मलेसियामा लकडाउन दुई हप्ता थपियो

वैशाख १२, २०७७

एजेन्सी

क्‍वालालम्पुर — मलेसियाले लकडाउनको समयावधि दुई हप्ता थप गरेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न यसअघि मार्च १९ देखि सुरु गरिएको लकडाउन यसै महिना अप्रिल २८ सम्मका लागि तोकिएको थियो ।

प्रधानमन्त्री मुहिद्दीन यासिनले रमादान सुरु भएको अवसरमा बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै थप दुई हप्ता अर्थात् आगामी मे १२ सम्मका लागि लकडाउन थपिएको जानकारी गराएका हुन् । 

यसअवधिमा पनि संक्रमण हुनेको संख्या उल्लेख्य रुपमा घट्न भने सकेको छैन । कोरोना भाइरसका कारण त्यहाँ हालसम्म ९५ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमध्ये २ जना स्वास्थ्यकर्मी पनि छन् । 

पछिल्लो सरकारी तथ्यांकअनुसार ५ हजार ६ सय ३ जना संक्रमित भए । तीमध्ये तीन हजार ५ सय ४२ जना उपचारपछि निको  भइसकेका छन् । संक्रमितमध्ये ३२५ जना स्वास्थ्यकर्मी छन् ।

नेपाली दूतावासका अनुसार संक्रमित हुनेमा एक जना नेपाली पनि छन् तर उनी उपचारपछि उनी निको भइसकेका छन् ।

बिहीबार मात्रै २ जना संक्रमितले ज्यान गुमाएका छन् भने ७१ जना नयाँ बिरामी थपिएका छन् । बिरामीहरुमध्ये ४२ जना आईसीयू कक्षमा उपचाररत छन् ।

आवागमन नियन्त्रण गरिए पनि कतिपय उद्योग एवं व्यवसाय सञ्चालन भइरहेका छन् । स्वास्थ्य, ईलेक्ट्रोनिक्स, दैनिक उपभोग्य लगायत अत्यावश्यक सामग्रीहरुको उत्पादन एवं कारोबारसम्बन्धी कम्पनीहरु,ग्लोब, खाद्यान्न, स्वास्थ्य सेवा, सुरक्षासँग सम्बन्धित उद्योग एवं व्यवसायको  ‘स्टान्डर्ड अपरेटिङ प्रोसेडियर’ अनुरुप सञ्चालन भइरहेको छ  । ती क्षेत्रमा कार्यरत नेपाली कामदार उच्च जोखिम मोल्दै काम गर्न बाध्य छन् ।

अध्यागमनसम्बन्धी सेवाका लागि देशभरका करिब एक तिहाई मात्र अध्यागमन कार्यालयहरु खुला गरिएका छन् भने सीमा नाकाहरुमा आवातजावतमा निकै कडाइ गरिएको छ ।

लकडाउन

एजेन्सी

Link copied successfully