकाले लकडाउनमा पनि तस्करी नरोकिएको बताउँछन् । कोरोना संक्रमणविरुद्ध लगाइएको लकडाउनमा पनि तस्करले सेटिङ मिलाएर गैरकानुनी कारोबार गर्न सक्ने जोखिम रहेको मल्लको भनाइ छ । ‘अहिले सुरक्षाकर्मीको ध्यान र प्राथमिकता नियमित शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणभन्दा लकडाउन कार्यान्वयनतर्फ केन्द्रित छ, यस्तो अवस्थामा लागूऔषध लगायत गैरकानुनी कारोबारमा संलग्नले त्यसको फाइदा उठाएर धन्दा चलाइरहेको हुनसक्छ,’ मल्लले कान्तिपुरसँग भने, ‘सबैभन्दा बढी जोखिम पक्ष भनेको अत्यावश्यक सेवा सञ्चालन गर्ने सवारी साधनबाट पनि यस्ता कारोबार हुनसक्छ, यसप्रति सुरक्षा निकायको ध्यान जानुपर्छ ।’ अस्थिरता र संकटका बेला लागूऔषधको डिमान्ड बढी र सप्लाई कम हुने हुँदा यो अवस्थामा जोखिम मोलेर कारोबार गर्नेहरू झनै बढ्न सक्ने मल्लको भनाइ छ ।
नेपालबाट गाँजा, चरेस र अफिम तस्करले अन्यत्र लैजाने गरेको र भारत हुँदै कोकिन, हेरोइन, फर्मास्युटिकल लागूपदार्थ भित्रिने गरेको मल्लको भनाइ छ । अहिले यसलाई नियन्त्रण गर्न एउटै उपाय अनुमति लिएर चलेका सवारी साधनको कडा जाँच नै प्रभावकारी माध्यम हुने उनको भनाइ छ ।
लागूऔषधलगायत गैरकानुनी कारोबार हुन सक्ने सम्भावना औंल्याएरै राजधानी भित्रिने थानकोट नाकामा इन्धन, एम्बुलेन्स, खाद्यान्नलगायत वस्तु बोकेका सवारीमा सुरक्षा जाँच बढाइएको थानकोट वृत्तका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
इन्टरपोलले गर्यो विशेष परिपत्र
इन्टरपोलले विश्वभर कोरोना महामारी फैलिरहेका बेला लागूऔषध ओसारपसारलगायत संगठित अपराधका घटना बढ्न सक्ने भन्दै त्यसविरुद्ध प्रभावकारी कदम चाल्न सदस्य राष्ट्रहरूका प्रहरीको ध्यानाकर्षण गरेको छ । केही दिनअघि इन्टरपालले १ सय ९४ राष्ट्रका प्रहरीलाई ‘पर्पल नोटिस’ परिपत्र गरेर कोभिड–१९ विरुद्ध जुधिरहेका बेला राहतका सामग्रीभित्र राखेर लागूऔषध कारोबार बढ्न सक्ने आशंका गर्दै यसविरुद्ध सशक्त कदम चाल्न भनेको हो ।
इन्टरपोलले आयरल्यान्ड, मलेसिया, स्पेन र संयुक्त अधिराज्य (बेलायत) मा राहतका सामग्रीभित्र कोकिन, गाँजा, औषधिजन्य लागूऔषधको गैरकानुनी ओसारपसार गर्ने गरेको तथ्य भेटेपछि यस्तो अपराध अन्य मुलुकमा पनि हुन सक्ने भन्दै सदस्य राष्ट्रका प्रहरीलाई परिपत्र गरेको हो ।
अप्रिलको सुरुमै स्पेनमा खाद्यान्न ओसारपसार गर्ने सवारीमा कोकिन, गाँजा र प्रतिबन्धित औषधिको अवैध कारोबार गरेको आरोपमा ७ जना पक्राउ परेका थिए । त्यस्तै आयरल्यान्डमा २ सयवटा पिज्जा बाकसमा राखेको ८ केजी कोकिन बरामद भएको थियो ।
इन्टरपोलका कार्यकारी निर्देशक स्टेफन काभानाघले कोभिड–१९ का क्रममा अपराधको शैलीमा पनि बदली आउनसक्ने र त्यसअनुसार नै चुनौतीको सामना गर्ने गरी कदम चाल्न सदस्य राष्ट्रका प्रहरीलाई परिपत्र गरेका छन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी मल्ल इन्टरपोलको परिपत्र सान्दर्भिक रहेको र त्यसअनुसार नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए ।
२६ कसुरमा अपराध शून्य
लकडाउन घोषणापछि अपराधमा भने कमी आएको छ । हरेक दिनजसो हुने संगठित, सामाजिक र आर्थिक अपराधहरू लकडाउनका बेला ह्वात्तै घटेका छन् । २६ शीर्षकका अपराध शून्यमा झरेको छ । प्रहरी प्रवक्ता निरजबहादुर शाही लकडाउनका कारण अपराधको अनुपात ह्वात्तै घटेको बताए । यसमा सुरक्षाकर्मीको परिचालन र मानिस आवतजावत निषेध नै मुख्य कारण रहेको उलने बताए ।
लकडाउन अवधिभर विभिन्न १ सयभन्दा बढी अपराध भए पनि यो संख्या देशभरको तुलना गर्दा निकै कम रहेको शाहीले बताए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार विष खुवाएर हत्या तथा प्रयास, गौवध, गर्भ संरक्षणविरुद्धको कसुर, आगो लगाएर, हाम फालेर, करेन्ट लाएर, डाँकाचोरी, जबर्जस्ती चोरी, पुरातात्त्विक वस्तु चोरी, चौपाया चोरी, अवैध मुद्रा कारोबार, प्राचीन स्मारक, सरकारी छाप तथा दस्तखत कीर्ते, अपहरण तथा शरीर बन्धक, प्रतिलिपि अधिकार उल्लंघन, कुटपिट र अंगभंग, राज्य विरुद्धको कसुर, मानव बेचविखन तथा ओसरपसारमा अपराधका उजुरी शून्य छ । यस्तै यौन दुव्र्यवहार, घरेलु हिंसा, जबर्जस्ती करणी, जिउँदो बच्चा जन्माइ फालेको, विस्फोटक पदार्थ, संगठित अपराध, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगमा पनि कुनै अपराध नभएको शाहीले बताए ।
