कोरोना भाष्य

यो भाइरस बिनापासपोर्ट, बिनाभिसा सर्वत्र दौडिरहेछ, उडिरहेछ । सबै बोर्डर पार गरिरहेको छ । संसारलाई यसले एक बनाएको छ । कुनै ट्रम्प, मोदी, बोरिस जोन्सन, पुटिनले खडा गरेको भौगोलिक सीमा वा भौतिक पर्खालले यसलाई छेक्न सकिराखेको छैन ।
पाकेका मात्रै आँप झार्ने सामान्य हावाहुरी हैन यो कोभिड–१९ । यो सबैलाई तहसनहस पार्ने प्रशान्त महासागरको टाइफुन (तुफान) वा अटलान्टिक महासागरमा चल्ने हरिकेन (चक्रवात) हो ।
प्रमोद मिश्र

कोरोना भाइरसले गर्दा मार्च १४ देखि स्वेच्छाले घरमै बसिरहेका छौं । मार्च ९ देखि मेरो विश्वविद्यालय ‘स्प्रिङ ब्रेक’ (वसन्त बिदा) मा थियो र त्यतिखेरै हार्वर्डले अनलाइनबाट दूर पठनपाठन गर्ने (रिमोट लर्निङ) को घोषणा गर्‍यो । साथै आफ्ना विद्यार्थीहरूलाई होस्टेल खाली गर्ने आदेश पनि दियो । त्यसपछि त के थियो, एकपछि अर्को सबै शिक्षण संस्थानले त्यसै गर्न थाले ।

हाम्रोले पनि गत सोमबार (मार्च १७) मा खुल्ने कक्षा एक साताका लागि स्थगित गरेर मार्च २३ देखि अनलाइन कक्षा थाल्ने घोषणा गर्‍यो । विश्वविद्यालयले अब उप्रान्त गर्मीसम्मका सबै कक्षा अनलाइनबाटै हुने सूचना पनि दियो । हामी कम्मर कसेर अब दूरगामी तयारीमा लागेका छौं ।


सर्वत्र त्रासको वातावरण छ यहाँ । अन्योल छ । सुरुसुरुमा लस्याङफस्याङ अनि पश्चिमेली समाजको खुकुलोपनप्रति मोहले गर्दा कदम चालिएन, पछि बिस्तारै सर्वत्र कडा नियम लागू गरिँदै छ । नेपालबाट आएका आफन्तको मार्च ११ मा फर्किने टिकट थियो । फर्किन पाउँदैनन् कि भन्ने भयो, किनभने कतारले नेपाल र भारतसहित कैयौं मुलुकबाट मानिसको आवागमनमा रोक लगाइसकेको थियो । कतार एयरलाइन्सको फोन पनि जाम, उठ्दै नउठ्ने । त्यसैले मार्च ९ मा यहाँको ओहेयर एयरपोर्ट गयौं, कतार एयरलाइन्सलाई सोध्न । डेस्क म्यानेजरले भन्यो, ‘आजका दिनसम्म त यहाँबाट यात्रु गई नै राखेका छन्, धेरथोर । पर्सि ११ तारिखमा के हुन्छ, यसै भन्न सकिन्न । आजको भोलि स्थिति फेरिइराखेको छ ।’ जे होस्, बिनाबाधा ११ तारिखमा आफन्त नेपाल फर्के । नत्र यहीँ फस्लान् भन्ने चिन्ता थियो ।


मोरङमा बस्ने बहिनीको फोन आको आयै छ । राजवंशी भाषामा बहिनी सोध्छे, ‘की छुगु, दादा ? खबर सभे ठीके छुगुने ?’ ‘सबै ठीकै छ’ भन्छु, दुई शब्दमा र कुरा सिद्ध्याउँछु । दिमाग आपत्कालीन मोडमा भएकाले बढी कुरै गर्न मन लाग्दैन । बिहावारी, गाउँसमाजबारे सोध्न मन लाग्दैन । ‘विश्वव्यापीकरण, भूमण्डलीकरण’ जस्ता ठूलठूला शब्द एक त बहिनीले बुझ्दिन, अर्को बेलीविस्तार लगाएँ भने झन् डराउँछे भन्ने हुन्छ । तर सतर्क रहन एकदुई शब्द भने भन्छु, किनभने त्यता गाउँमा पनि त यो महामारी आउँदै होला ।


उपभोग्य वस्तुको आपूर्तिको विविधता र पर्याप्तता ल्याएकाले अमेरिकी पुँजीवाद संसारमा प्रसिद्ध थियो । यही यसको श्रेष्ठताको परिचायक थियो, अरू व्यवस्थाका तुलनामा । साम्यवादविरुद्ध शीतयुद्ध यसले यही प्रसिद्धिले गर्दा पनि जितेको थियो । तीन दशकको अमेरिका बसाइमा यहाँ कहिल्यै पसलमा कुनै कुराको अभाव भएको मलाई थाहा छैन । तर अहिले थोक र खुद्रा डिपार्टमेन्ट स्टोर दुवैमा सरसफाइ गर्ने अल्कोहल, हात धुने झोल साबुन, चामल, अन्डा र पिउने बोतल पानीको समेत हाहाकार छ । मास्कको के कुरा गर्नु, पसलमा ल्याउनेबित्तिकै एकै छिनमा चट हुन्छ । तीनतीनपल्ट गएँ, तर खाली हात फर्किनुपर्‍यो । सोध्दा, एकाबिहानै आउन भन्यो तर लामै लाइनमा बस्नुपर्छ पनि भन्यो । छेउछाउमा नभेटेर पटेल ब्रदर्स भन्ने गुजराती पसल गएँ, बीस माइल पर । त्यहाँ त सबै थोक पाइने रहेछ । हामी दक्षिण एसियालीहरूलाई भाग्यमाथि भरोसा भएकाले हो कि । भाग्यमा छ भने सबै हुन्छ, नत्र सबै बिग्रन्छ भन्ने भएर होला, किनमेल गर्न गएका ग्राहक ढुक्क देखिन्थे र तिनका कार्ट पनि खालीखाली नै थिए ।


अभावले तर्सेको म, मेरो पालो कार्टभरि रसदपानी (रासनपानी वा खाद्यसामग्री) हालें । उसिना, ‘हिमालयको फेदीमा फलेको’ बासमती (कहिलेकाहीँ त मोरङको मेरै खेतमा फलेको त हैन जस्तो पनि लाग्छ, त्यस्तो लेखेको देख्दा), दक्षिण भारतीय ठूलगेडी चामल, लट्टा पर्ने थाई चामल, मुसुरी, मुङ, चना, रहर दालका पोका, घिउ, भुजिया गरी अनेक थोक हालें । पछि डिटोल पनि लिऊँ कि जस्तो लाग्यो, तर फेरि यसले कोरोना भाइरस मार्ला कि नमार्ला भन्ने भयो र लिइनँ ।


सबैतिर समाचारमा त्रास र आपत्कालको वातावरणले आफू पनि अलि भयाक्रान्त भएको लाग्छ । आखिर बीस–पच्चीसको लक्काजवान त रहिनँ अब । तर वुहानमा कोरोनाबारे पहिलो पोल खोल्ने डाक्टर ली चौंतीसवर्षे जवान थिए । कोभिड–१९ ले तिनलाई पनि छाडेन, लग्यो । तसर्थ पाकेका मात्रै आँप झार्ने सामान्य हावाहुरी हैन यो कोभिड–१९ । यो सबैलाई तहसनहस पार्ने प्रशान्त महासागरको टाइफुन (त्फुान) वा अटलान्टिक महासागरमा चल्ने हरिकेन (चक्रवात) हो । तर तन्नेरी हार्मोनले मातेका अमेरिकी युवायुवतीले त टेरपुच्छर लाएनन्, सुरुसुरुमा । सधैंझैं सहरका सडकपेटीमा रसरङ्ग गरिरहे । तर अब कडाइ हुँदै छ । १०० देखि ५० पछि १० जनामा भेला हुने निर्देशन झर्‍यो । क्यालिफोर्नियाको सन फ्रान्सिस्को क्षेत्रमा त ‘सेल्टर इन प्लेस’ भन्ने कर्फ्यु जस्तै नियम लागू भएको छ । त्यहाँ र न्युयोर्क राज्यमा घरमै बस्ने आदेश दिइएको छ । दवाई, अत्यावश्यक खाद्य सामग्री किनमेल गर्नबाहेक कोही घरबाहिर निस्किन पाउँदैनन् । हामी बस्ने इलिनोयका गभर्नरले मार्च २१ शनिबारदेखि पूरै राज्यमा लागू हुने गरी ‘स्टे होम’ वा ‘सेल्टर इन प्लेस’ आदेश जारी गरेका छन् ।


नव कोरोना भाइरसले ल्याएको कोभिड–१९ वैश्विक महामारी गजब विरोधाभासले भरिएको छ । र साथै यसले अनेक विरोधाभासलाई पनि उजागर गरेको छ । छरछिमेक, सहर, मुलुक र विश्व एकसाथ यसको घेरामा परेका छन् । ‘हामी यसमा सबै सँगै छौं’ (वी आर अल इन इट टुगेदर) भन्ने आँट र सामूहिकताको आभास दिने वाक्य संवाद र सञ्चारमा जताततै सुनिन्छ । यो राष्ट्रवाद–राष्ट्रवाद बीचको दुस्मनीमाझ वसुधैव कुटुम्बकम् भन्न बाध्य गराउने घटना जस्तो पनि लाग्छ । तर यस भाइरसले पतिलाई मर्ने बेलामा समेत पत्नी भेट्न दिएको छैन । अरूको र अरू बेलाको के कुरा गर्ने, समाचार अनुसार इटलीमा पचासौं वर्ष सँगै गुजारेका दम्पती सदाका लागि छुट्टिएका छन्, बिदावारी नलिईकन । पत्नी र शक्तिसम्पन्न छोराहरू घरमा अलग्गिएर बस्न बाध्य छन्, उता घरमूली पिता/पति अस्पतालमा एक्लै प्राण त्याग्न बाध्य छन् । मृत्युपछि पनि मलामी जाने कोही हुँदैन । छोराले एक्लै अन्तिम माटो दिनुपर्ने भएको छ त्यो इटलीमा, जहाँ जन्म, विवाह, मरण जस्ता सामाजिक समारोहमा परिवार र नाताकुटुम्बको उपस्थिति अनिवार्य हुन्छ । ‘फ्यामिली’ शब्दले त्यहाँ परिवार पनि जनाउँछ र माफिया ग्याङ पनि, जहाँ एकअर्काका लागि मानिस मरिमेट्न तयार हुन्छन् ।


यो भाइरस बिनापासपोर्ट, बिनाभिसा सर्वत्र दौडिरहेछ, उडिरहेछ । सबै बोर्डर पार गरिरहेको छ । संसारलाई यसले एक बनाएको छ । कुनै ट्रम्प, मोदी, बोरिस जोन्सन, पुटिनले खडा गरेको भौगोलिक सीमा वा भौतिक पर्खालले यसलाई छेक्न सकिराखेको छैन । तर यसले राष्ट्रवादको चर्को नारा नलगाईकनै सीमानाका बन्द गराइराखेको छ— भारत–नेपाल, क्यानाडा–अमेरिका, ईयु–ईयु, प्रदेश–प्रदेश, सहर–सहर जस्ता खुला आवतजावत नाका–बोर्डरसमेत फटाफट बन्द भएका छन् । त्यति मात्रै कहाँ हो र, सेल्फ क्वारेन्टाइन (स्व–संगरोध), सेल्फ आइसोलेसन (आफूलाई आफैंले एक्ल्याउने), सोसल डिस्टेन्सिङ (समाजबाट अलग बस्ने) जस्ता असामाजिक अवधारणा र अभिव्यक्ति वाञ्छनीय र बाध्यकारी भएका छन् । अभिवादनस्वरूप अँगालो मार्ने, औपचारिक म्वाइँ खाने पश्चिमा समाजमा यसले कुहिनो जोडाउन र स्वास्थ्यवर्धक योग जस्तै नमस्ते भन्न बाध्य पारेको छ । र कतिपय हिन्दुहरूलाई फोकटको सेखी बघार्ने मौका पनि दिएको छ । फेरि, नमस्ते नेपालको हो कि भारतको भन्ने झमेला खडा गर्ने मौका पनि दिएको छ यसले ।


तर यस भाइरसले पश्चिमा पूर्वाग्रहपूर्ण संकीर्णतालाई पनि जन्म दियो । ट्रम्पले यसलाई ‘चाइनिज भाइरस’ भने । ‘फरेन अफेयर्स’ पत्रिकाले यसलाई ‘वुहान भाइरस’ भन्यो । बेलायत लगायतका मुलुकमा चिनियाँ जस्तो देखिने मानिसमाथि कुटपिट र गालीगलौज भयो । यहाँसम्म कि, इजरायलमा भारतको उत्तरपूर्व राज्यको यहुदीमाथि यहुदीले नै अनुहारका आधारमा दुर्व्यवहार गरे ।


यो प्यानडेमिक (वैश्विक महामारी) भूमण्डलीकृत विश्व र यसले पैदा गरेको प्राविधिक प्रगतिको सहोदर सन्तान हो । यसको द्रुत गति र यसबारे फैलिने द्रुततम समाचार दुवै यसका उत्पादन हुन् । तैपनि यसले फास्ट र छरितो विश्वलाई मुढेखुट्टा (फ्लाट–फुटेड) पारेको छ । युरोप र अमेरिका हेरिरहे, यो फैलिसक्यो । उता औपनिवेशिक इतिहासमा ‘अल्छी’ मा गनिने एसियाका हङकङ, सिंगापुर, ताइवान र चीनले सुरुको केही ढाकछोपपछि द्रुतगतिका साथ यसलाई नियन्त्रण गरे । सामाजिक सञ्जालमा, अरू मिडियामार्फत यसबारे समाचार तुरुन्तातुरुन्तै आगोसरि विश्वभरि फैलियो । तर स्वतन्त्रता रुचाउने पश्चिमा मुलुकमा मानिस, खास गरी युवाले यसको वास्तै गरेनन् । यस भाइरसले बेबीबुमर र मिलेनियल सन्तति, अथवा भनौं, शीतयुद्ध पुस्ता र ९/११ पुस्ताबीचको दृष्टिकोणमा भएको खाल्डोलाई पनि उजागर गरेको छ । किनभने यस रोगले मर्ने बढी वृद्ध हुन्छन् जो बेबीबुमर पुस्ताका छन्, तर जानेर पनि युवाले आफूलाई अजम्बरी ठानेर बेवास्ता गरे ।


कोरोना भाइरसले चिकित्सा क्षेत्रमा विश्वको सबैभन्दा अगुवा मुलुक अमेरिकाको अति विकसित र खर्चिलो चिकित्सा व्यवस्थाको खोक्रोपनलाई पनि उदांगो पारेको छ । अर्कातर्फ, विश्वको सबभन्दा ठूलो प्रजातन्त्र भारतमा गौमूत्र सर्बत जस्तै पान गरेर कोरोना भाइरसलाई जित्न सकिन्छ भन्ने हिन्दुहरूको अन्धविश्वासलाई पनि दुनियाँसामु नंग्याएको छ । गौमूत्रले पनि हैन, अर्बौंको खर्चले पनि हैन, सामान्य वैज्ञानिक सुझबुझ र सतर्कताले खोप र एन्टीभाइरल दवाई बनाएर मात्र यसको रोकथाम र निदान गर्न सकिन्छ भन्ने कुरा पनि यसले प्रस्ट पारेको छ ।

यस भाइरसले एकातिर उपभोक्ता पुँजीवादको मुसादौडमा लागेका मुलुकहरूका मानिसलाई घरपरिवारमा समय बिताउने मौका दिएको छ भने, अर्कातिर यस्तो बाध्यकारी सुनौलो अवसरमा एक्लोपन, त्रास, चिन्ता, एकै ठाउँमा नमिल्ने परिवारका सदस्यसँग दिनरात बिताउँदा हुने तनाव र साँघुरो ठाउँमा बस्नुपर्ने बाध्यताले गर्दा मानिसलाई क्लोस्ट्रोफोबियाले र डिप्रेसनले पनि घेर्ने सम्भावना उत्तिकै छ ।


यो भाइरस वास्तवमा जैविक घटना भएकाले यसलाई वैज्ञानिक रूपमा लिनुपर्ने हो, तर यसले षड्यन्त्र सिद्धान्तलाई पनि त्यत्तिकै जन्म दिएको छ । जस्तै पढेलेखेकाको मुखबाट पनि मैले सुनेको छु, ‘यो भाइरस चीनको बेल्ट एन्ड रोडकै एउटा पाटो हो, जसमार्फत चीन विश्वमा हैकम जमाउन चाहन्छ ।’ यसले के विरोधाभास देखाउँछ भने वैज्ञानिक हिसाबले विश्वले जति नै विकास गरे पनि अन्धविश्वास र षड्यन्त्र सिद्धान्त हत्तपत्त हराउनेवाला छैन । साथै कोभिड–१९ महामारी एउटा जैविक घटना मात्र होइन, यो भूराजनीतिक र सामाजिक–मनोवैज्ञानिक घटना पनि हो । यो महामारी सिद्धिइसक्दासम्म हजारौंहजार मानिसको ज्यान जानुका साथै अनेक व्याख्या र भाष्य खडा हुनेछन् । तर यो छिटै सिद्धियोस् र विश्वका मानिसले सामान्य जीवन फिर्ता पाऊन् । विज्ञान, विवेक र वसुधैव कुटुम्बकम्को भावना र धारणाले जितोस् ।


-मिश्र संयुक्त राज्य अमेरिकाको लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागीय अध्यक्ष हुन् । प्रकाशित : चैत्र १३, २०७६ ०९:३८

प्रतिक्रिया
पठाउनुहोस्

चीनसँग पूर्वाग्रह होइन, सहकार्य

प्रमोद मिश्र

चिनियाँ सहर वुहानको थोक मासु बजारबाट सुरु भएको भनिएको नव कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीका रूपमा संसारैभरि फैलिरहेको छ । यसबाट चीनकै बदनामी भइरहेको छ र अनेक मुलुकमा चिनियाँ नागरिकप्रति पूर्वाग्रह बढ्दो छ । यहाँसम्म कि, ‘फरेन अफेयर्स’ पत्रिकाले यो भाइरसको नामै ‘वुहान भाइरस’ राखिसकेको छ ।

यो महामारी एवं यसको उद्गमस्थल र मुलुकबारे जन्मेको भाष्यले भौगोलिक सीमावेष्टित राष्ट्र–राज्यको वास्तविकता र विश्वव्यापीकरणले ल्याएको सीमारहित विश्वको अवधारणाबीच चलिआएको तनावलाई एक पटक फेरि चर्काएको छ । लाग्छ, कोरोना भाइरसले विश्वव्यापीकरणको हुरीबतासलाई भौगोलिक सीमाले बाँध्न भौतिक पर्खाल खडा गर्ने ट्रम्प, ब्रेक्सिट राष्ट्रवादी बोरिस जान्सन, हिन्दु राष्ट्रवादी मोदी वा ‘मेरो देश, मेरो व्यवस्था’ राष्ट्रवादी सी चिनफिङलाई चुनौती दिइरहेको छ, विश्वव्यापीकरणका शक्तिहरूका पक्षमा ।

सन् २००४ मा म वुहानस्थित सेन्ट्रल चाइना नर्मल विश्वविद्यालय पुगेको थिएँ, प्राज्ञिक प्रवचन दिन । चार दिनमा थेसिस लेखन, उच्च शिक्षामा लेखन पाठ्यक्रम, साहित्यिक सिद्धान्त र पोस्टकोलोनियल सिद्धान्त गरी चार विषयबारे बोल्नुपर्ने थियो । शांघाई, बेइजिङ र वुहान सहरहरूलाई एक झलक हेर्दा लाग्थ्यो, चिनियाँ ड्रागन जुर्मुराएर उठिरहेको छ र आफ्ना पखेटाहरूले युरोपेली उपनिवेशको बोझिलो इतिहासलाई झट्कार्दै फालिरहेको छ । जता हेर्‍यो त्यतै फलाम र सिसाका गगनचुम्बी भवनहरू खडा भइरहेका थिए । जताततै कति अग्ला–अग्ला निर्माणाधीन ढाँचा र क्रेन थिए भने तिनलाई हेर्दा टोपी झर्ला जस्तो हुन्थ्यो । वुहानमै पनि सडकपेटीहरू अत्याधुनिक विद्युतीय सरसामानले सजिएका युवायुवतीले भरिएका देखिन्थे । सहरमा युवायुवती मात्रै छन् भन्ने भान हुन्थ्यो । ती प्रायः बसमा हिँड्थे । बसचालक ग्रिन टीका सुकेका त्यान्द्रा र झोल भरिएको सिसा वा प्लास्टिकको बोतलबाट घरीघरी घुड्की लिँदै आरामले बस हाँकिरहेका हुन्थे । यसरी ग्रिन टी पिएको मैले पहिले देखेकै थिइनँ ।

त्यहाँका बहुमन्जिला भवनमा भएका डिपार्टमेन्ट स्टोरहरूमा सागसब्जीका थुप्रोदेखि अग्ला–अग्ला सिसाले घेरिएका ठूलठूला जलकुण्डमा खोला/पोखरीदेखि समुद्रसम्मका माछा/गंगटा र अरू समुद्री प्राणी जिउँदै राखिएका थिए । बाहिरबाट देखिने घरजत्रा खोरहरूमा पशु र कुखुरादेखि चराचुरुंगीसम्म राखिएका थिए । र त्यहाँ हुन्थ्यो, प्रतिदिन नुनतेल बेसाउनेहरूको घुँइचो । तिनैमध्ये कुनै ठाउँबाट नव कोरोना भाइरस उत्पन्न भएको हो भन्ने सुन्दा पनि कति अनौठो लाग्छ !

मलाई पनि ती विभिन्न प्रजातिका समुद्री माछा घरमा लगेर पकाउने मन त हुन्थ्यो, तर म विश्वविद्यालयको होटलमा बसेकाले पकाउन मिल्दैनथ्यो । तर जति साँझ एक्लै खाने मौका जुर्‍यो, मैले ‘माओ माछा’ नै खाएँ । माओ माछाको वास्तविक नामचाहिँ उचाङ माछा रहेछ । तर माओ त्सेतुङले मन पराएकाले त्यसले पछिल्लो नाम पाएको रहेछ, बोलीचालीको भाषामा । स्थानीय बासिन्दा आफ्नो क्षेत्रको त्यो माछाप्रति बडो गौरव गर्दा रहेछन् । किनभने माओलाई त्यो माछा कति मन परेको रहेछ भने आफ्नो कवितामा पनि उल्लेख गरेका रहेछन्, ‘सियाङ खोलाको पानी पिउनेबित्तिकै मैले उचाङ माछाको स्वाद लिएँ ।’

यो माछा सस्तो पनि (पाँच डलरजतिको युआन तिरेपछि सिंगै माछा बेक गरेर लदबद सससहित पाइने) र मीठो पनि । वुहानको बसाइमै मलाई चिनियाँ व्यञ्जन परिकारहरूका नौ वटा स्कुल (क्षेत्र) रहेको जानकारी भयो । स्थानीय परिकारका लागि वुहान त समृद्ध थियो नै, अन्तर्राष्ट्रिय भोजनालयहरू पनि सहरमा नामी नै थिए । एउटा प्रसिद्ध ब्राजिलियन रेस्टुराँमा एक साँझ खाना खान जाँदा मासुका थरीथरीका परिकारहरू देखेर म अचम्मित भएको थिएँ ।

सेन्ट्रल चाइना नर्मल विश्वविद्यालयको अंग्रेजी विभागका प्राध्यापक साथीहरूले एक साँझ मलाई रेस्टुराँमा लगे । टेबलमा अनेक परिकार राखिएका थिए, जहाँ मलाई कमल फूलको डाँठ र जराको सब्जी पनि चाख्न्ने मौका मिल्यो । कसलाई थाहा, कमलको जरा र डाँठलाई तरकारी बनाएर खान हुन्छ भनेर ! अर्को साँझ त्यही सहरमा अवस्थित, सेन्ट्रल चाइना नर्मल विश्वविद्यालयभन्दा अझ कहलिएको वुहान विश्वविद्यालयका युवा महिला–पुरुष प्राध्यापकहरूले अर्को रेस्टुराँमा डिनरका लागि निम्तो गरे । घण्टौंको भोजन र गफगाफमा मैले त्यहाँको पाठ्यक्रम र अध्यापन शैलीबारे जानकारी पाएँ । मैले आफूले अध्ययन–अध्यापन गरेका देश नेपाल, भारत र अमेरिकाको शिक्षा प्रणालीबारे उनीहरूसँग ज्ञान साटासाट गरें एवं विश्वमै नामी, आफूले विद्यावारिधि गरेको ड्युक विश्वविद्यालयको अंग्रेजी र साहित्य विभाग अनि त्यहाँ पढाइने साहित्य र समाज सिद्धान्त र मेरा प्रख्यात गुरुहरूबारे चर्चा गरें । उच्च ज्ञान प्राप्त ती चिनियाँ सहकर्मीहरू निकै मेधावी थिए र तिनीहरूसँग कुरा गरिरहँदा म विदेशमा अर्कै भाषा–संस्कृतिका व्यक्तिहरूसँग कुरा गर्दै छु भन्ने लाग्दैनथ्यो ।

एकाबिहानै मर्निङ वाकमा निस्किँदा म सहरका पार्क र खुला ठाउँहरू मानिसले भरिएको पाउँथें । सबै उमेरका मानिस रेडियो वा रेकर्ड प्लेयरबाट बज्दै गरेको संगीतको लयमा ताइ–ची र अन्य स्वास्थ्यबर्द्धक अभ्यास गरिरहेका हुन्थे । मैले अति मोटोघाटो, भुँडी पल्टेको चिनियाँ देखिनँ । सबै तन्दुरुस्त र चुस्त जीउडालका ।

अंग्रेजी बोल्ने चिनियाँ भेट्टाउनै गाह्रो । एक दिन म सहरमा पैदल घुम्दै थिएँ, पानी दर्कियो । ओत लाग्दै पसलहरूमा छाता किन्न पसें । तर, मेरो बोली कसैले बुझ्न सकेनन् । अनि हातको इसारा गरिरहेपछि बुझे र छाता दिए । मानिस–मानिसमा एकअर्कालाई बुझ्ने भाषाको माध्यम नभए पनि सद्भाव छ भने संवादमा समस्या नहुने रहेछ । गर्मी बिदामा नेपालतिर लाग्नुअघि म ट्वाइलेटयुक्त बस चढी पाँच–छ घण्टा लगाएर हरिया खेत र गाउँबस्ती हुँदै थ्री गोर्जेज ड्याम हेर्न गएँ । त्यहाँ पनि अंग्रेजी ठ्याम्मै कसैले नबुझ्ने । तर होटलमा राति बास बस्न, खानपिन गर्न र बन्दै गरेको ड्याम घुम्न मलाई भाषाका कारण कुनै समस्या भएन ।

अहिले जब वुहान कोरोना भाइरसको केन्द्र भएको छ, दुनियाँले के हेक्का राख्नुपर्छ भने, त्यस सहरमा तपाईं–हामीजस्तै १ करोड १० लाख मानिस बस्छन् । उनीहरू बाहिरी संसारबाट परित्यक्त छन् र चीनका अरू सहरबाट पनि । तर, यस अभूतपूर्व संकटको घडीमा पनि त्यहाँका मानिसले आफ्नो आवश्यक दैनिकी निर्वाह गर्नैपर्ने हुन्छ । चुल्हो बाल्नैपर्‍यो । सागसब्जी किन्नैपर्‍यो । महामारी शान्त नहुन्जेल संयम र सतर्कताका साथ दैनिकी चलाउनैपर्‍यो । किनभने उनीहरूलाई लिन त विश्वको कुनै देशबाट हवाइजहाज पुग्दैन !

अहिले चीनले महामारी नियन्त्रण गर्न लागू गरेको कडाइको सर्वत्र प्रशंसा भइरहेको छ । समाचार अनुसार, बेइजिङमा कसैसँग आमने–सामने भएर खाना खान मनाही छ । अफिस र लिफ्टमा क्षमताभन्दा आधा मानिस मात्र बस्न र पस्न पाउँछन् । हरेक व्यक्तिले आफूवरिपरि साढे दुई मिटर कार्यक्षेत्र कायम राख्नुपर्छ । यति हुँदाहुँदै पनि सुरुआती चरणमा कोरोना भाइरसबारे सूचना दबाएकाले/लुकाएकाले, यसले महामारीको रूप लिनुमा चीन सरकारको समाचार नियन्त्रण गर्ने बन्दनीतिलाई संसारभरि नै दोषी ठहर्‍याइयो । कोरोना भाइरसबारे कुरा फुत्काउने पहिलो व्यक्ति चौंतीसवर्षे डाक्टर ली वेनलियाङलाई ‘अफवाह फैलाएकामा’ प्रहरीले कडा सोधपुछ गर्‍यो । ती युवा डाक्टरले पछि कोरोना भाइरसबाटै संक्रमित भएर ज्यान गुमाउनुपर्‍यो ।

अवश्य नै विगतको उपनिवेशवादको विरासतका कारण होस् वा चीनको द्रुत र आक्रामक उदयका कारण, पश्चिमा मिडियामा कोरोना भाइरसबारे समाचार चीनको विरोधका रूपमा आएको हुनसक्छ । तर चीन आजको समयमा कुनै सानो शक्ति त छैन, जसलाई लघुताभासको मनोविज्ञान आवश्यक परोस् । ऊ त विश्वमञ्चमा शक्तिशाली भएर उदाएको छ । यसले पनि ऊ सानोतिनो आलोचनाले विचलित नहुनुपर्ने हो र स्वास्थ्य अनि सुरक्षाका मामिलामा एवं अत्यावश्यक वस्तुहरूका विषयमा जतिसम्म हुनसक्छ, खुला हुनुपर्ने हो । स्वास्थ्य, सुरक्षा र जीवन धान्ने अत्यावश्यक वस्तु राजनीतिक विषय होइनन् । यी विषयबारे बेइजिङले किन खुला दृष्टि राख्नुपर्छ भने, चीनले विश्वका उपभोक्ताको सद्भाव कायम राख्नुपर्ने हुन्छ, आफूकहाँ उत्पादित वस्तु तिनलाई बेच्न । फेरि उदाउँदो विश्वशक्तिको मुटु पनि फराकिलो हुँदै राम्रो हुन्छ ।

साथै हामीले के बिर्सनुहुन्न भने, चीनको १ अर्ब ४० करोड जनसंख्यामध्ये ८५ हजारजति मानिस मात्र कोरोना भाइरसबाट संक्रमित भएका छन्, जुन निकै कम औसत हो । तर, मृत्यु भएकाको संख्या २,९०० नाघेकाले र यो वैश्विक महामारीमा परिणत हुँदै गएकाले सर्वत्र चिन्ताको विषय बनेको छ । महामारीबारे सचेत हुनु, रोकथामका उपाय अपनाउनु, उपचारका बाटा खोज्नु आदि अत्यावश्यक विषय हुन् । त्यसैले चीन र चिनियाँ जनतालाई भय वा पूर्वाग्रहले हेर्नुको कुनै तुक त छैन नै, यो निन्दनीय पनि छ । ‘फरेन अफेयर्स’ जस्तो पत्रिकाले कोरोना भाइरसको नाम ‘वुहान भाइरस’ किन राख्नुपर्‍यो ? तर, यस्तै भइरहेको छ । दक्षिण कोरियामा केही पसलेले ‘नो चाइनिज’ लेखेका साइनबोर्ड पसलअगाडि राख्न थालेका छन् ।

‘गार्डियन’ समाचारपत्रका अनुसार, ब्रिटेनमा पनि चिनियाँ विद्यार्थी र चिनियाँ मूलका अरूमाथि घृणा, गाली–बेइज्जती र आक्रमण सुरु भएको छ, जुन भर्त्सनायोग्य छ । यसको सट्टा, हालका वर्षमा जागेको नचाहिंदो अति राष्ट्रवादलाई छिचोल्दै राष्ट्रहरूले आआफ्ना सीमालाई बिर्सेर यस महामारीबाट निदान पाउने उपाय खोज्नु बेस हुन्छ । किनभने कोरोना भाइरसत बिनापासपोर्ट, बिनाभिसा सबै खाले सीमा पार गर्दै संसारभर द्रुतगतिले फैलिरहेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×