कोरोनासँग लड्ने जर्मन मोडल

संघीय सरकारले अर्थतन्त्रमा कोरोना भाइरसको असरलाई न्यूनीकरण गर्न तुरुन्तै ८२२ अर्ब युराेकाे सहयाेग प्याकेज घोषणा गरेकाे छ ।
सरकारले सुरु गरेको कोरोना नियन्त्रण कार्यक्रममा यहाँका ठूला कम्पनीले व्यापक सहयोग गरेका छन् । आफ्ना नियमित उत्पादनहरू बन्द रहेको अवस्थामा समेत कम्पनीहरूले भेन्टिलेटर, मास्क, किट आदि मेडिकल इक्विपमेन्ट उत्पादन गरिरहेका छन् ।
जीवा लामिछाने

कोरोना संक्रमणले महामारीको रूप लिन थालेपछि १६ मार्च (चैत ३ गते) देखि जर्मनीले युरोपका केही देशसँगको सिमाना बन्द गर्ने निर्णयसहित मुलुकभित्र आंशिक लकडाउन सुरु गर्‍यो ।

कोरोनासँग लड्ने जर्मन मोडल

जर्मनी संघीय गणराज्य भएको र संघीय राज्यहरू (बुन्डेसल्यान्ड) धेरै निर्णय आफैं गर्न स्वायत्त भएकाले स्वायत्तताको उपयोग गर्दै दुई राज्य बभेरिया र जारल्यान्डले आफ्ना प्रान्तलाई सुरुमै पूर्ण रूपमा लकडाउन गरे । जर्मन चान्सलर अंगेला मर्केलले मुलुक जर्मनी एकीकरणपछि सबैभन्दा अप्ठेरो परिस्थितिमा रहेको घोषणा गर्दै नागरिकहरूलाई सरकारी नियमहरू पालना गर्दै संयमित रहन अनुरोध गरिन् । १५ वर्ष चान्सलर पदमा रहँदा उनले यसरी सम्बोधन गरेको यो पहिलोपटक थियो । यसअघि नयाँ वर्षको अवसरमा मात्र जर्मन चान्सलरले देशवासीका नाममा सम्बोधन गर्ने परम्परा थियो ।

लकडाउन घोषणा हुँदा जर्मन नागरिकहरूमा आउने दिनमा के होला, कसो होला भन्ने संशय थियो । खाद्य सामग्रीको अभाव होला भन्ने भयले सुरुका केही दिन खाद्यान्न बिक्री हुने ग्रोसरी पसलहरूमा भीड सुरु भएको थियो । तर त्यो छिट्टै नियन्त्रण भयो । हाल दुई राज्यबाहेक चौध वटा फेडेरल ल्यान्डहरू पूर्ण रूपमा लकडाउनमा छैनन् । सरकारले जारी गरेको बढीमा दुई जना मात्र हिँड्न पाउने नियमलाई सबैले पूर्ण रूपमा पालना गरेको देखिएको छ । सडकमा एकाध गाडी चलेका छन् । ग्रोसरी पसलहरू खुलै छन् । पसलमा ग्राहकहरू सबै संयमित र व्यवस्थित देखिन्छन् । ग्राहक र पसले दुवैले हातहातमा पन्जा लगाएका देखिन्छन् । पैसा तिर्नका लागि साढे एक मिटरको दूरी राखेर काउन्टरमा लाइन लागेका हुन्छन् ।

लकडाउनको पालना गराउन धेरै मिहिनेत गर्न नपरेपछि राज्यले आफ्नो ध्यान अर्थतन्त्रतर्फ मोड्यो । संघीय सरकारले अर्थतन्त्रमा कोरोना भाइरसको असरलाई न्यूनीकरण गर्न तुरुन्तै विभिन्न आर्थिक–सामाजिक योजनाहरू घोषणा गर्‍यो । जर्मनीका अर्थ र ऊर्जा मन्त्री पिटर अल्टमाएरले कम्पनीहरूलाई कोरोना भाइरसबाट पर्न गएको आर्थिक असरको सामना गर्न सुरुमै ५५० अर्ब युरो आर्थिक सहयोग प्याकेज घोषणा गरे । भिन्नभिन्न शीर्षकअन्तर्गत उपलब्ध गराइने अनुदान र ऋण सहायता रकम बढेर अहिले ८२२ अर्ब युरो पुगेको छ । यो दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो सहायता रकम हो । यो प्याकेजबाट लकडाउनले असर पारेका उद्योगधन्दा तथा व्यापारिक क्षेत्रमा थप क्षति पर्न नदिन, आफ्नो व्यवसायलाई चलायमान बनाउन अनुदान र ऋण उपलब्ध हुनेछ ।

ऋण सहयोग जर्मनीको पब्लिक इन्भेस्टमेन्ट बैंक केएफडब्लुमार्फत उपलब्ध गराइनेछ । कम्पनीहरूले आफूले कारोबार गरिरहेको होम बैंकमार्फत ऋण रकमका लागि आवेदन दिन सक्नेछन् । यसरी उपलब्ध गराइने ऋण रकमको ८० प्रतिशत भार सरकारी बैंक केएफडब्लुले बेहोर्नेछ भने बाँकी २० प्रतिशत होम बैंकले । कम्पनीको अवस्थाअनुसार सरकारी बैंकले वहन गर्ने ऋणको भार १०० प्रतिशतसम्म पनि हुन सक्नेछ । ऋण रकम कम्पनीहरूले पाँच वर्षदेखि दस वर्षभित्र चुक्ता गर्नुपर्नेछ । ब्याजदर १ देखि ३ प्रतिशतसम्म रहनेछ । ऋण लिएको पहिलो वर्ष ब्याज मात्रै चुक्ता गर्नुपर्नेछ ।

त्यसपछि मात्रै साउँ र ब्याज चुक्ता गर्नुपर्नेछ । कम्पनीहरूले विगतको आर्थिक कारोबारका आधारमा ५ लाखदेखि १ अर्ब युरोसम्म ऋण रकमका लागि आवेदन दिन सक्नेछन् । ठूला कम्पनीहरूले अपवादस्वरूप १ अर्ब युरोभन्दा बढी ऋण पनि पाउन सक्नेछन् । स्पोर्ट पोसाक र जुत्ता उत्पादन गर्ने कम्पनी एडिडासलाई संघीय सरकारले ३ अर्ब युरो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सोल इन्टरप्राइजेज, पारिवारिक व्यवसाय र साना उद्यमीहरू (पाँच जनासम्मलाई रोजगारी दिएका कम्पनीहरू) लाई ९ हजारदेखि ३० हजार युरोसम्म कोरोना इमर्जेन्सी फन्डअन्तर्गत ‘क्विक लिक्विडिटी सपोर्ट’ उपलब्ध गराइएको छ । यसरी उपलब्ध हुने सहयोग रकम राज्यअनुसार फरकफरक छ । यो रकम राज्यले अनुदानस्वरूप उपलब्ध गराएकाले कम्पनीहरूले त्यसलाई फिर्ता गर्नुपर्नेछैन । छोटो प्रशासनिक प्रक्रियाबाट धेरैजसो साना कम्पनीले यो अनुदान रकम लिई पनि सकेका छन् ।

कोरोना संकटका कारण जर्मनीमा घरभाडासम्बन्धी कानुन परिवर्तन हुने भएको छ । घरभाडा नतिरेका कारण साहूले भाडामा बस्नेहरू (टेन्यान्ट) लाई निकाल्न पाउनेछैनन् ।अप्रिलदेखि सेप्टेम्बरसम्मको भाडा रकम ‘रेन्टल डेब्ट’ मा परिणत हुनेछ । सो रकम भाडामा बस्नेले पछि चुक्ता गर्नुपर्नेछ । यो ‘रेन्टल प्रोटेक्सन ल’ व्यावसायिक प्रयोजन र अपार्टमेन्ट भाडामा लिने दुवैमा लागू हुनेछ । मोर्गेजमा घर वा अपार्टमेन्ट किन्नेहरूलाई पनि बैंकले सो अवधिको ‘डिफर पेमेन्ट’ उपलब्ध गराउनेछ ।

लकडाउनको अत्यधिक मारमा परेका क्याटरिङ, होटेल उद्योगलगायत सेवामूलक व्यवसायहरूलाई लकडाउन खुलेर सेवा सञ्चालनमा आएपछि भ्याट दर न्यून गर्ने सम्बन्धमा संघीय संसद्मा छलफल सुरु भइसकेको छ । क्रुइज कम्पनीहरूले अवधि पुगेको ऋणलाई एक वर्षपछि चुक्ता गर्न पाउने गरी समायोजन गर्ने व्यवस्था गरिएको छ । अहिले कर तिर्न सक्ने अवस्था नरहेकाले सबै कम्पनीलाई आआफ्नो कर कार्यालयमार्फत कर ‘डिफेरल’ का लागि अनुरोध गर्न सक्ने सहुलियत प्रदान गरिएको छ । स्टार्टअप कम्पनीहरूको सहयोगका लागि २ अर्ब युरोको छुट्टै आर्थिक प्याकेज विनियोजन भएको छ । लकडाउनको समय काममा गएका मानिसहरूलाई प्रोत्साहनस्वरूप कम्पनीले १,५०० युरोसम्म बोनस दिएमा सो रकम पूरै करकट्टी गर्न पाउनेछन् !

अर्को महत्त्वपूर्ण र धेरै ठूलो राहत कार्यक्रम जर्मन फेडेरल इम्प्लोएमेन्ट एजेन्सीले उपलब्ध गराउने ‘कुरजरबाइटरजेल्ड’ (सर्ट–टर्म जब एलोइन्स) रकम हो । यो सहायता रकम सरकारी सेवामा होस् वा निजी कम्पनीमा कार्यरत प्रत्येक जर्मन करदाताले पाउनेछन् । एजेन्सीले जर्मनीको हरेक करदातालाई उसको मासिक तलबको ६० देखि ६७ प्रतिशतसम्म रकम उपलब्ध गराउनेछ । एकल व्यक्तिका हकमा तलबको ६० प्रतिशत अनुदान हुनेछ भने, करदाताको परिवार भएमा उसले ६७ प्रतिशतसम्म रकम अनुदानका रूपमा पाउनेछ । उदाहरणका लागि, १,००० युरो मासिक तलब हुने एकल व्यक्तिका लागि प्रतिमहिना ६०० युरोका दरले एजेन्सीले अनुदान उपलब्ध गराउनेछ । हाललाई यो योजना ६ महिनासम्मका लागि भए पनि अवस्था हेरी यसलाई बढाउन सकिने बताइएको छ ।

यो वर्ष जर्मनीको अर्थतन्त्र ४.२ प्रतिशत विन्दुले ऋणात्मक हुने आकलन गरिएको छ । त्यसै गरी बेरोजगारी बढेर ५.२ प्रतिशतसम्म अर्थात् २४ लाख पुग्ने अनुमान छ ।

मे महिनामा यहाँ बाली भित्र्याउने समय सुरु हुन्छ । त्यसका लागि सरकारले छोटो समयका लागि ४० हजार कामदार ल्याउने प्रबन्ध गरेको छ । विदेशबाट ल्याइने कामदारहरूलाई स्वास्थ्य जाँच गरी सीधै खेतमा पुर्‍याउने योजना छ । उनीहरूले पन्ध्र दिनसम्म कसैसँग घुलमिल नगरी खेतमा काम गर्नुपर्नेछ । त्यसपछि मात्रै उनीहरू घुलमिल हुन सक्नेछन् । विद्यार्थी र शरणार्थीहरूले पनि चाहेमा खेती भित्र्याउने काम गर्न सक्नेछन् ।

लकडाउनका कारण विदेशमै अड्किएका जर्मन नागरिकहरूलाई देश फर्काउने योजनाका लागि सरकारले सुरुमै ५ करोड युरो विनियोजन गरेको थियो । यो कार्यक्रमअन्तर्गत विदेशमा रोकिएर बसेका १ लाख ६० हजारभन्दा बढी जर्मन नागरिकहरूलाई फिर्ता ल्याइसकिएको छ ।

कोरोनाबाट संक्रमितहरूको संख्या धेरै भए पनि जर्मनीमा युरोपका अन्य देश इटाली, स्पेन, फ्रान्स र बेलायतका तुलनामा धेरै ठूलो मानवीय क्षति भएको छैन । यसको मुख्य कारण हो— जर्मनीमा यो महामारी न्यूनीकरणका लागि राज्यबाट भएको व्यापक तयारी । यहाँ शंका लागेका मानिसहरूलाई व्यापक रूपमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रत्येक हप्ता ३ लाख ५० हजार मानिसलाई कोभिड–१९ परीक्षण गर्न सकिने व्यवस्था छ । अहिले यो लेख लेख्न बस्दा (२० अप्रिलको साँझसम्म) जर्मनीमा कोरोना संक्रमितहरूको संख्या १४६,६५३ पुगेको छ । तीमध्ये ४,७०६ जनाको निधन भएको छ भने, ९१,५०० जना स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गम्भीर बिरामीहरूको संख्या २,८८९ छ । अहिलेसम्म १,७२८,३५७ जनालाई कोरोना भाइरसको परीक्षण गरिसकिएको छ ।

सरकारले सुरु गरेको कोरोना नियन्त्रण कार्यक्रममा यहाँका ठूला कम्पनीले व्यापक सहयोग गरेका छन् । आफ्ना नियमित उत्पादनहरू बन्द रहेको अवस्थामा समेत कम्पनीहरूले भेन्टिलेटर, मास्क, किट आदि मेडिकल इक्विपमेन्ट उत्पादन गरिरहेका छन् । यस्ता सामग्री उत्पादन गर्ने कम्पनीहरूलाई राज्यले विशेष सहुलियत प्रदान गर्ने आश्वासन दिएको छ । जर्मनीमा सघन उपचार कक्षको बेड संख्या पनि अरू देशका तुलनामा उच्च छ । जटिल अवस्था आउन सक्ने सम्भावना देखिएका बिरामीहरूलाई सघन कक्षमा राखेर सुरुमै उपचार गरिने भएकाले पनि मृतकहरूको संख्या कम हुन गएको हो । संक्रमितहरूको औसत आयु यहाँ ५० वर्षभन्दा मुनि छ । जर्मनीले इटाली, नेदरल्यान्ड, फ्रान्सबाट समेत केही गम्भीर बिरामीहरूलाई ल्याएर सघन उपचार गराइरहेको छ ।

संख्यात्मक हिसाबले विश्वभरिमा कोभिड–१९ संक्रमित उच्च पाँच मुलुकमा रहेको जर्मनी लकडाउनलाई आंशिक रूपमा खुकुलो पार्ने र क्रमिक रूपमा खोल्दै जाने पहिलो युरोपेली मुलुक भएको छ । २० अप्रिलदेखि जर्मनीमा पसलहरू खुल्ने क्रम सुरु भएको छ । पहिलो चरणमा ८०० वर्ग मिटरसम्म क्षेत्रफल रहेका पसलहरू खुल्नेछन् । कार डिलर, साइकल र पुस्तकपसलहरूलाई भने क्षेत्रफलको बन्धन छैन । ४ मेदेखि विद्यालयहरू खुल्न सुरु हुनेछ । हाइस्कुल र ग्य्राजुएट हुने ग्रेडका विद्यार्थीहरूका कक्षा पहिले सञ्चालन गरिनेछन् । विद्यालयहरूले फरक तवरले कक्षा सञ्चालन गर्नका लागि व्यवस्थापन सुरु गरिसकेका छन् । नयाँ व्यवस्थाअनुसार, प्रत्येक कक्षामा बढीमा १५ जनासम्म विद्यार्थी रहनेछन् । कक्षाकोठामा विद्यार्थीहरू दुई मिटरको दूरी कायम राखेर बस्नुपर्नेछ । हेयर सालोनमा काम गर्ने मास्टरहरूलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर मात्र खोल्न पाइने निर्देशन दिइएको छ । चर्च, मस्जिद र सिनागोग (यहुदीहरूको प्रार्थनागृह) भने खुला गरिएको छैन । पूर्वनिर्धारित ट्रेड फेयर, सांगीतिक कार्यक्रमलगायत ठूलठूला जमघटहरू ३१ अगस्टसम्मका लागि रद्द गरिएका छन् । रेस्टुरेन्टहरू नियमित ग्राहकका लागि खोल्न नपाउने भए पनि ‘टेक अवे’ सेवाका लागि भने सञ्चालन गर्न पाइनेछ । कोरोना संक्रमणको असर लामो समय रहन सक्ने सम्भावना रहेकाले सोहीअनुरूप धैर्य गर्न सरकारले नागरिकहरूलाई अनुरोध गरेको छ ।

कोरोना संक्रमणको असर हाम्रो व्यवसायलाई पनि परेको छ । केही वर्षदेखि जर्मनीमा होटेल व्यवसाय सञ्चालन गर्दै आएको हाम्रो ‘ट्रिप इन्न होटेल ग्रुप’ ले राज्यले उपलब्ध गराउने ऋण सुविधाका लागि आवेदन दिइसकेको छ । ‘ट्रिप इन होटेल ग्रुप’ द्वारा जर्मनीमा सञ्चालित झन्डै तीन दर्जन होटेल अहिले बन्द छन् । जर्मनी पूर्ण रूपमा कानुनी राज्य भएकाले कानुनबमोजिम यहाँ कार्यरत सबै कम्पनीलाई राज्यले समान व्यवहार गर्छ । संकटको यो घडीमा हामीले धैर्य गुमाएका छैनौं । सहुलियतमा पाइने ऋण रकमका लागि हाम्रा कम्पनीहरू योग्य भएकाले सम्बन्धित निकायमा निवेदन पेस गरिसकेका छौं । केही रकम निकासा हुन सुरु भैसकेको छ । कोरोनाको कहर छिट्टै सकिएर केही समयपछि पूर्ववत् रूपमा काम गर्न सकिनेछ भन्ने आत्मविश्वास छ ।

जर्मनीमा होटेल व्यवसायमा संलग्न लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : वैशाख १२, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?