२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संक्रमण फैलिन नपाओस्, भोकै मर्ने स्थिति पनि नआओस्

सम्पादकीय

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारद्वारा मंगलबारदेखि जारी साताव्यापी ‘लकडाउन’ मा खाद्यान्नलगायत अत्यावश्यकीय सेवा बन्द नहुने जनाइएको भए पनि केही जटिलता देखिन थालेका छन् ।

संक्रमण फैलिन नपाओस्, भोकै मर्ने स्थिति पनि नआओस्

खास गरी खुद्रा बिक्रेताहरू पसल खोल्ने, बिक्री–वितरण र सामान ढुवानी गर्नेबारे अन्योलमा देखिन्छन् । ग्राहक नआएकाले र पसल खुला गर्नेबारे पनि द्विविधा भएकाले उनीहरूले आफूसित भएकै सामग्री पनि बेच्न पाएका छैनन् । अरू अत्यावश्यक सामग्री थोक बिक्रेताबाट ल्याउन पनि सकेका छैनन् । त्यही भएर उपभोग्य वस्तुहरू बेच्ने समय छुट्याइदिन व्यवसायीहरूले माग गरेका छन्, यसबारे सरकारले उचित प्रबन्ध मिलाउन जरुरी देखिन्छ । सरकारले लकडाउनको मूल उद्देश्य प्रभावित नहुने गरी आम नागरिकलाई अत्यावश्यकीय उपभोग्य वस्तुबाट वञ्चित हुन नदिने उपाय पहिल्याउन आवश्यक छ ।


हुन त, अहिलेको लकडाउन दैनिक रूपमा निश्चित अवधिपछि खुल्ने कर्फ्युजस्तो निषेधाज्ञा होइन । तैपनि कुनै न कुनै रूपमा अत्यावश्यकीय वस्तु किन्ने समय छुट्याउन भने जरुरी देखिन्छ । किनभने, छोटो समयको सूचनाका भरमा पूरै मुलुक लकडाउन गरिएकाले कतिपय मानिसले केही दिनका लागि पुग्ने खाद्यान्न पनि जोहो गर्न पाएका छैनन् । दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेलगायत न्यून आय भएकाहरूले एकै पटक धेरै सामग्री खरिद गर्न सकेका पनि हुँदैनन् । बालबालिका र वृद्धवृद्धालाई आवश्यक पर्ने दूधलगायतका सामग्री धेरै दिनका लागि पुग्ने गरी जोहो गर्न सम्भव पनि हुँदैन । अहिले यिनै सामग्री किन्न पनि पसलहरू खुला छैनन् । कहाँ, कुन बेला, कसरी किन्ने भन्नेबारे ग्राहकहरू पनि अन्योलमा छन् ।


फेरि, हाललाई एक साताका लागि भनिए पनि यो लकडाउनको समयावधि बढ्न सक्छ । बुधबार मात्रै अर्का एक जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । यसरी संक्रमणको दर बढ्दै जाँदा र जोखिम कायम रहिरहँदा लकडाउन तुरुन्त नखुल्न सक्छ, तीव्र रूपमा प्रकोप फैलनबाट रोक्ने अहिलेसम्म उपलब्ध उपाय यही हो । उता, भारत सरकारले पनि मंगलबार मात्रै तीन साताका लागि पूरै देश लकडाउन गरेको छ । त्यसैले समयावधि लम्बिने सम्भावनालाई मध्यनजर गर्दै सरकारले आम नागरिकलाई उपभोग्य वस्तु अभाव हुन नदिने उपाय सोच्नैपर्छ । सरकारले घरघरमा खाद्यान्न पुर्‍याउन सम्भव नभएकाले पनि सरकार यसबारे गम्भीर हुनुपर्छ ।


सरकारले अत्यावश्यकीय वस्तुहरू बिक्रीका लागि साँझ–बिहान कुनै निश्चित समय तोक्न सक्छ । यस्तो सामग्री खरिदबिक्रीको विधि तोक्दा भने विशेष सतर्कता अपनाउन जरुरी छ । बिक्रेता र ग्राहक दुवैले अनिवार्य रूपमा ‘मास्क’ पहिरिनुपर्छ । पसलमा भीडभाड गरिनु हुँदैन । एक व्यक्ति र अर्को व्यक्तिबीच भौतिक दूरी कायम गरिनुपर्छ, त्यसका लागि ग्राहकहरूले सामान किन्ने क्रममा एक मिटर फरक हुने गरी लाइनमा बस्ने व्यवस्था मिलाइनुपर्छ । पसलमा हात धुने व्यवस्था गरिनुपर्छ या ह्यान्ड स्यानिटाइजर राखिनुपर्छ । मुख्य सवाल, अत्यावश्यकीय सामग्री बिक्री–वितरणका नाममा संक्रमण फैलन नदिन आधारभूत सतर्कता अपनाइएन भने मुलुक लकडाउन गर्नुको कुनै अर्थ रहँदैन, यसतर्फ भने पूरै विचार पुर्‍याउनुपर्छ ।


सरकारले खुद्रा व्यापारीलाई होलसेलबाट सामान ल्याउने प्रक्रियामा पनि सहजीकरण गर्नुपर्ने देखिन्छ । लकडाउनको दुई दिनसम्मको अनुभवले होलसेलमा मनग्य सामान भएर पनि व्यवसायीहरूले लैजान नपाएको देखिएको छ । जस्तो, कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार बिहानसम्म तरकारी ढुवानी भए पनि त्यसको पर्याप्त वितरण हुन पाएको छैन । त्यसैले, पालिका, वडा र जिल्ला प्रशासन कार्यालयहरू मिलेर दूध, खानेपानी, खाना पकाउने ग्यास, खाद्यान्न जस्ता अत्यावश्यकीय वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई सामान आपूर्तिका लागि विशेष पासको व्यवस्था गर्न सक्छन् । संक्रमण फैलिन नदिन नागरिकहरू घरमै बसेर केही कष्ट भोग्न तयार छन्, हुनु पनि पर्छ, तर यो सब प्रक्रिया अमानवीय बन्न जानु भने हुँदैन ।


सामान्य अवस्था जस्तो सजिलो नभए पनि बाँच्नका लागि आधारभूत सामग्रीकै दुःख कसैलाई पर्नु हुँदैन । यसको अर्थ, पसलै रित्तिने तथा बजारको आपूर्ति प्रणाली प्रभावित हुने गरी अनावश्यक सञ्चय गर्नुपर्छ भन्ने पनि होइन । तसर्थ, लकडाउन कति समय लम्बिन सक्छ, त्यहीअनुसार सरकारले व्यवस्थित योजना बनाउन भने ढिलाइ गर्नु हुँदैन । ताकि, प्रकोप फैलिन पनि नपाओस्, भोकै मर्ने परिस्थिति पनि नआओस् ।

प्रकाशित : चैत्र १३, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?